बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुलको निर्माण थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो ।
चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनोट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको छ । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो ।
असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महीनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम शुरू हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउन पुल महŒवपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए ।
दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भूपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्काेतर्फको फाउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ ।’ पुल निर्माणका लागि उनले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । रासस