काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका हुन् ।
मन्त्रालयले आज ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिएको छ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन सुरु गरेको हो ।
खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ ।
छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ ।
भारतले अनुदानमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो ।