भक्तपुर । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औं नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।
इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै विक्री एवं निकासी गर्नेले वर्षौंदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले यसमा पनि कर लगाउने निर्णय गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा विक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेबापत प्रतिस्थान रू. १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रू. ५०० कर असुली गर्ने निर्णय गरेको हो । चाँगुनारायण नगरपालिका क्षेत्रमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले यस्ता उद्योगलाई हटाउनुपर्ने आवाज उठ्दै आएको छ । रासस