काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
अघिल्लो वर्ष ३ करोड १५ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १ करोड ३८ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो । अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको यो कम्पनी गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा गएको हो ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४९ करोड ३ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ७ करोड २६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १७ करोड ४९ लाख रुपैयाँभन्दा बढी छ ।
अघिल्लो वर्षभन्दा करीब ३ प्रतिशत बढी ४ अर्ब ६० करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव ३४ प्रतिशत बढी ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ दशमलव ४ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३ दशमलव ९२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा छ ।