आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार शुरू भएपछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो ।  कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न सम्झौताबमोजिमका शर्तहरू पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ अनुपातमा मर्ज भएका हुन् ।  

सम्बन्धित सामग्री

असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार

काठमाडौं । असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार असारमा शिवम् सिमेन्टको ४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।  असारमा ८० अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस आधारमा असारको कुल कारोबारमा शिवम् सिमेन्टको हिस्सा करीब ६ प्रतिशत छ । असारमा सर्वाधिक रकमको कारोबार हुने कम्पनीहरूमा शिवम् सिमेन्टसँगै दोस्रोमा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानीकोष, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स छन् ।  सोल्टी होटलको असारमा मात्र ३ अर्ब ६६ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी, हिमालयन डिष्टिलरीको २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी, नागरिक लगानीकोषको १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी, नेपाल दुरसञ्चार कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी र एशियन लाइफ इन्स्योरेन्सको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।  सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेन्टको शेयर मूल्य जेठ मसान्तसम्मको तुलनामा प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसाले बढेको छ । जेठ मसान्तसम्म ५३८ रुपैयाँ ६० पैसा रहेको शिवम् सिमेन्टको शेयर मूल्य असार मसान्तसम्म भने ६५१ रुपैयाँ ५० पैसा कायम भएको थियो । पछिल्लो कारोबार दिन भने शिवम् सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा कायम छ । कुन कम्पनीको कारोबार कति ?