वैशाख १४, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९५ करोड ५९ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको यसै अवधिको तुलनामा ५९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.५९ करोड ७८ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा ६७ प्रतिशतले वृद्धि भएको छ ।
चुक्तापूँजी रू. १ अर्ब ८३ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. २ अर्ब ९० करोड सञ्चित गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ अर्ब ३५ लाख सापटि लिएर, रू. २१ अर्ब ८२ करोड १७ लाख निक्षेप संकलन गरेर रू. २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ ।
त्यसैगरी सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६९ दशमलव ६५, मूल्य आम्दानी अनुपात २५ दशमलव ५८,तरलता अनुपात २३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५८ दशमलव ५२ रहेको छ । हालसम्ममा कम्पनीले ६७ ओटा जिल्लामा १७३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।