काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल धमाका’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले सोमवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त अभियान सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभियानको शुभारम्भ गरे । आफ्ना ग्राहक तथा अभिकर्तालाई सूचनाप्रविधिमा साक्षात्कार गराउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको पराजुलीले बताए ।
अभियानअन्तर्गत माघ महीनाभर बीमाको नवीकरण शुल्क अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको व्यवस्था गरिएको कम्पनीले बताएको छ । भुक्तानी सेवा प्रदायक ‘खल्ती’बाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्दा प्रत्येक हप्ता एकजना विजेतालाई एयरबड्स प्रदान गरिने कम्पनीको भनाइ छ ।
त्यस्तै पहिलोपटक खल्तीको प्रयोग गरी बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने ग्राहकलाई रू. १०० क्यासब्याक प्रदान गरिने पनि कम्पनीले बताएको छ । कम्पनीले बीमा नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरू ईसेवा, खल्ती, फोन पे, कनेक्ट आईपीएस, आईएमई पे र प्रभु पेलगायतसँग सम्झौता गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाटै प्रिमियम तिर्दा समयको बचत हुनुका साथै कारोबारसमेत सुरक्षित हुने बताए । आगामी दिनमा कम्पनीलाई थप प्रविधियुक्त बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।