धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ ।
कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ ।
गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए ।
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस