प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारत र नेपालका दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल अहिले सञ्चालनमा आउन सकेको छैन । जेठ १८ मा विराटनगरको एकीकृत जाँचचौकी (आईसीपी) मा कार्गो रेल आएपछि पुन: अर्को आउन नसक्नुमा आईसीपी सञ्चालनका लागि पूर्ण तयारी नहुनु हो । यही कारण व्यवसायीले यो कार्गोरेल प्रयोग गर्न हिचकिचाएका छन् ।
नेपाली उद्योगका कच्चा पदार्थ बोकेका मालवाहक रेल भारतको बथनाहासम्म मात्रै आउने गरेको थियो । त्यहाँ सामान अनलोड गरेर ट्रकमा राखी नेपालमा सामान भित्त्याउने गरिएको थियो । यसो गर्दा अनलोड अपलोडका लागि बढी खर्च लाग्ने, डिटेन्सन आदि खर्च लाग्ने र समयमा सामान अनलोड गर्न नसके रेकको भाडा पनि बढी तिर्नुपर्ने हुँदा आयात महँगो थियो । सडकबाट सामान ल्याउनुभन्दा रेलबाट ल्याउन निकै सस्तो पर्ने भएकाले कार्गोरेलका लागि नेपालले निकै पहल गरेको थियो । नेपाल र भारतबीच भएको सहमतिपछि भारतले रेलमार्ग बनाइदिएको हो । तर, नेपालले प्रतिबद्धता गरेअनुसार जग्गा उपलब्ध गराउन नसकेपछि भन्सार यार्डका लागि आवश्यक अन्य पूर्वाधार बन्न सकेन । पाँच वर्षअघि नै सम्पन्न भए पनि यसको सञ्चालनको वातावरण बनेको थिएन । यसैबीच प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कार्गो रेल शुरू गरिएको हो । कार्गो रेल आएसँगै व्यवसायीहरू खुशी भए पनि कार्गोरेलबाट सामान ल्याउन भने उनीहरू तयार भएको देखिँदैन । यसो हुनुमा सरकारकै कमजोरी देखिन्छ ।
एकीकृत भन्सार जाँच चौकीसम्म कार्गोरेल ल्याउन पहल भएको निकै लामो समय भइसकेको छ । तर, भन्सार यार्डमा आवश्यक पूर्वाधार नबनेकाले व्यवसायीको खुशी टिक्न सकेन । उद्घाटनका दिन आएका सामान खुला आकाशमा छाड्दा पानी परेर क्षति पुगेको छ । कार्गोरेलमा आउने सामान बल्कमा आउने भएकाले त्यसैअनुसार अनलोड गर्न, त्यहाँबाट ट्रकमा राखेर अन्यत्र लैजान आवश्यक पूर्वाधार बनेको छैन । नेपाल सरकारले भारत सरकारलाई जग्गा उपलब्ध गराउन नसक्दा यो समस्या आएको देखिन्छ । यद्यपि त्यहाँ सार्वजनिक जग्गा भएकाले यसमा समस्या नआउने आकलन गरिएको थियो । आवश्यक पूर्वाधार तयार नभएपछि कार्गो रेलबाट सामान ल्याउनुभन्दा विगतझैं ट्रकबाटै ल्याउन व्यवसायीलाई सहज भएको छ । नयाँ पूर्वाधारले लागत र समय घटाउनुपर्छ । त्यसो नहुने हो भने त्यो पूर्वाधार प्रयोजनविहीन हुन पुग्छ । त्यसैले अहिले रेल सञ्चालन नभएपछि अपेक्षित लाभ लिन सकिएको छैन । रेल सञ्चालन नहुने हो भने यतिका वर्ष लगाएर र ठूलो लगानी खर्च भएको आईसीपीको के अर्थ ?
नेपालले आफैले र विदेशी सहयोगमा बनाएका कैयौं पूर्वाधार प्रयोजनविहीन बनेका पाइन्छन् । काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको माग निजीक्षेत्रले गरेकाले त्यसैअनुसार सरकारले बनायो । तर, अहिले व्यवसायीले नै यो बन्दरगाह प्रयोग गर्न चासो दिएका छैनन् । विशेष औद्योगिक क्षेत्र पनि उपलब्धिपूर्ण तरीकाले सञ्चालनमा आउन सकेको देखिँदैन । भैरहवा र पोखरामा बनेका अन्तरराष्ट्रिय विमानस्थलको अवस्था त झनै दयनीय छ । ऋण लिएर बनाइएका यस्ता पूर्वाधार असफल हुनु भनेको सरकारी अदूरदर्शिता नै हो । त्यस्तै आईसीपी बन्नु मात्र ठूलो कुरा होइन, सञ्चालनमा ल्याउनु महत्त्वपूर्ण कुरा हो ।
नेपालमा ठूलो लगानी गरेर पूर्वाधार बन्ने तर प्रयोग नहुने समस्या यसमा दोहोरिनु हुँदैन । जतिसक्दो चाँडो समस्या समाधान हुनुपर्छ । के कारणले कार्गोरेल चल्न सकेन त्यसमा सरकार गम्भीर हुनुपर्छ । रेल चल्न सकेन भने स्वदेशमा त्यसको असर त पर्छ नै साथै भारतका अगाडि पनि लाजमर्दो हुन्छ । किनकि भारतले बनाइदिएको पूर्वाधार चल्न नसक्दा आन्तरिक व्यवस्थापन कमजोर रहेछ भन्ने पुष्टि हुन्छ । नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग नलिने रहेछ भन्ने सन्देश प्रवाह भयो भने भोलिका दिनमा उनीहरू सहयोग गर्न पनि अनिच्छुक हुने सम्भावना हुन्छ । त्यसैले यसलाई सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । कुनै पनि बहाना गरेर ढिलासुस्ती गर्नु हुँदैन ।