चितवनका करीब ७ हजार कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

चितवन । चितवनमा चैतेधान खेती गरेका ६ हजार ९९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैतेधान खेती गरेका कृषकले अनुदानस्वरूप रकम पाउने भएका हुन् । कार्यालयका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो । निवेदनपश्चात स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धानखेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो ।  पुनका अनुसार २० कठ्ठासम्म चैतेधान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा रु एक सयका दरले र सोभन्दा बढी गर्नेका लागि रु ९५ का दरले प्रोत्साहन रकम वितरण गरिने छ । प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु ७५ लाख विनियोजन गरेको थियो । यसमा रु ७३ लाख प्रोत्साहन अनुदान वितरण गर्न लागिएको हो । कार्यक्रमअनुसार प्रतिकठ्ठा रु चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णय भएको उनले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ । रासस

सम्बन्धित सामग्री

चितवनका ७ हजार किसानले पाए प्रोत्साहन अनुदान

काठमाडौं । चितवन जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु. १ सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु. ९५ का दरले अनुदान […]