सहरलाई गाउँसँग जोड्दै होमस्टे

-भेषराज बस्नेत/ बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । […]

सम्बन्धित सामग्री

शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिदै , मिलेनियम ट्रेकको रूपमा विकास गरिने

गण्डकी । नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा रहेको यस दरबारलाई पछिल्लो समय संरक्षणसँगै पर्यटकीयरुपमा उपयोग गर्ने लक्ष्य लिइएको छ । दरबारलाई मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशताब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोड्दै यसलाई ऐतिहासिक गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ संरक्षण एवं पूर्वाधार निर्माणमा जोड दिइएको ढोरदरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताए । नेपालका बाइसे तथा चौबिसे राजाका समयमा पहिलो राजा कृति खाड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखा राज्यमा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, जेल घर, टक्सार घर, रानीकुवा आदिको भग्नावशेष तत्कालीन समयको दरबारका जीवन्त अवशेष हुन् ।  पुरातत्व विभागको सहयोगमा दरबार संरक्षणको प्रयाससँगै दरबार परिसरलाई व्यवस्थित गर्ने काम भइरहेको उनले बताए । दरबार क्षेत्रको संरक्षणका लागि परिसरमा तारबार गरिएको छ । दरबार हेर्न आउने पर्यटकलाई लक्ष्य गरी नजिकैको रजस्थल गाउँमा रजस्थल सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको रजस्थल सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव डिलश्री गुरुङले जानकारी दिए ।  “होमस्टेमा प्रत्येक दिन ५० जनासम्म पर्यटक राख्नसक्ने व्यवस्था छ”, उनले भने, “फाट्टफुट्ट पर्यटक आउने गरे पनि अपेक्षितरूपमा उनीहरूको आगमन बढाउन सकेका छैनौँ । पछिल्लो समयमा गाउँबाट बढ्दो बसाइँसराइका कारण पनि होमस्टेलाई व्यवस्थित सञ्चालन गर्न पनि जनशक्ति अभाव चुनौतीका रुपमा देखिएको छ।”  कोरोनाफैलिएका बेलामा सहर बजार लकडाउनका कारण ठप्प हुँदा ढोरदरबार क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा मानिस घुम्न आउने गरेको स्थानीयवासीको भनाइ थियो। ढोरदरबार तनहुँको दुलेगौँडाबाट सवारी साधनमार्फत आउन सकिन्छ । पछिल्ला समयमा रजस्थलसम्म जीप आउन थालेको र त्यहाँबाट १०/१५ मिनेटकै दूरीमा दरबार क्षेत्र पुग्न सकिन्छ । दरबार क्षेत्रबाट नाङ्गो आँखाले धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै उत्तरतर्फ कास्कीको भरतपोखरीको कोटभैरव, हुँडिकोट, बर पाण्डेथुम, निर्मल पोखरी बरसाम्मी र तलको सुरौदी फाँटको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ भने दक्षिततर्फ नवलपुरको देबचुली, बरचुली, तलतिर देखिने मान्द्रे, फिर्दी फाँट आदिको रमणीय दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । दुलेगौँडाबाट सेती नदी किनाराको रक गार्डेन हुँदै हाइकिङ गरी करिब चार पाँच घण्टाको हिँडाइमा दरबार पुग्न सकिने भएकोले एक दिने हाइकिङका लागि पनि यो उपयुक्त गन्तव्य रहेको स्थानीयवासीले बताए। दरबारलाई अझै व्यवस्थित गरी मिलेनियम ट्रेकमा आउने पर्यटकको सङ्ख्या बढाउन सकेमा होमस्टे सञ्चालन पनि त्यहीरुपमा अघि बढाउने अपेक्षा गरिएको छ।            समितिले होमस्टेमा आउने पर्यटकका लागि दुई छाक खाजा तथा एक छाक खाना र सुत्ने विस्तारासहित एक हजारको प्याकेज निर्धारण गरेको छ । आगन्तुक पर्यटकलाई सकेसम्म स्थानीयरूपमा उत्पादित वस्तु नै खुवाउने गरिएको होमस्टे सञ्चालक समितिका गङ्गाकुमारी मल्लले बताए । रजस्थलमा हाल १० घरमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । घरबासलाई व्यवस्थित सञ्चालनका लागि आफूहरूलाई तालिमलगायत सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो । कच्ची बाटोका कारण पनि पर्यटकको आगमन बढ्न नसकेको बताउँदै सञ्चालक मल्लले बाटोलाई यथासक्य चाँडो स्तरोन्नती एवं कालोपत्र गर्नुपर्नेमा जोड दिए । “पर्यटकको संख्या बढ्दै गएमा होमस्टेलाई पनि व्यवस्थित गर्दै यही नै रोजगारीका अवसर सिर्जना गर्न सकिन्थ्यो”, उनले भने, “युवा शक्ति दिनदिनै गाउँ छोड्दा बस्ती उजाड बनिरहेको अवस्थालाई पनि गम्भीरताका साथ लिनु अपरिहार्य छ ।”शताव्दीऔँ पुरानो ऐतिहासिक महत्वको ढोरमूलकोट दरबार संरक्षण गरी यसको प्रवर्द्धन गर्न सकेमा बर्सेनि रित्तिदै गएका बस्तीमा मानिस फर्किएर पुनः भरिभराउ हुने विश्वास लिइएको मिलेनयम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । दरबारलाई मिलेनियम ट्रेकको नक्सामा समावेश गरिएको बताउँदै उनले यस पदमार्गमा आउने पर्यटकलाई दरबार अवलोकन गराउँदै नजिकै रहेको रजस्थल सामुदायिक होमस्टेमा बस्ने व्यवस्था मिलाउन सकिने जानकारी दिए । समितिले पदमार्ग क्षेत्रका ऐतिहासिक मन्दिर, गुफा आदिको संरक्षण एवं प्रवर्द्धनमा जोड दिएको उनले बताए । रासस

कृषिलाई पर्यटनमा जोड्न माडीमा ‘फार्म स्टे’ सञ्चालनको तयारी

साउन १०, चितवन । कृषिलाई पर्यटनमा जोड्ने उद्देश्यसहित माडीमा फार्म स्टे सञ्चालनको तयारी गरिएको छ ।  स्थानीय पिछडिएका समुदायलाई लक्षित गर्दै उनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगोस् भन्ने हेतुले पनि माडीमा फार्म स्टे सञ्चालनमा ल्याउन लागिएको हो  ।  चक्लाबन्दीमा आधारित सामूहिक खेती गरिदैं आएको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्था मार्फत खेती गरिएको सो ठाउँमा फार्मस्टे घरहरु सञ्चालनमा ल्याउन लागिएको हो  ।  संस्थाले कुल १०० घरमा फार्मस्टे घरहरु बनाउने लक्ष्य लिएपनि हाल ४६ ओटा घर परिवारलाई पक्की घर बनाएर त्यही फार्मस्टे सञ्चालन गर्न लागिएको छ ।  प्रदेश सरकारको रू. तीन लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको चार लाख ५० हजार गरी रू नौ लाखको लागतमा घरहरु बनेका हुन् । दुईओटा बेड रूम, एक लिभिङ रूम, एक किचन र दुईओटा एट्याच्ड ट्वाइलेट बाथरूम छन् ।  कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले ४६ ओटा फार्म स्टे घरहरु तयार भएर हस्तान्तरण गरिसकिएको र दशैंबाट सञ्चालनमा ल्याइने जानकारी दिए । हाल सञ्चालनमा ल्याउन सकिएपनि कोभिडका कारण केही समय पछि सञ्चालनमा ल्याइने उनको भनाइ छ ।  १०० विघा क्षेत्रफल रहेको त्यो स्थानमा खेतीको बीचबीचमा घर बनाइएको छ  । माडीलाई कृषि पर्यटनको नमूना नगरपालिका बनाउनको लागि फार्मस्टे सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ‘यहाँ २० ओटा माछा पोखरी, पशुपालन फार्म, लोकल कुखुरा फार्म रहनुका साथै अर्गानिक कृषि उपज उत्पादन गरिनेछ । रिसोर्टहरुमा होटल, पार्क, स्वीमीङ पुल इत्यादि हुन्छन, गायकले भने, फार्म स्टेमा पाहुन आउँछन् फार्मस्टेमा बस्छन कृषि कर्म हेर्छन् ।’  माडीमा ‘फार्मस्टे’ घरहरु कान्तिपुर गाउँको मूलबाटोनजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । विशेष गरी पिछडिएको समुदायको लागि आयस्तर उकास्न र आत्मनिर्भर बनाउन यो योजना अघि सारिएको हो ।  स्थानीय डिलबहादुर गन्धर्वले यी घरमा होमस्टे सञ्चालन गरेपछि आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आय आर्जनसमेत गर्न सकिने बताए । जसअनुसार फार्म स्टेमा विभिन्न समुदायका संस्कृति झल्कने गीत, संगीत तथा नाचगान गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।  यसअघि आ–आफ्ना जमिनमा परम्परा र निर्वाहमुखी खेती गर्दा घाटा ब्यहोर्दै आएको भन्दै गन्धर्वले फार्मस्टे सञ्चालनमा आएपछि आफूहरु दिगो आर्थिक उपार्जन गर्न सकिने आशा रहेको बताए ।  वाग्मती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । रू. ५० लाखको लागतमा गन्धर्व संग्रहालय भवन निर्माण गरेको हो । सो भवनमा २५० जना अट्ने क्षमता छ । गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । सामूहिक खेती गरिएको ठाउँमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि सो गाउँमा विभिन्न संरचनाहरु निर्माण भएको प्रबन्धक गायकले जानकारी दिए । संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । सामूहिक खेतीका लागि १०० बिगाहा जमिन एकीकृत गरिएको छ । यहाँ तीन कट्ठादेखि चार बिगाहसम्म जमिन भएकाहरु अहिले एउटै संस्थामा आवद्ध भएका छन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत् किसानको जमिनलाई चक्लाबन्दी गरिएको हो । कान्तिपुर क्षेत्रको करीब १०० बिगाह खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० बिगाहभन्दा बढी जमिनलाई एउटै प्लटमा रुपान्तरण गरिएको छ । क्रमश यस क्षेत्रमा ड्रयागन फ्रुट, सूर्यमुखी, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य राखिएको  छ । एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले कृषि पर्यटनका लागि माडीमा फार्मस्टे उपयोगी र प्रभावकारी हुँदै गएको  बताए । चितवनको दुर्गम क्षेत्रको रुपमा माडी लाई चिनिएपनि नजिकै रहेको राष्ट्रिय निकुञ्ज र उर्बर भूमि भएका कारण कृषि पर्यटनको आकर्षक गन्तव्य हुने पौडेलको भनाइ छ । आगामी दिनमा संस्थाले थप पर्यटन प्रवर्द्धनका कामहरु अघि बढाउंँदै लगिने उनले जानकारी दिए ।