चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र कञ्चनपुरको वेदकोटमा रहेको प्राकृतिक ताल । यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस
कञ्चनपुर । चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बेदकोटमा रहेको प्राकृतिक ताल । यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन ।
सुदूरपश्चिम नेपालको पर्यटनको खानी हो । यद्यपी, पश्चिमी नाका हुँदै नेपाल आउने पर्यटकहरु त्यहाँ लामो समय बस्दैनन् । सुदूरपश्चिममा पर्यटनको अत्यन्त सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रका गन्तव्यको प्रचार कम मात्रामा भएको छ ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतसहित अन्य मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । तर, कोरोनाका कारण अहिले सुस्ताएको छ । तथापी, दशैँ र तिहार जस्ता चाडको अवसरमा काठमाडौँ र अन्य शहरका मानिसहरु सुदूरपश्चिम घुम्न निस्कने हो भने त्यहाँका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउ पुग्ने छ । फलस्वरुप विदेशी पर्यटकहरु सुदूरपश्चिम घुम्न आउने सम्भावना बलियो छ ।कर्णाली पुलकर्णाली नेपालको सबैभन्दा लामो नदी हो । त्यो नदीमा बनाईएको एकखम्बे पुल सुदूरपश्चिमलाई संघिय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख पुल हो । ५ सय मिटर लम्बाइ र १४ मिटर चौडाइको यो पुल सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्यका रुपमा प्रचार गर्न सकिन्छ ।टीकापुर पार्कस्वीट्जरल्याण्डको लक्साल शहरको नक्साका आधारमा ठ्याक्कै त्यस्तै देखिने गरी रेखाङ्कन गरिएको टीकापुर पार्क ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । ८० प्रकारका गुलाबका फूल यो पार्कमा पाइन्छ ।यति मात्रै नभई २०२८ सालमा तत्कालीन राजा महेन्द्रले त्यहीबाट १ महिना शासन चलाएका कारण पनि त्यो विषयको अध्ययनका तथा पिकनिक र चलचित्र छायांकनका लागि टीकापुर पार्क प्रमुख गन्तव्य बन्न सक्छ ।घोडाघोडी तालघोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकरण भएको नेपालकै महत्वपूर्ण ताल हो । २ हजार ५६३ हेक्टरमा हातको हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । २४५ प्रजातिका चराचुरुङ्गी, पानी हाँस, जंगली धान लगायतका लागि घोडाघोडी ताल आकर्षक र रमणीय पर्यटकीय गन्तव्य हो ।एकमात्र राणाकालीन दरबारकैलालीको चुरे गाउँपालिकास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । १९८२ सालमा निर्माण गरिएको यो दरबार इतिहासको अध्ययनका लागि पुग्नैपर्ने ठाउँ हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाकको प्रवन्ध छ । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउमा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ ।शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा लगायतका जीव जनावर हेर्न पाईने शुक्लाफाँटामा आधा दर्जनभन्दा बढी तालहरू छन् ।ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल रहेको यो निकुञ्ज क्षेत्र ३०५ वर्गकिलोमिटरमा फैलिएको छ । दोधारा चाँदनीकञ्चनपुरको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुलले नेपाल पारिका तर नेपालकै २ ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । आन्तरिक पर्यटकको भीड हुने यो ठाउँमा बाह्य पर्यटक पनि तान्न सकिन्छ ।अमरगढी र अजयमेरूकोटअमरगढी किल्ला डडेल्धुराको ऐतिहासिक किल्ला हो । यो किल्लका अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्छ ।डडेल्धुराको अजयमेरू गाउँपालिकास्थित अजयमेरूकोट दरबार ऐतिहासिक दरबार हो । खप्तडपश्चिम नेपालका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तव्य हो ।खप्तड परिसरमा २२ वटा पाटन छन् । सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड घुम्न अहिलेको समय अति उपर्युक्त समय हो । २ हजार ७ सयदेखि ३ हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ मानिने दलदले घाँसे मैदान हो । खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, खप्तडबाबाको आश्रम यहाँका विशेषता हुन् । रामारोशनअछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूलाठूला चौर छन् ।यहाँ १२ प्रकारका लालीगुराँस पाइन्छन् । नेपालको राष्ट्रिय चरा डाँफे नाँचिरहेको देख्न पाईने यो क्षेत्र पनि अहिले घुमफिरका लागि राम्रो समय हो ।बडिमालिकाबडिमालिकालाई भूस्वर्ग नै मानिन्छ । हिन्दुका देवादिदेव भगवान शिवले लामो समय बिताएको मानिने बडिमालिका धार्मिक दृष्टिले अत्यन्त महत्वको क्षेत्र हो । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्र हिमालसँगै विशाल फाँटमा रमाउनेका लागि पुग्नैपर्ने गन्तव्य हो ।अपि बेसक्याम्पदार्चुला जिल्लामा पर्ने ७ हजार १३२ मिटर उचाईको अपि हिमालको आधार शिविरसम्म पदयात्राका लागि यो ठाउँ अत्यन्त रोमाञ्चक ठाउँ हो ।अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई हिउँचुली लहरै उभिएको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालुसहित डाँफे, मुनाल देख्न पाईने यो क्षेत्र सुन्दर सुदूरपश्चिमका देउडा भाका सुन्दै यात्रा गर्नुको मजा बेग्लै हुन्छ । व्यास (मानसरोवारको प्रवेशद्वार)सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको कुनामा छ । कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यका साथमा त्यहाँका सौका समुदायको परम्परा र संस्कृति आकर्षणको केन्द्र हो ।
विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन अहिले कोरोना माहामारीका कारण झन आवश्यक बनेको छ । नेपालीहरु आफैँ जागरुक भएर आफ्नो देश नघुमेसम्म विदेशीहरु तत्काल आइहाल्ने सम्भावना छैन । त्यसैले पनि नेपालीहरु आफ्नो देश घुम्न आवश्यक छ । पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न एयरलाइन्स कम्पनीसहित ट्राभल कम्पनीहरुले आन्तरिक घुमफिरका ‘प्याकेज’ बनाएका छन् । दशैँ तिहार जस्ता चाडको समयमा परिवारसहित मानिसहरु घुम्न निस्कने आशा गरिएको छ । घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । यद्यपी, यसवर्ष मनसुन अझै सक्रिय नै छ । तैपनि मनसुनसँगै आनन्द मानेर घुम्ने नेपालीका लागि अहिलेको समय अनुकुल नै हो भन्न सकिन्छ । १) नगरकोटमूलुकको संघिय राजधानी काठमाडौंबाट जम्मा ३२ किलोमिटरको दूरीमा रहेको ठाउँ हो नगरकोट । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । लाङटाङ हिमशृंखलासहित सगरमाथासमेत देख्न सकिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ । रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरुका लागि बासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौं कोटेश्वरबाट भक्तपुरको कमलविनायक हुँदै २ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो नगरकोट ।२) दामन/इन्द्रसरोबरमकवानपुरमा पर्ने दामन काठमाडौँबाट नजिकको हिउँ खेल्ने गन्तव्य हो । हिँउद याममा हिउँ खेल्नका लागि मानिसहरु बाक्लै पुग्ने यो ठाउँमा अहिले सामान्य अवस्थामा रहेको गर्मी छल्न पनि मानिसहरु पुग्ने गर्दछन् । सफासँग मौसम खुल्दा दामनबाट ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल देख्न सकिन्छ ।मकवानपूरकै कुलेखानीमा मानवनिर्मित इन्द्रसरोबार ताल मूलुककै पृथक पर्यटकीय गन्तव्य हो । चन्द्रागिरी पर्वतको काँखैमा अवस्थिति यो तालमा डुंगा सयरको पनि प्रवन्ध छ । काठमाडौँबाट यति नजिकै तालमा डुंगा सयर गर्न पाउने व्यवस्था अन्यत्र छैन ।निजी सवारी लिएर प्रकृतिसँग दिन बिताएर साँझ काठमाडौँ फर्किन्छु भन्नेहरुका लागि पनि यो गन्तव्य उपर्युक्त बन्न सक्छ ।३) कालिञ्चोकदोलखाको कालिञ्चोक काठमाडौँबाट मात्रै नभई मध्य तराइबाट पनि सहजै पुग्न सकिने आन्तरिक गन्तव्य हो । सुन्दर प्रकृतिको काखमा रमाउन र हिमाली सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्न पाइने भएकाले आन्तरिक पर्यटकले औधी निकै रुचाउने गन्तव्य हो कालिञ्चोक ।कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसर गौरिशंकर हिमाल हातैले छुन सकिन्छ की जस्तो गरी उभिएको देख्न सकिन्छ । यसबाहेक लाङटाङ, रोलवालिङ हिमशृंखला पनि प्रष्ट देखिने हुँदा यो ठाउँ निकै मनमोहक लाग्छ । काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली हुँदै पनि जान सकिन्छ । यसबाहेक मुडे देउराली हुँदै पनि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक हिडेपछि कुरी बजार पुगिन्छ । एकनासका काठे घरहरुले कुरी बजारको सौन्दर्यता बढाएका छन् । कुरीबाट एक घण्टा पैदल हिँडेपछि समुद्री सतहदेखि ३८ सय ४२ मिटर उँचाइको कालिञ्चोक पुगिन्छ ।४) सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।५) पोखराहिमाल, ताल, गुफा, छाँगा छहरा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरा नेपालको पर्यटनको राजधानी मानिन्छ । विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रा, म्याग्दीको पुनहिल, मुस्ताङको प्रवेशद्वारसमेत पोखरा नै हो । तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यावासिनी मन्दिर जस्ता गन्तव्यले पोखराको सौन्दर्यलाई अझै मनमोहक बनाएका छन् । पोखराको सुन्दर उपत्यकाबाट केही उकालो लागेपछि पुगिने सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला छर्लङ्ग देख्न सकिन्छ ।पोखराबाट एक घण्टामा पुगिने धम्पुसबाट माछापुच्छ«ेको दर्शन गर्न पाइन्छ । पोखराको वर्णन लेखेर गर्न सकिँदैन, यसका लागि एकपटक घुम्न जानु नै उपर्युक्त हुन्छ ।६) मुस्ताङट्राभल गाइडबुकमध्ये विश्वकै प्रख्यात मानिने ‘लोन्ली प्लानेट’ले हरेक वर्ष मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हुन्छ । हिन्दु र बौद्ध मार्गीहरुकोसाझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । कागबेनी, नौतले गुफा यो क्षेत्रका विशेषता हुन् । हिमाल पारीको जिल्ला भनिने मुस्ताङ निकै लोभलाग्दो प्राकृतिक संरचना भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।७) चितवन/सौराहाजंगल सफारीका लागि चितवन निकै प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्जसमेत रहेको यो ठाउँमा ‘वाइल्ड लाइफ’मा रुची भएकाहरु पुग्ने गर्दछन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । सौराहा र मेघौली चितवनका प्रमुख गन्तव्य हुन् । सौराहाका होटल व्यवसायीहरुले नेपाली पर्यटकलाई लक्षित गरी छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन् । सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ छन् ।८) इलाम/ताप्लेजुङपूर्वी नेपाल भ्रमणका लागि धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । इलामको चिया बगान, बगानको बीचमा पर्वतै पवर्तमा बनेको चिल्लो सडक अहिले चर्चामा छ । ओलाङचुङगोलादेखि पाथिभरा, विभिन्न जिल्लाको संगमस्थल तीनजुरे, ताप्लेजुङको तिम्बुङ पोखरी जस्ता मनै लोभ्याउने गन्तव्य भएका यी ठाउँहरु जति घुमे पनि घुमौ घुमौ लागिरहन्छ ।कञ्चनजंघा र कूम्भकर्ण हिमालको दृश्यावलोकन, पाथिभरा माताको दर्शन, पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा पक्कै अविश्मरणीय हुनेछ ।९) राराघुमफिरमा रुची भएकाहरुले जीवनकालमा एकपटक पुग्छु भनेर सोच्ने गन्तव्य हो मुगुको हुटुस्थित रारा ताल । समुद्री सतहबाट २९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेर्ने गर्छ । राराभन्दा करिब ११ सय मिटरमाथिको उचाईमा रहेको मुर्मा टपबाट राराको पूरै आकृति देखिन्छ । बाक्लो सल्लाघारी भित्र लमतन्न सुतेकी रारा देख्दा जो कोहीलाई पनि स्वर्गीय आन्नद प्राप्त हुन्छ ।