स्याङ्जा । स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाउन जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन समन्वय गर्ने निर्णय गरेको हो । जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा संलग्न किसान समूह, सहकारी तथा संस्थासँग समन्वय गर्नका लागि जिल्ला बीउबिजन उत्पादन तथा व्यावसायिक समितिसमेत गठन गरिएको कृषि विकास स्रोतकेन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा बीउ उत्पादनमा सहयोग गर्ने सरकारी, गैरसरकारी, स्थानीय तह तथा निजीक्षेत्रसँग बीउबिजन क्षेत्र विस्तार कार्यका लागि समन्वय गर्ने, प्रत्येक वर्ष जिल्लामा आवश्यक पर्ने स्रोत बीउको परिमाण तथा उक्त स्रोत बीउको तथ्यांक संकलन गरी बीउको परिमाण कृषि ज्ञानकेन्द्र र कृषि विकास स्रोतकेन्द्र वालिङलाई जानकारी गराउनुपर्नेछ ।
जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन विभिन्न बीउ उत्पादनसँग सम्बन्धित कार्य सञ्चालन गर्ने, बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका व्यावसायिक बीउ उत्पादक समूह, सहकारीलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने मुख्य उद्देश्य रहेको उनले बताए । जिल्लामा धान, मकै, गहुँ, आलुलगायतका तरकारीबालीका क्षेत्रमा गुणस्तरयुक्त बीउ उत्पादन गर्न २१ समूह, सहकारी सूचीकृत छन् । यहाँ बीउ उत्पादनका क्षेत्रमा काम गर्ने समूह तथा सहकारीले उत्पादन गर्ने बीउको परिमाण र उपभोक्ताले आफूलाई आवश्यक पर्ने बीउको माग गर्न मिल्ने गरी सफ्टवयरको विकास गरिएको छ । रासस