मधेश प्रदेशमा सातौं कृषि गणना शुरू

जनकपुर । धनुषासहित मधेश प्रदेशका जिल्लाहरूमा मंगलवारदेखि सातौं कृषि गणना शुरू भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी शुरू भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ । कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेश प्रदेश कृषि गणना कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवले जानकारी दिए । तथ्यांक विभागले निर्धारण गरेको धनुषाको १८ ओटै पालिकाका ३७९ गणक क्षेत्रमा कृषि गणना गरिने प्रमुख यादवले बताए । रासस

सम्बन्धित सामग्री

कृषि जग्गामा स्वामित्व हुने महिला ३४.४ प्रतिशत

काठमाडौं। कृषि गणना २०७८ ले नेपालको कृषि जग्गामा स्वामित्व हुने महिलाको अंश ३४ दशमलव ४ प्रतिशत रहेको देखाएको छ । कृषि जग्गामा महिलाको स्वामित्वबारे नेपालमा पहिलोपटक अध्ययन गरिएको हो ।  राष्ट्रिय तथ्यांक कार्यालयले दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ को नतीजा सार्वजनिक गर्दै कृषि जग्गामा महिलाको स्वामित्वसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकअनुसार कृषि जग्गामा सबैभन्दा बढी महिलाको स्वामित्व हुने प्रदेश गण्डकी रहेको छ भने सबैभन्दा कम महिलाको स्वामित्व कर्णाली प्रदेशमा छ । कृषि जग्गामा स्वामित्व हुने महिलाको अंश गण्डकी प्रदेशमा ३८ दशमलव ५ प्रतिशत र कर्णालीमा २८ दशमलव ७ प्रतिशत रहेको छ ।  तथ्यांक सार्वजनिक कार्यक्रममा कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले गण्डकी प्रदेशले कृषियोग्य जमीन महिलाको नाममा राख्दा ठूलो मात्रामा कर छूट दिएकाले महिलाको स्वामित्वमा त्यस ठाउँमा कृषि जमीन बढी देखिएको बताए । राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतीजाले कृषि जग्गामा स्वामित्व सुरक्षित हुने वयस्क कृषि जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि)को प्रतिशत ३१ दशमलव ४ रहेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा यस्तो प्रतिशत सबैभन्दा बढी गण्डकीमा ३४ दशमलव ६ र सबैभन्दा कम कर्णालीमा २९ प्रतिशत छ । लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२ दशमलव ९ प्रतिशतको कृषि जग्गामा स्वामित्व सुरक्षित छ । महिलाको हकमा यस्तो प्रतिशत २० दशमलव ८ प्रतिशत छ । प्रदेशगत रूपमा वयस्क पुरुषको यस्तो प्रतिशत सबैभन्दा बढी ४७ दशमलव ६ बागमती प्रदेशमा र सबैभन्दा कम ४० दशमलव १ मधेश प्रदेशमा छ । त्यसैगरी वयस्क महिलाको हकमा यस्तो प्रतिशत सबैभन्दा बढी २४ दशमलव २ गण्डकी प्रदेशमा र सबैभन्दा कम १६ दशमलव ३ कर्णाली प्रदेशमा रहेको पाइएको छ । नेपालमा ३२ प्रतिशत घरपरिवारको मूली कृषक महिला छन् । कृषि कार्यमा संलग्न रहेका ६२ प्रतिशत घरपरिवारमध्ये ३२ प्रतिशतको मूली महिला रहेको देखिएको छ ।  नेपालमा जीविकोपार्जनको माध्यमका साथै सम्पत्तिको अंशको रूपमा कृषि जमिनको महत्त्वपूर्ण योगदान रहेको छ । त्यसैले कृषि जनसंख्याको समग्र उत्थानका साथै विशेषगरी महिला सशक्तीकरणमा कृषि जमीनको पहुँच वा स्वामित्वको अवस्थाले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ । तथ्यांकले नेपालको कुल कृषि जनसंख्या १ करोड ३२ लाख ११ हजार ३४९ रहेको देखाएको छ । यसमा महिला ६८ लाख ६३ हजार ४१२ र पुरुष ६३ लाख ४७ हजार ९३६ रहेको पाइएको छ ।