नेपालबाट चीन पठाउन थालियो हाईलेज घाँस

काठमाडौं । नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस चीन निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रूपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो । चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त […]

सम्बन्धित सामग्री

घर बनाउने वाल प्यानल र रुफ प्यानल भारत निर्यात हुन थाल्यो

चितवन । अधिकांश कच्चा तथा तयारी सामाग्री विभिन्न देशबाट नेपाल आयात भईरहेका बेला चितवनमा स्थापित एस वाई प्यानल कम्पनीले भने आफ्ना सामाग्रीहरु भारत निर्यात गर्न शुरु गरेको छ । चितवनको रत्ननगरस्थित पिठुवामा रहेको उक्त कोरियन कम्पनीले वाल प्यानल र रुफ प्यानल भारतको बजारमा निर्यात गरेको हो । केही साता अघि मात्र चितवनमै उत्पादिन हाइलेज (घाँस) चीन निर्यात गरिएको थियो । अहिले फेरि चितवनमै उत्पादित प्री–फ्याब घर बनाउन चाहिने सामग्री भारत निर्यात गरिएको छ । उद्योगका निर्देशक  ली ह्याछुनले रिवन काटेर निर्यातको शुभारम्भ गरे । शुभारम्भ पछि बोल्दै उनले हाल भारतको सिक्किममा प्री–फ्याब घर बनाउनका लागि उक्त प्यानल निर्यात गर्न लागिएको बताए । उक्त ठाउँमा सामग्री पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ । पहिलो चरणमा १५ लाख बराबरको सामग्री पठाए पनि अन्य सामग्री पठाउने तयारी भइरहेको एसवाई प्यानलका निर्देशक विमलराज गोसाइँले जानकारी दिए । ‘हामीले निकै मेहनतका साथ यी सामग्री भारत निर्यात गर्न सफल भएका छौं, आगामि दिनमा सहजै अन्य सामग्रीहरु पनि निर्यात गर्दै जानेछौं’गोसाइँले भने । उनले शुरुआती चरणमा निर्यातका लागि केही प्रक्रिया पुरा गर्न समस्या भएपनि अब सबै काम सकिएकाले निर्यातलाई प्राथमिकतामा राखिने बताए । कोरियन कम्पनीको एसवाई प्यानल विगत ८ वर्षदेखि चितवनको रत्ननगरमा संचालनमा  छ । कम्पनीले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । यी उत्पादन बाट घर बनाउंँदा सस्तो, छिटो छरितो, आकर्षक र भुकम्प प्रतिरोधात्मक हुने कम्पनीको दाबी छ ।

प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सरकारी अधिकारीहरू जुटेका छन् । धेरैभन्दा धेरै परियोजनामा सहयोग माग्ने र त्यस्ता सहयोग दिने वचनबद्धतामा दंग पर्ने परिपाटीले कूटनीतिक सम्बन्ध बलियो र विश्वासिलो बन्दैन । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार भए पनि चीनसँग नेपालले अहिलेसम्म अपेक्षित लाभ लिन सकेको छैन । यसअघिका प्रधानमन्त्रीले गर्ने चीन भ्रमणको बेलामा समेत ठूलाठूला एजेन्डामा कुरा हुने गरे पनि कार्यान्वयन कमजोर छ ।  यही भएरै घाँस चीन निर्यात हुँदा नेपालीले खुशी मान्नुपर्ने अवस्था छ । विगतमा सिन्धुलीको जुनार चीन निर्यात गर्ने भनिएको थियो । तर, अहिले त्यसबारेमा कुरै हुन छाडेको छ । त्यसैले समस्याको चुरो कहाँनेर छ भनेर पत्ता लगाएर त्यसको समाधानमा जुट्नभन्दा पनि बढी माग्न कचौरा लिएर जाने प्रवृत्ति अहिले पनि दोहोरिन लागेको छ । विगतमा भएका सम्झौता र समझदारीको इमानदारीपूर्वक किन पालना भएन भन्नेमा नै दुवै देशको सम्बन्ध प्रगाढ हुन सक्छ र विस्तार पनि हुन सक्छ । त्यो गाँठो नफुकाउने अनि नित्य नयाँ नयाँ कुरा माग्दै जाने हो भने चीनबाट नेपालले पाउने सहयोग झनै घट्दै जाने निश्चित छ । चीन नेपालको पुरानो र घनिष्ट सम्बन्ध भएको मुलुक हो । नेपालमा जस्तोसुकै सरकार आए पनि त्यसमा चासो नराख्ने तर आफ्नो सहयोग र सम्बन्धलाई प्रगाढ बनाइरहने चिनियाँ नीतिमा पछिल्लो समय विचलन आएको छ । एक त उसले नेपालको आन्तरिक राजनीतिमा चासो राख्न थालेको छ भने अर्को नाकामा गर्ने व्यवहार एकनासको छैन । अर्थात्, ऊ नेपालप्रति निकै सशंकित छ र त्यसैअनुसार उसले सिमानामा व्यवहार गरिरहेको छ भन्ने देखिन्छ । यतिमात्र होइन, नेपालले एक चीन नीतिप्रति दिएको समर्थन र विश्वासप्रति उसमा आशंका छ भन्ने देखिन्छ । त्यसैले चीनले धेरै थोक दिएको देखिए पनि पछिल्लो समय नेपालको अर्थतन्त्रले खासै फाइदा लिन नसक्ने गरी चतुरतापूर्वक सम्झौताहरू गरिरहेको छ ।  बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन नेपालले हस्ताक्षर गर्नु निकै अर्थपूर्ण र महत्त्वपूर्ण निर्णय थियो । तर, यस परियोजनाबाट नेपालले कुनै लाभ लिएको छैन, उल्टै पोखरा विमानस्थल यसै परियोजनाअन्तर्गतको भनिदिएर नेपाललाई चीनले समस्यामा पारिदिएको छ । यस्तो बेला चीनसँग नयाँ नयाँ कुरा माग्नुभन्दा पनि विगतमा भएका सम्झौता किन कार्यान्वयन भएनन् भन्नेमा मन माझामाझ गर्नु बढी लाभदायी देखिन्छ ।  हुन त बीआरआईको परियोजना शुरू नहुनुमा चीनको दोष हो कि नेपालको दोष हो स्पष्ट किटेर भन्न सक्ने अवस्था छैन । चिनियाँ प्रतिनिधिहरू नेपाल आउँदा किन बीआरआईमा काम भएन भनेर प्रश्न गर्छन् तर त्यसको जवाफ नेपालले दिएको पाइँदैन । तर, व्यवहारत: चीनले त्यस्ता परियोजनाका लागि नेपालले गरेको आग्रहलाई समेत बेवास्ता गरिरहेको वा आलटाल गरेको समेत पाइन्छ । नेपालले भाषिक समस्या भएको भन्दै चीनसँग स्पष्ट कुरा राख्न नसकेको पनि देखिन्छ । यथार्थ के हो भने चिनियाँहरू आफूलाई चासो नपरेको विषयलाई विषयान्तर गर्न विश्वमै खप्पिस छन् भनिन्छ । चिनियाँ कूटनीति निकै जटिल हुन्छ जसलाई सहजै अनुमान गर्न सकिँदैन ।  कम्युनिष्ट देश भएकाले उसका धेरै नीतिहरू सार्वजनिक नै हुँदैनन् । त्यस्तै, बाहिर एकथोक भनेर भित्रभित्रै अर्कै थोक गर्ने गरेको पनि पाइन्छ । त्यही भएर चिनियाँ कूटनीतिबारे अमेरिकी, बेलायती र भारतीयहरूले समेत स्पष्ट भन्न सकेको पाइँदैन । यस्तोमा नेपालले चीनसँग आफ्ना कुरा खुलस्त भन्न सक्नुपर्छ । हो, मित्रता निर्वाहमा चिनियाँहरू कमजोर देखिएका भने छैनन् । त्यसो हुँदा नेपालले चिनियाँहरूको वास्तविक चाहना र स्वार्थ के हो भन्ने बुझ्न जरुरी देखिन्छ ।  कुनै बेला नेपालको दिग्गज कूटनीतिज्ञहरूसँग चिनियाँहरू निकै प्रभावित भएको बताइन्छ । तर, अहिले त्यस्ता कूटनीतिज्ञ चीनमा पठाउन किन सकिएन ? अथवा नेपालमा यदुनाथ खनालजस्ता कूटनीतिज्ञहरूको खडेरी नै भएको हो त ? चिनियाँ व्यवहार हेर्दा नेपालले चीनको सुरक्षा स्वार्थ जोगाउन राम्ररी काम गर्न नसकेको हो कि भन्ने देखाउँछ । तातोपानी भन्सार नाका खुलाउन पटक्कै तयार नहुनु तर नेपालको बारम्बार ‘अनुरोध’ पछि केही समय खुल्नु र फेरि त्यसमा कडाइ गर्नुले यसमा उसको पक्कै पनि केही चिन्ता छ भन्ने देखिन्छ ।  त्यसैले, प्रधानमन्त्रीको यो भ्रमणलाई साँच्चीकै मुलुकको दीर्घकालीन हितमा उपयोग गर्ने हो भने मागको सूची बनाउनभन्दा समस्याको सूची बनाएर त्यसबारे खुला छलफल गर्नु आवश्यक छ । चीनलाई एउटा कुरामा आश्वस्त पार्न नेपाल कुनै पनि हालतमा चुक्नु हुँदैन । त्यो हो : नेपालको विकासका लागि जुनसुकै देशले दिने अनुदान र सहयोग विशुद्ध विकासको आवश्यकताले गर्दा लिइएको हो । त्यसमा अन्य गोप्य कुरा छैनन् र हुँदैनन् पनि भन्ने कुरामा उसलाई आश्वस्त पार्नैपर्छ । अर्को, नेपालको विकासका लागि आवश्यक सहयोग चीनले जति दिए पनि लिन नेपाल तत्पर छ । तर, ऋणमा लिएर ठूलो परियोजना बनाउन भने तयार छैन, नेपालले त्यसो गर्न सक्दैन भन्नेमा उसलाई स्पष्ट पार्न आवश्यक देखिन्छ । नेपालले चीनसँग केरुङ–काठमाडौं रेल बनाइदिन प्रस्ताव गरेको छ र त्यसबारे एक चरणको अध्ययन पनि भएको छ । तर, त्यो रेल ऋण लिएर बनाइयो भने मुलुकले तिर्न सक्ने क्षमता राख्ने देखिँदैन । त्यसैले ऋणभन्दा अनुदानमा नै यस्ता परियोजना बनाउनुपर्छ भन्ने कुरा नेपालले स्पष्टसँग चीनलाई बुझाउन सक्नुपर्छ । चीनबाट थुप्रै वायु सेवा कम्पनीले दैनिक उडान गरे पनि नेपाल वायु सेवा निगमलाई एउटा उडानका लागि समेत अनुमति नदिएको बारेमा नेपालले कारण सोध्न सक्नुपर्छ । चिनियाँ लगानीबाहेकका उत्पादनलाई चीन निकासीमा भएका अवरोध बारे पनि नेपालले कुरा उठाउन सक्नुपर्छ ।  नेपालले जति सफासँग आफ्नो स्पष्ट अडान र एजेन्डा राख्न सक्छ त्यति नै चीनसँगको सम्बन्ध राम्रो हुन्छ भन्ने कुरा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणले स्पष्ट पारेको छ । तत्कालीन राजाहरूको भ्रमणले पनि यस्तै खाले प्रभाव राखेको थियो । तर, अहिले दलहरूको दही चिउरे प्रवृत्ति र मगन्ते उद्देश्यका कारण पनि चीनले नेपाललाई कुनै न कुनै सहयोग दिने भनेर अल्झाइरहने तर वास्तविक सहयोगचाहिँ नगर्ने नीति लिएको देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणमा दिएका सहयोग र गरेका सम्झौताअनुसार केही पनि काम भएको छैन । त्यसैले नयाँ कुरा माग्नभन्दा पनि नेपालले चीनलाई अन्य मुलुकबाट लिने सहयोगबारे स्पष्ट पार्न र चीनले दिएको सहयोग पनि त्यस्तै खाले हुनुपर्ने कुरा स्पष्ट पार्न आवश्यक छ । यति गर्न सके मात्रै चीन भ्रमणको अर्थ हुन्छ, अन्यथा माओको समाधिस्थल हेर्न र पर्ल मार्केट गएर किनमेल गर्नभन्दा बढी कुनै उपलब्धि हुन सक्ने देखिँदैन ।

पर्वतको पाङमा व्यावसायिक भैंसीपालनको लहर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसानहरू भैंसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उनले सुनाए । घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन् । कँडेलजस्तै गोपीनाथ रिजालले पनि भैंसी थपेर आफू व्यावसायिक दूध उत्पादन गर्ने सोचमा रहेको बताए । ‘अहिले मसँग स्थानीय जातका तीनओटा भैंसी छन्,’ रिजालले भने, ‘अब तीनओटा थप्दै छु ।’ पाङ र वडा नम्बर २ खुर्कोटका ५० किसान नयाँ भैंसी खरीदको तयारीमा छन् । वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तीमा पनि १५० ओटा भैंसी पाल्ने तयारी गरिएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा अपेक्षित फाइदा लिन सकेका थिएनन् । मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउन थप भैंसीसहित परियोजना लागू भएको हो । पार्वती गुफा भैंसीपालन पकेट समितिमार्फत दुग्ध संकलन केन्द्र समेत निर्माण गरेर पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङमा विक्री गर्ने र त्यहाँ खपत हुन नसके पोखरासम्म पु¥याउने तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘यहाँ उत्पादित दूध खेर गइरहेको छ, दुग्ध उत्पादनलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न भैंसी पकेट जोन महत्त्वपूर्ण छ,’ उनले भने, ‘सबैको घरमा भएको दूध एकै ठाउँमा जम्मा पारेर विक्रीको व्यवस्था गरेपछि सबैले रोजगारी पाउँछन्, उत्पादनले उचित मूल्य पनि पाउँछ ।’ वडा सदस्य खगेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने किसानका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सके सहभागी हुन भनिएको थियो, जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीनओटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायत शर्त राखिएको थियो । पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ । पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ । दैनिक कम्तीमा साढे ५०० लिटर दूध संकलन गर्न सक्नेगरी काम अघि बढाइएको र बजार व्यवस्थापनका लागि समितिमार्फत ठाउँहरू बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताए । गाउँका युवाहरू काम खोज्दै विदेश गएका छन् । स्थानीय चन्द्रकला रिजालले गाउँमा भैंसीपालनको लहर चलेपछि काठमाडौंमा रहेका छोराबुहारीलाई गाउँमै बोलाएर भैंसीपालन गर्न सल्लाह दिएको बताइन् । ‘अहिले सबैले भैंसीपालन गर्ने लहर चलाएका छन्,’ रिजालले भनिन्, ‘अरूको काम गर्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भनेर छोराबुहारीलाई बोलाएकी छु ।’ कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रलाई ५ वर्ष अघिदेखि नै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । तर किसानको सक्रियता र राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन ।