असोज ९, धरान । एकवर्ष अघि असोज ३ गते धरान उपमहानगरपालिका वडा नं २० स्थित विष्णुपादुकाको आपटारमा गएको पहिरोले विस्थापित बनेका पहिरो पीडित अहिले पनि त्रिपालकै सहारामा बस्दै आएका छन् ।
पहिरोका कारण विस्थापित बनेका ७ घर परिवार अहिलेसम्म पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । पहिरोले बासनै उठाए पछि तत्काल स्थानीय भक्त लिम्बुको जग्गामा धरान उपमहानगरपालिकाले बस्ने व्यवस्थापन मिलाइदिएको थियो । वडा कार्यालय मार्फत पाएको त्रिपालकै घरमा अहिलेसम्म ती सातघर कष्टकर जीवन बिताउन बाध्य छन् ।
पहिरोले घरबारी बगाए पछि विस्थापित बनेको एक वर्ष बितिसक्दा पनि संघीय, स्थानीय र प्रदेश सरकारले आश्वासन मात्र दिएको पीडित सपना राईले बताइन् । उनले नेपाल रेडक्रस सोसाइटीले दिएको त्रिपालको बास बाहेक स्थानीय सरकारले समेत केही सहयोग नगरेको गुनासो पोखिन् ।
उनी भन्छिन्, ‘तीन महीनामा अर्कै ठाउँमा घर बनाएर सार्दिन्छु भने पनि वडाध्यक्ष मणिराम राईले अहिलेसम्म केही गरेको छैन ।’ उनले यस वर्षको वर्षाद्को समयमा धेरै कष्टकर जीवन बिताएको दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘हावापानी आउँदा टेन्ट उडाउँला भन्ने डर हुन्छ, स-सना बच्चाहरुसँग बस्नुपर्छ, उडाइहाल्यो भने त झन् विचल्ली हुन्छ भनेर हामी टेन्ट समाएर रातभरि नसुती बस्यौै ।’
एक वर्षको अवधिमा विस्थापित परिवारलाई २० ओटा टोलिले आश्वासन दिएको छ । सहयोग आउला भन्ने आशामा बस्दा बस्दै एक वर्ष वितिसके पनि स्थानीय सरकारले कुनै सहयोग नगरेको ७० बर्षीय मानबहादुर राई बताउँछन् । आश्वासनमा बसेका पहिरो पीडितहरुले सहयोग नगर्ने सरकारबाट अब केही सहयोग अपेक्षा नगरेको उनीहरु बताउँछन् ।
उनीहरुले प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राई, यही क्षेत्रबाट निर्वाचित भएका हालका मुख्यमन्त्री भीमप्रसाद आचार्य, धरान नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारीमात्र हैन आफ्नै वडाका वडाध्यक्ष मणिराम राईले समेतले आश्वासन बाहेक केही नगरेको उनीहरुको गुनासो छ ।
पीडित सपना राईले भनिन्, ‘क्षेत्रीय सांसद भीमप्रसाद आचार्यले सहयोग गर्छु भनेर त्यती बेला आश्वासन दिए पनि अहिले मुख्यमन्त्री भइसक्दा समेत सहयोग गरेका छैनन्, तपाईहरुलाई हामीचाडै व्यवस्थापन गर्छाै भन्छन्, तर केही गरेनन्, अब त आश पनि हराईसक्यो ।’
धरान उपमहानगरपालकाका प्रवक्ता एवम् वडा नं. २० का वडाध्यक्ष मणिराम राईले विस्थापित ७ घर परिवार एकै ठाउमा बस्ने चाहने तर स्थानीय सरकारले एकै ठाउमा जग्गा नभेटेकोले पनि स्थान्तरण गर्न नसकेको बताए । उनले भने, ‘हामी समय समयमा गएर अन्य सहयोग गरे पनि उनीहरुको दीर्घकालीन बसोबासको व्यवस्था भने गर्न सकिएको छैन, अब दशै तिहारपछि भने व्यवस्थापन गर्ने कुरामा हामी लाग्छौ ।’