अन्यौलमा रहेको एमसीसीमा महत्त्वाकांक्षी लक्ष्य

काठमाडौं । संसद्बाट अनुमोदन हुनुपर्ने भए पनि टेबुल नै हुन नसकेर अन्योल बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयनका लागि सरकारले आगामी ३ वर्षका लागि महत्त्वाकांक्षी लक्ष्य राखेको छ । संसद्बाट लामो समयदेखि अनुमोदन हुन नसकेको एमसीसी सम्झौता अहिले पनि विवादरहित बन्न सकेको छैन । तर, सरकारले आगामी ३ वर्षको अवधिमा आयोजनाको काम तीव्र गतिमा अघि बढाउने र त्यसबाट राम्रो प्रतिफल निस्कने दाबी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगले हालै तयार गरेको मध्यकालीन खर्च संरचनामा आगामी ३ वर्षको अवधिमा प्राप्त हुने उपलव्धि स्पष्ट पारिएको छ । प्रसारण लाइन पुनर्वास कार्ययोजना सञ्चालन, प्रसारण लाइनको अतिरिक्त सर्वेक्षण (३० किमी) सम्पन्न हुने, आयोजना प्रभावित २० प्रतिशत व्यक्तिलाई मुआब्जा वितरण गरिने, एमसीए नेपाल पार्टनरशिप प्रोग्रामको १० प्रतिशत कार्य सम्पन्न हुने, आयोजनाहरूको विस्तृत सर्वेक्षण तथा डिजाइन सम्पन्न गरिने, सबस्टेसनहरूको ५५ प्रतिशत निर्माण सम्पन्न गरिने, उपकरण जडानको काम १५ प्रतिशत सम्पन्न गरिने, धानखोला लमही ४० किमी सडक खण्डको मर्मत सुधार र पुनःस्थापना सुचारु गरिने, लमही–शिवखोला ३७ किमी सडक खण्डको मर्मत सम्भार सुचारु हुने, सुपरपेभ र फुलडेप्थ रेक्लामेसन (सुपेरियर पर्फर्मिङ अस्फल्ट) प्रविधिसँग सम्बद्ध अत्याधुनिक उपकरण र तालीम प्रदान गर्नेजस्ता लक्ष्य अघि सरिएको छ । मध्यकालीन खर्च संरचना तयार गर्दा हालसम्मको प्रगति स्थितिमा सबस्टेशन र प्रसारण लाइनको विस्तृत डाइन र राउटिङ भई बोलपत्र तयार भएको, नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको, रातमाटे सबस्टेशनका लागि १८९ मध्ये १७८ कित्ता जग्गा प्राप्ति भएको, १७५ परिवारलाई रू. १ अरब २६ करोड मुआब्जा वितरण भएको र यो कार्य अन्तिम चरणमा रहेको, विद्युत् नियमन आयोग र सडक विभागसँग प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको, सडक विभागलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको उपकरण प्रयोगबारे प्रशिक्षण र इन्जिनीयरलाई तालीम दिइएको ‘सुपरपेभ आस्फल्ट मिश्रण’ डिजाइन प्रयोगशालाको निर्माण सम्पन्न भएको दाबी गरिएको छ । आगामी आव २०७८/७९ मा सञ्चालन गर्ने क्रियाकलापमा रूख कटान र वन जग्गाको उपयोगको लागि एमसीए नेपाल र वन मन्त्रालयबीच सम्झौता गर्ने, गैरवन भूमि हस्तान्तरण प्रोटोकलका लागि नेपाल सरकारबाट प्रतिबद्धता पत्र जारी गर्ने, नेपाल सरकारबाट भूमि जग्गा स्थानान्तरण प्रोटोकल स्वीकृत गर्ने, एमसीए नेपाल पार्टनरशिप प्रोग्राम कार्यान्वयन गर्ने सडक विभाग प्रयोगशाला शाखालाई सुपरपेभ र फुलडेप्थ रेक्लामेसन प्रविधिसँग सम्बद्ध अत्याधुनिक उपकरण प्रदान र तालीम सञ्चालन गर्नेलगायत कामलाई राखिएको छ । त्यस्तै, एमसीसी सम्झौता कार्यान्वयन गर्न स्थापित मिलिनियम च्यालेन्ज एकाउन्ट २०८३/८४ सम्म नेपालबाट तीनओटा सब स्टेशन, करीब ३१५ किमी प्रसारण लाइन निर्माण र करीब ७७ किमी राष्ट्रिय राजमार्गको आधुनिक तवरले मर्मत भएको हुने सरकारी दाबी छ । यसको लागत लागत रू. ७० अर्ब ५० करोड हुने मध्यकालीन खर्च संरचनामा राखिएको छ । नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करीब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता गरेको थियो । विद्युत् उपयोग विस्तार गर्ने र सडक यातायातको लागत घटाउने दुईओटा आयोजनाका लागि मात्रै अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने र यी आयोजनाका लागि नेपाल सरकारले १३ करोड अमेरिकी डलर थप्ने सम्झौता भएको थियो । नेपालले सम्झौतालाई सबै प्रक्रिया पूरा गरेर २०७७ असार १६ गतेबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे पनि प्रतिबद्धताअनुरूप काम भने हुन सकेको छैन । एमसीसी सम्झौता संसद्बाट अनुमोदन नहुँदा आयोजना पूर्णरूपमा कार्यान्वयनमा जान सक्ने अवस्था नरहेको एमसीए–नेपालले बताउँदै आएको छ । कार्यकारी निर्देशक खड्गबहादुर बिष्टका अनुसार सञ्चालन गरिने भनिएका परियोजनाको डिजाइन, जग्गा अधिग्रहण, ईआईएलगायतको काम भने अन्तिम चरणमै छ ।

सम्बन्धित सामग्री

एमसीसीमा गम्भीर बन्न जरुरी

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता प्रतिनिधि सभाले पारित गरेपछिको  १ वर्ष तयारीमै बितेको छ । चालू आवका लागि सरकारले ९ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि अहिलेसम्म ३९ करोड १२ लाख रुपैयाँमात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ६ महिनाभित्र रू. १ अर्ब ५१ करोड खर्च गर्न लक्ष्य लिइएको थियो । यो परियोजना सञ्चालन गर्न एमसीए–नेपाल स्थापना गरिएको छ तर यसले तीव्र गतिमा काम गर्न नसकेको देखिन्छ । एमसीसी अमेरिकाको करिब ६० अर्ब अनुदानको परियोजना हो जसअन्तर्गत सडकको स्तरोन्नति र प्रसारण लाइन निर्माण गर्न लागिएको छ । नेपालकै अनुरोधमा आएको यो अनुदान नेपालका लागि निकै महत्त्वपूर्ण मानिन्छ किनभने यसले विद्युत् वितरण र विक्रीका लागि सहयोग पुर्‍याउँछ । नेपालले लिएको अन्य सहयोग र कर्जाको तुलनामा यो निकै पारदर्शी भएकाले यसबारेमा व्यापक छलफल र बहस पनि भयो । तर, यो सहयोगको महत्त्वपूर्ण पाटो भनेको समयमा नै परियोजना सम्पन्न गर्नु हो । यसको खर्च नेपालले नै गर्ने भए पनि संसद्बाट अनुमोदन भएको मितिले ५ वर्षभित्र काम सम्पन्न नभए नेपालले उल्टै एमसीसीलाई ब्याजसहित अनुदान फिर्ता गर्नुपर्छ । यसले नेपाललाई समयसीमाभित्र काम गर्न बाध्य बनाउने अपेक्षा गरिएको छ । अन्य परियोजनामा जस्तै विलम्ब हुने हो भने भोलि रोईकराई गरेर नेपालले छुट पाउने  सम्भावना शून्य बराबर छ । नेपालको कार्य क्षमता जाँच्ने यो महत्त्वपूर्ण अवसर पनि हो । यति हुँदाहुँदै पनि यो परियोजनाले शुरूमै  काममा ढिलाइ गरेको छ । कुन शीर्षकमा खर्च भएको छ र कुन शीर्षकमा हुन नसकेको हो भन्ने स्पष्ट छैन । ‘क्रिटिकल पाथ’मा नै खर्च हुन नसकेको हो भने यो गम्भीर कमजोरी मानिन्छ । होइन, मुख्य काममा अवरोध नपुग्ने खालको शीर्षकमा खर्च हुन नसकेको हो भने त्यति ठूलो समस्या मानिँदैन । एमसीए–नेपालले समयमै काम गर्न सकिने बताएको छ तर नेपालमा जग्गा प्राप्ति नै ठूलो समस्या रहेको हुँदा परियोजनाको गतिमा आशंका हुन्छ । अत: सरकारको ध्यान यसमा जानै पर्छ र कुनै पनि हालतमा परियोजनामा अवरोध नहोस् भन्नेमा सबै पक्षको ध्यान जानु जरुरी छ ।

एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल

फागुन १५, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा केहि बेरअघि सैद्धान्तिक छलफल शुरु भएको छ । निर्धारित  समयभन्दा ढिला शुरु भएको आइतवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन्।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन्।  अध्यक्ष ठाकुरले उक्त सम्झौता कार्यान्वयनपछि नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे। त्यसैगरी नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गरिए पान्डोराज बक्स खोलेजस्तो हुने बताएका छन्।  उता नेकपा(एमाले) का सांसद भीम रावलले एमसीसी प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेस हुनु आपत्तिजनक भएको पनि बताए।  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न नहुने बताइन्। उनले एमसीसी अनुमोदन गर्दा  नेपालको राष्ट्रिय स्वाधीनतामा समस्या आउने दाबी पनि गरिन् ।  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताए । उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको पनि बताए । उता प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले भने रोष्टममा नाराबाजी गरिरहेका छन् । #अद्यावधिक   यो पनि हेर्नुस् : आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?

एमसीसी सम्झौतामा सहमति जुटाउन सर्वदलीय बैठक असफल, किन गएन एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्ण बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको थियो। एमसीसीबारे थप छलफल गर्ने निष्कर्षसहित बैठक समापन भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।'एमसीसीको बारेमा सबै दलहरूले आ-आफ्नो विचार राख्नुभएको छ। कसैले आशङ्काहरू पनि व्यक्त गर्नुभएको छ। ती सबैमा फेरि छलफल गरेर हामी चाँडै नै एउटा निष्कर्षमा पुग्छौँ,' बैठकपछि कार्कीले पत्रकारहरूसँग भने।बैठकले संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग आग्रह गरेको छ।बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले पनि एमसीसी संशोधनको माग गरेको सहभागी एक नेताले बताए। नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र रामशरण महत तथा सङ्घीय समाजवादीका बाबुराम भट्टराईले एमसीसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा धारणा राखेका थिए।बैठकमा आफ्नो दलसहित राष्ट्रिय जनमोर्चा र राप्रपाले विरोधमा धारणा राखेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए।सर्वदलीय बैठकअघि एमसीसीबारे गठबन्धनको साझा धारणा बनाउन सरकारमा सहभागी दलहरूको छुट्टै बैठक बसेको थियो।सर्वदलीय बैठकमा किन गएन एमाले?सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले माग गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका थिए।तर प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी भएन। एमालेले बैठकमा हुने छलफलको विषयबारे जानकारी नभएको र औपचारिक निमन्त्रणा नआएका कारण बैठकमा सहभागी नभएको बताएको छ।'सर्वदलीय बैठक बोलाउँदा एजेन्डाबारे द्विपक्षीय छलफल हुने चलन छ। खालि हाम्रो अध्यक्षलाई फोन गरेर बैठक छ मात्रै भन्नुभयो,' एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेको अनुपस्थितिबारे भने।'बैठकअघि राष्ट्रिय एजेन्डाबारे छलफल नभएको, हामीलाई एजेन्डाबारे जानकारी पनि नभएको र बोलाए जस्तो मात्रै गरेको कारणले हामी नगएको हो।'एमसीसी राजनीतिक विषय कि आर्थिक?कतिपय राजनीतिक दलहरूले एमसीसी नेपालको हितमा नभएको भन्दै संसदबाट पारित नगर्न दबाब दिइरहेका छन्। भूतपूर्व मुख्यसचिव विमल कोइराला वैदेशिक सहायतामा दातृराष्ट्रको अलिअलि स्वार्थ भए पनि एमसीसी सम्झौता नेपालको हितमा भएको तर्क गर्छन्।सम्झौता आफैँमा विवादास्पद नभए पनि नेपालमा यो सम्झौता राजनीतिक विषय बनेकाले विवादित बनेको उनको बुझाइ छ।केही दल र समूहले एमसीसी सम्झौताको चर्को विरोध गर्ने गरेका छन्'यो विषय राजनीतिक थिएन आर्थिक थियो, कूटनीतिक थियो। तर यो राजनीतिक भयो, त्यसो हुँदा राजनीतिक मोलमोलाइका कुराहरू आइहाले नि,' कोइराला भन्छन्।उनको बुझाइमा तीनै तहका निर्वाचनहरू आउन लाग्दा प्रतिपक्ष दलहरूले यसलाई राजनीतिक मुद्दा बनाउन सक्ने जोखिमका कारण पनि सरकारमा रहेका दलहरू एमसीसी पारित गर्न अग्रसर भएका छैनन्।'हाम्रो जनमत राष्ट्रवादी नाराले प्रेरित हुने जनमत पनि छ,' कोइरालाले भने।के चाहन्छ अमेरिका?सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान सम्झौता संसद्‌बाट पारित गराई लागु गर्न एमसीसी बोर्डले नेपाललाई ताकेता गरिरहेको छ।एमसीसीको सञ्चालक समितिको बैठकपछि गत साता जारी विज्ञप्तिमा नेपालले निकट भविष्यमा एमसीसी अनुमोदन गर्ने जनाएको उल्लेख छ।त्यसअघि नेपाल आएका एमसीसीका उपाध्यक्ष फातिमा जी सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटमा एमसीसी कार्यान्वयन गर्ने नेपालको प्रतिविद्धताबारे चासो राखेका थिए।चार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकारसँग भएको कम्प्याक्ट केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा दर्ता गराइएको थियो।तर एमसीसीका कतिपय सर्तबारे ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा देखिएको मतभेदका कारण सम्झौता संसद्‌मा टेबल भएन।ओलीलाई विस्थापित गर्दै सत्तामा आएका प्रधानमन्त्री देउवाले सुरुदेखि नै एमसीसी सम्झौता अघि बढाउने पक्षमा रहेको बताउँदै आएका छन्।सरकारले नियमित समयभन्दा केही अघि बोलाएको संसद्‌को जारी हिउँदे अधिवेशनमा एमसीसी अघि बढाउने आकलन गरिए पनि सम्बन्धित मन्त्रीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।प्रतिनिधिसभाको बैठक आगामी मङ्गलवारका लागि तय गरिएको छ। माओवादीले एमसीसीमा समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिइसकेको छैन।प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि एमसीसीको मतदानमा पक्ष, विपक्ष वा तटस्थ रहनेबारे धारणा सार्वजनिक गरेको छैन। तर एमालेका नेता भीम रावल एमसीसीको विपक्षमा देखिएका छन्।कांग्रेसभित्रैका कतिपय नेताहरूले अहिले भइरहेका विरोधलाई ध्यान दिँदै आगामी संसदीय निर्वाचनपछि मात्रै एमसीसीलाई प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने मत राख्ने गरेको बुझिन्छ।के हो एमसीसी?एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमारले नेपालमा नियोजित रूपमा उक्त अनुदान सम्झौताबारे भ्रम फिँजाइएको टिप्पणी गरेकी थिइन्यति धेरै चर्चित र विवादित बन्न पुगको एमसीसी आखिर के हो त?विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो।'मिलेनीअम च्यालेन्ज कर्पोरेशन एउटा नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,' एमसीसीको वेबसाइटमा उल्लेख छ।सन् २०१२ यता शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा नेपाली कांग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएको छ।बिबिसीबाट साभार

एमसीसी आए के हुन्छ ?

नेपालको सीमित आर्थिक स्रोत पूर्वाधार निर्माण गर्न अपर्याप्त छ । ठूलो लगानी आवश्यक पर्ने पूर्वाधार निर्माण कार्यका लागि आन्तरिक स्रोत पर्याप्त हुँदैन । ठूलो वैदेशिक ऋण लिएर विकास निर्माणमा खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो वैदेशिक ऋण तिर्न नेपालललाई गाह्रो भइरहेको छ । तर, सरकारको लक्ष्य विदेशी अनुदानभन्दा ऋण बढी लिने हो । अनुदानमा बढी शर्त हुन्छ, दाताको रुचिअनुसार आउँछ । तर, यस्तो ऋण वा अनुदानबारे नेपालमा खासै चर्चा हुने गरेका थिएन । तर, एमसीसीले नेपाललाई विद्युत् प्रसारण विस्तार र नेपालका महŒवपूर्ण सडकहरू (राष्ट्रिय राजमार्ग) मर्मतसम्भारका लागि ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको छ, यसको अहिले व्यापक चर्चा छ । यसका लागि नेपाल सरकार र एमसीसीबीच कम्प्याक्ट अनुदान सम्झौतामा सन् २०१७ सेप्टेम्बरमा हस्ताक्षर भएको थियो । हालसम्म विश्वका ४९ देशलाई एमसीसीले यो अनुदान उपलब्ध गराएको छ । अल्वानिया, आर्मेनिया, जर्जियाजस्ता यूरोपेली देशका साथै अफ्रिकी मुलुकहरू घाना, केन्या, लाइबेरियामा पनि यो कार्यक्रम लागू भएको छ । ल्याटिन अमेरिकाको एल साल्भाडोर, पेरू, ग्वाटेमालाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, इन्डोनेशिया आदि देश पनि एमसीसीको अनुदान कार्यक्रममा सहभागी भएका छन् । डा. बाबुराम भट्टराईको प्रधानमन्त्रित्व काल अर्थात् २०६८ साल माघमा नेपाल एमसीसीको सानो कार्यक्रम ‘थ्रेसहोल्ड’ का लागि छनोट भएको थियो । २०७० सालमा नेपाली अर्थशास्त्रीहरूको एक विज्ञ टोलीले एमसीसीअन्तर्गत हाइभोल्टेज विद्युत् प्रसारण लाइन निर्माण र सडक सुधार कार्यक्रम छनोट गरेको हो । २०७४ सालमा मन्त्रिपरिषद्को बैठकबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितको टोलीले एमसीसीमा हस्ताक्षर गरेको थियो । सन् २०१० देखि २०१७ मा कम्प्याक्टमा हस्ताक्षर हुँदासम्मको अवधिमा नेपालका सबै मुख्य राजनीतिक दलहरू सहभागी थिए र कम्प्याक्टलाई अगाडि बढाउने निर्णयमा एकमत थिए । तर, राजनीतिक दलहरू स्पष्ट रूपमा नआउँदा एकथरीले यसलाई चर्को राजनीतिक मुद्दा बनाए । अहिले हरेक मानिस यससँग तर्सिने अवस्था आएको छ । अमेरिकाले बलजफ्ती दिन लागेको भनी चर्चा हुँदै छ । वास्तवमा नेपालले आफै यो सहयोग मागेको हो । सहयोग माग्ने अनि सहयोग लिने बेलामा लिन्न भन्ने गर्नु त सहयोगदाताको अपमान हो । त्यही भएर अमेरिकाका लागि अहिले एमसीसीको सहयोग महत्त्वपूर्ण बनेको छ । कमजोर अर्थतन्त्रका कारण विकास निर्माणका लागि आवश्यक लगानीका सन्दर्भमा आत्मनिर्भर हुन नसकिरहेको नेपाल वर्तमान समयमा वैदेशिक सहयोगलाई नकार्न सक्ने अवस्थामा छैन । ऋणभन्दा अनुदान तुलनात्मक रूपमा बढी अनुकूल हुन्छ । तर, त्यसमा दाताको स्वार्थभन्दा मुलुकको आवश्यकता बढी महत्त्वपूर्ण हुनुपर्छ । नेपालमा ठूलो लगानीका आयोजनाहरू कुनै पनि समयमा सम्पन्न भएका छैनन् । पूर्वाधार विकासलाई तीव्रता प्रदान गर्न र पूर्वाधार निर्माण कार्यलाई प्रतिफलमूलक बनाउन समयसीमा सहितको योजना चाहिन्छ । एमसीसी यस्तै परियोजना हो भन्ने देखिन्छ । गतिलो प्रसारण लाइन नभएका एकातिर विद्युत् खेर गइरहेको छ भने अर्कातिर बिजुली झ्याप्प झ्याप्प जाने गरेको छ । त्यसैले उच्च कोटीको प्रसारण लाइन आवश्यक छ । नेपालमा खपत भई बढी भएको बिजुलीलाई छिमेकी राष्ट्रमा निर्यात गरी व्यापारघाटा आपूर्ति गर्नमा पनि सघाउन पुर्‍याउँछ । लगानीको अर्काे क्षेत्रका रूपमा रहेको सडक मर्मतसम्भार आयोजनाले नेपालको महत्त्वपूर्ण राष्ट्रिय राजमार्गको ७७ किमी सडकको मर्मतसम्भार अत्याधुनिक प्रविधिबाट गरी सडकलाई टिकाउ तथा यातायातलाई सहज बनाउनेछ । यसबाट यातायात तथा ढुवानीमा लाग्ने गरेको खर्चमा कटौतीमा हुनुका साथै मर्मतसम्भारमा हुने गरेको व्ययभारलाई पनि कम गर्नेछ । यसअतिरिक्त नेपाल विद्युत् प्राधिकारण, ऊर्जा नियमन आयोग तथा रोड बोर्ड नेपाललाई गरिने प्राविधिक सहयोगबाट नेपालको ऊर्जा तथा सडक क्षेत्रको सुव्यवस्थापन, सुसञ्चालन तथा नियमनलाई पनि सुदृढ बनाउनेछ । एमसीसी कम्प्याक्टअन्तर्गतका आयोजनाका सन्दर्भमा निश्चित समयावधि अर्थात् कार्यान्वयनमा प्रवेश गरेको ५ वर्षभित्र निर्माण सकिसक्नुपर्ने शर्त रहेको छ । निर्धारित अवधिभित्र निर्धारित सम्पूर्ण कार्य सम्पन्न गर्न सकिएमा नेपालको विकास प्रयासका सन्दर्भमा एउटा राम्रो उदाहरण स्थापित हुनेछ । यसले अन्य आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरणा जगाउने काम पनि गर्नेछ । भारतीय भूमिमा नेपाल तथा भारतको संयुक्त लगानीमा सीमाक्षेत्रदेखि गोरखपुरसम्म निर्माण गरिने १२० किमी लामो प्रसारण लाइनमा जोडिने भएकाले एमसीसी महत्त्वपूर्ण छ । एमसीसी नेपाल कम्प्याक्ट अन्तरराष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिएर नेपालको आवश्यकतालाई दृष्टिगत गरी लामो प्रयासपछि प्राप्त भएको अनुदान सहयोग हो । बृहद् बौद्धिक छलफल र परामर्शपछि यो सम्झौता पूर्णरूपमा नेपाल र नेपालीको हितमा रहेको पुष्टि भएपछि नै सन् २०१७ मा नेपाल सरकारले यसमा हस्ताक्षर गरेको हो । नेपालका विभिन्न राजनीतिक दलको समयसमयमा सहभागितामा गठन भएका विभिन्न सरकारमा लामो छलफलपश्चात् एमसीसी अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सम्झौतामा सबै पक्षको संलग्नता रहेको तथ्यलाई बिर्सन मिल्दैन । नेपालको अर्थतन्त्र वर्तमान कोरोना महामारीको चपेटाका कारण थप सङ्कटमा पर्न नदिन आगामी दिनमा थप अन्तरराष्ट्रिय सहयोग आवश्यक पर्ने स्पष्ट छ । नेपाल र नेपालीको वर्तमान चासो ५ वर्षपछि नेपालको जलविद्युत् क्षेत्रलाई कस्तो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ । विद्युत् प्रसारण लाइन निर्माणमा सदुपयोग गर्नुमा नै दूरगामी हित छ । अहिले उपलब्ध सहयोग समयमै उपयोग गर्न सकेनौं भने विद्युत् विकास क्षेत्रमा दीर्घकालीन नकारात्मक असर पर्नसक्छ । अहिले एमसीसीको व्यापक विरोध भइरहेको छ । विरोधमा कतिपयले अमेरिकी सेना आउँछ, चीनलाई घेर्ने नीति छ । अफगानिस्तान बन्छ भन्ने समेत तर्क गरेको पाइन्छ । मूल सम्झौतामा परेका शब्दहरूले यस्तो कुराको संकेत गर्दैन । तर, दाताले सहयोग गर्दा केही न केही स्वार्थ त लिएकै हुन्छ । त्यो अन्यथा होइन । भारतले होस् कि चीनले, तिनले दिएको सहयोगमा पनि उनीहरूको स्वार्थ छ । तर, नेपालले सबै देशसँग सहयोग लिनुपर्छ । कुनै एक राष्ट्रका विरुद्ध अर्को राष्ट्रलाई खेल्न दिनु हुँदैन । चीनसँग बीआरआई सहयोगमा पनि नेपालले सम्झौता गरेको छ । अन्य विभिन्न फोरमहरूमा पनि नेपाल सहभागी भएको छ । त्यसैले नेपालले आफ्ना प्रमुख विकास साझेदारहरूसँग सुमधुर सम्बन्ध बनाउँदै उनीहरूसँग ऋण वा अनुदान जे लिन सकिन्छ लिएर विकासका कार्यक्रम सञ्चालन गरिनुपर्छ । दिनेश थपलिया बालाजु, वनस्थली ।

एमसीसीमा अन्योलको क्षति

संसद्बाट पारित हुनुपर्ने प्रावधानका कारण प्रतिनिधिसभा विघटन हुँदा थप अन्योलमा परेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग कार्यक्रमबारे अनिश्चितता रहे पनि सरकारले यसका लागि बजेट विनियोजन गर्न र लक्ष्य निर्धारण गर्न भने छाडेको छैन । योजना आयोगले आगामी ३ वर्षमा यस आयोजनाका लागि गरिने खर्च र प्राप्त हुने महत्त्वाकांक्षी लक्ष्य तय गरेको छ । सरकारमा बसेर सम्झौता संसद्मा टेबल गर्न आनाकानी गर्ने अनि प्रधानमन्त्री अध्यक्ष भएको योजना आयोगले भने महङ्खवाकांक्षी लक्ष्य लिने कुराले विरोधाभास र अन्तर्विरोधलाई देखाउँछ । एमसीसीबाट नेपालले विद्युत् प्रसारण लाइन निर्माण तथा सडकको स्तरोन्नतिका लागि अनुदान लिन लागेको हो । नेपालको आवश्यकता र नेपालकै अनुरोधमा अमेरिकाले यो परियोजना छानेको हो । ५० करोड अमेरिकी डलर अनुदान आउने यो परियोजना नेपालको जलविद्युत्को विकासका लागि अत्यावश्यक मानिएको छ । सम्झौताअनुसार २०७७ बाट नै यो परियोजना लागू भइसक्नुपर्ने थियो । तर, यो अझै अन्योलमा छ । एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने प्रावधान छ र यसलाई पारित गर्नु हुँदैन भन्ने एकथरीको तर्क छ । परियोजना लागू गर्ने समय घर्किसकेको छ भने धेरै विलम्ब भए अमेरिकाले यो सहयोग अन्यत्र लैजाने सम्भावना पनि छ । यस परियोजनासँग अमेरिकी सैन्य रणनीति जोडिएको तर्क गर्दै विरोध गर्नेको जमात पनि ठूलै छ । सरकारमा रहँदा यसको पक्षमा काम गर्ने र सत्ताबाहिर हुँदा विरोध गर्ने नीतिसमेत राजनीतिक दल र नेतृत्वमा पाइएकाले संसद्बाट पारित हुँदैन कि भन्ने आशंका बढी भएको हो । प्रतिनिधिसभा पुनःस्थापना भए वा निर्वाचन भए पनि एमसीसीको अन्योल चाँडै हट्ने सम्भावना देखिँदैन । एमसीसी परियोजना अगाडि बढाउन नेपालमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल डेभलपमेन्ट बोर्ड (एमसीए–नेपाल) स्थापना गरिएको छ र यसैबाट अहिले विभिन्न काम भइरहेका छन् । यसैमार्फत खर्च गर्नेगरी राष्ट्रिय योजना आयोगले महत्त्वाकांक्षी लक्ष्य अघि सारेको हो । अन्योलकै बीच परियोजनाको काम भइरहेको छ । ५० करोड डलर अनुदानमा बन्ने यो परियोजना सरकार आफैले खर्च गरेर धान्न सक्ने हो, होइन स्पष्ट छैन । संसद्बाट पारित नभई सहयोग नआउने भने पक्का छ । कथंदाचित् अनुदान आएन भने सरकारले गरेको खर्च के होला भन्ने प्रश्न पनि उठेको छ । नेपालले अहिले सर्वे गर्ने, परियोजना प्रभावितलाई मुआब्जा वितरण आदि काम गरिरहेको छ । योजना आयोगले ३ वर्षको अवधिमा प्रसारण लाइनको अतिरिक्त सर्वेक्षण, आयोजना प्रभावित २० प्रतिशत व्यक्तिलाई मुआब्जा वितरण, आयोजनाहरूको विस्तृत सर्वेक्षण तथा डिजाइन निर्माण, केही सडक खण्डहरूको मर्मत सुधार र पुनःस्थापना गर्ने लक्ष्य लिएको छ । यीमध्ये धेरैजसो कामले परियोजनाको आधार तय गर्ने देखिन्छ भने कतिपय लक्ष्य परियोजनाअनुसार नै रहेको पाइन्छ । परियोजना नै पारित नभए अहिलेसम्म भएका खर्च र आयोगले खर्च गर्न लिएको लक्ष्य उपलब्धिविहीन हुन सक्छ । अहिले यी खर्चलाई विकास बजेटमा देखाइएको छ । परियोजना नबने यो चालू खर्चभन्दा पनि खराब खर्च हुन सक्छ । अर्थात् यसरी गरिएको खर्च अनुत्पादक मात्र होइन, प्रत्युत्पादकसमेत बन्न सक्छ । अतः योजना आयोगले यस्तो लक्ष्य बनाउनुअघि सरकारले सम्झौता पारित गराउने वातावरण बनाउनु आवश्यक देखिन्छ । झन्डै दुई तिहाइ बहुमत भएर पनि सत्तारूढ दल नेकपाले यो सम्झौता पारित गराउन चासो दिएन । प्रतिपक्षी दल नेपाली कांग्रेसले बारम्बार सम्झौता संसद्मा पेश गर्न दबाब दिँदा पनि सत्तारूढ दलभित्रको किचलोका कारण यो अगाडि बढेन । उसले अध्ययनकै नाममा यसलाई अल्झाइरह्यो । यसरी सरकारमा बसेर सम्झौता संसद्मा टेबल गर्न आनाकानी गर्ने अनि प्रधानमन्त्री अध्यक्ष भएको योजना आयोगले भने महत्त्वाकांक्षी लक्ष्य लिने कुराले विरोधाभास र अन्तर्विरोधलाई देखाउँछ । यस्तो विरोधाभास र अन्तद्र्वन्द्वकै कारण नेपालका थुप्रै पूर्वाधार निर्माणका योजनाहरू अन्योलमा परिरहेका हुन् । त्यसैले स्पष्ट दृष्टिकोणसहित यसबारे लक्ष्य निर्धारण गर्न आवश्यक देखिन्छ ।