चीनमा कोरोना भाइरस शुरू भएपछि २०७६ फागुनबाट असहज बन्दै आएको उत्तरी नाका अझै पूर्ण सञ्चालनमा आएको छैन । चीनस“गको व्यापारमा आयातमा भन्दा निर्यातमा बढी समस्या देखिएको छ । अहिले चीनमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, उसले उत्तरी नाका सहज रूपमा खुलाएका छैन । तैपनि रसुवागढी नाकाबाट गत आव २०७७/७८ मा १८ अर्बभन्दा बढीको मालवस्तु आयात भएको छ र सरकारले साढे ३ अर्बभन्दा बढी राजस्व प्राप्त गरेको छ ।
नेपालले आफ्नो प्रमुख व्यापारिक साझेदारहरूसँग आफूले भोग्नु परेका समस्या स्पष्ट रूपमा राखेर निर्यात वृद्धिका लागि पहल गर्नुपर्ने देखिन्छ ।
दैनिक ५० भन्दा मालवाहक कन्टेनरहरू पार हुने सीमामा अहिले १५ ओटा कन्टेनरमात्र आयात भइरहेको छ । यो पनि पछिल्लो समय केही बढेको देखिन्छ । नत्र चाँडै कुहिने फलफूललगायत वस्तुलाई प्राथमिकतामा राखेर दैनिक ४/५ ओटा मात्रै कन्टेनर छाड्ने गरिएको थियो । २ वर्षदेखि उत्तरी नाकामा रोकिएका कन्टेनरहरू अझै त्यहाँबाट नेपाल आउन नसकेको व्यापारीहरूको भनाइ छ । उत्तरी नाका असहज हुँदा व्यापारीहरूले बढी भाडा तिरेर जहाज र समुद्री मार्गबाट सामान आयात गर्नु परिरहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को ११ महीनामा चीनतर्फ हुने निर्यात ४२ दशमलव १ प्रतिशतले घटेको थियो भने गत आवको सोही अवधिमा १७ दशमलव ४ प्रतिशतले घटेको छ । त्यस्तै अघिल्लो वर्षमा आयात ९ प्रतिशत घटेकामा गत आवमा २४ प्रतिशतले वृद्धि भएको छ । यसले चीनसँगको व्यापार अझै सहज हुन नसकेको तथ्यलाई देखाउँछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्न असहज भएपछि मलेशिया आदि देशबाट सामान आयात गर्नुका साथै वैकल्पिक मार्गबाट पनि सामान ल्याएका थिए । त्यसैको परिणाम अहिले बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ ।
चीनसँगको व्यापारघाटा बढ्दो छ । चीनले नेपाललाई हजारौं वस्तुमा भन्सार सहुलियत दिएको छ । तर, त्यो नेपालको निर्यातयोग्य वस्तुमा छैन । निर्यातयोग्य वस्तु पनि चीन निर्यातमा सहज छैन । अहिले कोरोना कालमा त नेपाली निर्यातकर्ताले सामान निर्यात नै गर्न नसकेको व्यवसायीको भनाइ छ । चिनियाँ लगानी तथा चिनियाँहरू संलग्न व्यवसायका उत्पादनमात्रै निर्यात सहज भएको व्यवसायीहरूको भनाइ छ । नेपालको विशेष भौगोलिक अवस्थितिका कारण चीन नेपालमा अहिले पहिलाभन्दा निकै ध्यान दिन थालेको पाइन्छ । तर, व्यापार सहजीकरणमा भने उसले पर्याप्त साथ दिएको देखिँदैन ।
अहिले तिब्बतसम्म चीनको मुख्य भागबाट रेल सञ्चालन हुन थालेको छ । त्यसबाट नेपाली आयातकर्ताहरू लाभान्वित हुन सक्ने देखिन्छ । तर, नेपालीहरूलाई अहिले चीन जान सहज छैन । नेपालीहरूले चिनियाँ एजेन्टसँग सम्पर्क गरेर मात्रै सामान आयात गरिरहेको अवस्था छ । यस्तोमा नेपालीहरूलाई चीन जान तथा उत्तरी नाकाबाट सामान आयात गर्न सरकारले चीनलाई आग्रह गर्नुपर्ने देखिन्छ । चीनले आफ्नो देशको भ्याक्सिन लगाउनेलाई चीन प्रवेशमा सहज नीति लिएको छ । नेपालमा चीनमा उत्पादित भेरो सेल खोप सबैभन्दा बढी लगाइएको छ । थप खोप पनि चीनबाट नै खरीद हुँदै छ । यस्तोमा नेपाली व्यवसायी, ड्राइभर आदिलाई उत्तरी सीमाबाट चीन प्रवेश सहज गरिदिनुपर्छ ।
नेपालबाट निर्यात हुने वस्तुहरू पनि उत्तरी नाकाबाट निर्यात गर्न सहज बनाउन सरकारले पहल गर्नुपर्ने देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका बखतमा अम्लीय फलफूलको निर्यातका लागि सम्झौता भएको थियो । तर, त्यसको प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपालले निर्यात व्यापार बढाउन नसक्नुको यो एउटा उदाहरण हो ।
नेपालको प्रमुख व्यापारिक साझेदार भारत र चीनसँग मात्र होइन, विगतमा व्यापारघाटा नभएमा बंगलादेश र भुटानजस्ता देशसँग पनि व्यापारघाटा हुन थालेको छ । यो नेपालको निर्यात व्यापारको कमजोरीको सूचक हो । त्यसैले नेपालले आफ्नो प्रमुख व्यापारिक साझेदारहरूसँग आफूले भोग्नु परेका समस्या स्पष्ट रूपमा राखेर निर्यात वृद्धिका लागि पहल गर्नुपर्ने देखिन्छ ।