प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिँदै चैतेधान खेतीमा आकर्षण बढाउने योजना

नेपालगञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैतेधान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन शुरू गरेपछि ती क्षेत्रमा चैतेधान उत्पादन थालिएको हो । वर्षेधान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई नेपालगञ्जका प्रमुख राकेश ओझाले बताए । परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरूलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड-१ नामक धानको खेती हुने गरेको छ । हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाई कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिबारे जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रदर्शनी गरेर आकर्षण बढाउने योजना छ,’ ओझाले भने । उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा २, ३ र ४ को नौवास्ता, ७ को वनकटवा, वडा ८ को टिटिहिरियामा ७ हजार ४२३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् । जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगञ्ज र वडा नं ४ को खजुराखुर्दका ४ हजार ७८७ घरधुरी छन् । त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा गरी ३ हजार ३४४ घरधुरी सो कार्यक्रममा संलग्न भएको परियोजना कार्यान्वयन इकाईले जनाएको छ । धान जोन समन्वय समितिका संयोजक सर्वजित विष्टले वर्षेधानभन्दा चैतेधानको उत्पादकत्व बढी भएको बताए । उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए ।  धानको बिक्रीवितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ । -रासस

सम्बन्धित सामग्री

चितवनका करीब ७ हजार कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

चितवन । चितवनमा चैतेधान खेती गरेका ६ हजार ९९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैतेधान खेती गरेका कृषकले अनुदानस्वरूप रकम पाउने भएका हुन् । कार्यालयका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो । निवेदनपश्चात स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धानखेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो ।  पुनका अनुसार २० कठ्ठासम्म चैतेधान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा रु एक सयका दरले र सोभन्दा बढी गर्नेका लागि रु ९५ का दरले प्रोत्साहन रकम वितरण गरिने छ । प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । यसमा रु ७३ लाख प्रोत्साहन अनुदान वितरण गर्न लागिएको हो । कार्यक्रमअनुसार प्रतिकठ्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णय भएको उनले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ । रासस