नेपालमा गाँजामाथि प्रतिबन्ध लगाएको लामै समय भइसकेको छ । जुन उद्देश्यले गाँजामा प्रतिबन्ध लगाइए पनि समय क्रममा त्यसको औचित्य पुष्टि हुन सकेको छैन । अमेरिका, क्यानडालगायत विश्वका धेरै देशले गाँजामाथि लगाएको प्रतिबन्ध हटाएसँगै यसले अर्थतन्त्रको विस्तारमा सहयोग गर्न थालेको छ । नेपाल सरकारले भने यो तथ्यलाई बेवास्ता गर्दै प्रतिबन्ध हटाउन गरिएको मागको सुनुवाइ गरेको छैन । यो भनेको सम्भावनाको क्षेत्रलाई बेवास्ता गर्नु हो ।
नेपालमा गाँजा भन्नेबित्तिकै लागू पदार्थ नै हो भनेर बुझ्नेको जमात ठूलो छ । त्यही भएर गाँजामाथिको प्रतिबन्ध हटाउने माग उठ्दा एकाथरी खुला रूपमा गाँजा खान पाइने भयो भनेर दंग पर्छन् भने अर्कातिर गाँजाले युवाहरूलाई लागू पदार्थमा भुलाएर बिगार्ने भो भन्दै यसको विरोध गर्छन् । यी दुवै विचार गलत छन् । अर्थात् गाँजामाथिको प्रतिबन्ध हटाउनु भनेको जथाभावी यसको प्रयोग गर्न दिनु होइन ।
नेपालमा उत्पादित गाँजा विश्वकै गुणस्तरीय मानिन्छ । त्यसो हुँदा यसमाथिको प्रतिबन्ध हटाउँदै औषधीय प्रयोजनका लागि खुला गर्दा त्यसले अर्थतन्त्रमा सकारात्मक असर पार्छ । क्यानडाले गाँजाको तेल मात्रै करोडौं डलरको निर्यात गर्ने गरेको बताइन्छ । अहिले थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएपछि गाँजाबाट बनेको सामानको विक्रीले यसको अर्थतन्त्रलाई निकै चलायमान बनाएको देखिन्छ । तर, नेपाल भने सम्भावना भएर पनि उचित समयमा निर्णय लिन नसक्दा अवसर गुमाउँदै गइरहेको छ ।
नेपालमा गाँजासम्बन्धमा सरकारको चरित्र द्वैध खालको छ । एकातिर प्रहरी प्रशासनले गाँजा फाँडिरहेको छ भने अर्कातिर गाँजाको रेशाबाट बनेका कपडा, झोलालगायत वस्तु उत्पादन गर्ने उद्योग खोल्न स्वीकृति दिएको छ । यी उद्योगले सुदूरपश्चिमका केही जिल्लाबाट हेम्प अर्थात् गाँजाको रेशा संकलन गर्ने र काठमाडौंमा नै प्रशोधन गरेर विक्री तथा निर्यात गर्ने गरेका छन् । सरकारले यसलाई मान्यता दिएको छ । हेम्प भनेकै गाँजाको रेशाबाट बनेको धागो हो । अहिले हेम्पका सामान बनाउने कतिपय उद्यमीले चीनबाट यो कच्चा पदार्थ आयात गरिरहेका छन् । नेपालमै यसको उत्पादन गर्न सक्ने हो भने हेम्पको सामान निर्यात गरेर नेपालको व्यापारघाटा कम गर्न सकिन्छ ।
नेपालको सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने गाँजाको फाइबर उच्च कोटीको मानिन्छ । अहिले काठमाडौंका केही व्यवसायीले त्यहीँबाट कच्चा पदार्थ मगाएर विभिन्न सामान बनाइरहेका छन् ।
अहिले पश्चिमा मुलुकमा प्राकृतिक रेशाबाट बनेका कपडा, सुती आदिको कपडा लगाउने फेशन नै चलेको छ । यो शरीरका लागि उपयुक्त हुने विज्ञको भनाइ पाइन्छ । त्यसैले गाँजा, अल्लो लगायतका वस्तुबाट फाइबर निकालेर कपडा, स्वेटर आदि बनाउने वातावरण बनाइनुपर्छ ।
नेपालमा अहिले पनि कानूनतः कुनै पनि प्रयोजनका लागि गाँजाखेती अवैध मानिन्छ । त्यही भएर प्रहरी प्रशासनले गाँजाखेती फाँड्दै हिँडेको पाइन्छ । शान्तिसुरक्षामा खट्नुपर्ने प्रहरीलाई यतातिर लगाउने प्रवृत्ति गलत कदम हो ।
सरकारले गाँजामाथि आंशिक भएपनि प्रतिबन्ध खुलाउन ऐन ल्याउनुपर्ने हो । तर, सरकारले चासो नदिएपछि गैरसरकारी विधेयकका रूपमा संसदमा यसलाई दर्ता गरिएको छ । यसलाई पारित गर्न संसदमा कुनै पनि प्रक्रिया शुरू नगरिनुले अझै पनि गाँजाको लाभलाई बेवास्ता गर्नु हो भन्ने सन्देश स्पष्ट रूपमा गइरहेको छ ।
प्रविधिको प्रयोगले गाँजाबाट धेरै सामान बन्न थालेका छन् । औषधीय प्रयोगसमेत हुने गरेको छ । विना खनजोत आफै उम्रिएर समेत फैलने गाँजाखेती नेपालका लागि उत्तम खेती हो । यो नगदेबालीका रूपमा किसानले लगाउन सक्छन् र प्रशस्त आम्दानी लिन सक्छन् । यसले वैधता पाएको खण्डमा युवाहरू विदेश जान भन्दा गाँजाखेतीमा बढी रमाउन सक्छन् ।
विश्व अर्थतन्त्रमा नै गाँजाले स्थान ओगट्न थालेको सन्दर्भमा कुनै बेला नेपालको अर्थतन्त्रमा राम्रो योगदान दिएको गाँजाखेतीलाई वैध बनाई अर्थतन्त्रमा रूपान्तरण ल्याउन सकिन्छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।