वैशाख २४, काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त अवधिमा २ हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २०५ जना रहेको छ। यसैगरी उक्त अवधिमा २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको जिल्ला ३० ओटा पुगेका छन् । नेपालमा संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ ।
हाल होम आईसोलेशनमा २०२ जना र संस्थागत आईसोलेशनमा तीन जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् ।