काठमाडौंका उपभोक्ताले ९० रुपैयाँसम्म तिर्ने काउलीको मूल्य चितवनका किसानलाई १२ रुपैयाँ मात्रै

किसान र उपभोक्ता दुवैलाई मार, बिचौलिया मालामाल चितवनका किसानको बारीबाट कालिमाटी पुग्दा तीन गुणा बढ्ने तरकारीको मूल्य उपभोक्ताले किन्ने  खुद्रा पसलमा कालिमाटीको भन्दा तीन गुणा नै बढी  काठमाडौंका उपभोक्ताले बुधबार खुद्रा तरकारी...

सम्बन्धित सामग्री

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान

चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् ।  बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए ।  बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’  सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ ।  यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’ हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’ नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’  फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ ।  यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।

चितवनका किसान सामूहिक खेतीमा आकर्षित, हट्यो जमिन बाँझोको समस्या !

चितवन । भरतपुर नगरपालिकाका केही युवाहरू सामूहिक खेतीमा आकर्षित भएका छन् । यहाँका १८ परिवारले शुरु गरेको आधुनिक सामूहिक खेती फार्ममा अहिले थप किसान जोडिएका छन् ।  फार्मका अध्यक्ष लेखनाथ भुसालका अनुसार अहिले सामूहिक खेतीमा थप १० जना जोडिएर २८ पुगेका छन् ।  फार्ममा आवद्ध किसानहरूले सामूहिक खेती गर्नेको संख्या मात्रै बढाएका छैनन्, सामूहिक खेती गर्ने जमिनको क्षेत्रफल पनि बर्सेनि बढाउँदै लगेका छन् ।  उनीहरूले पहिलो वर्ष ५० बिगाहामा सामूहिक खेती गरेका थिए । यस्तै, दोस्रो वर्ष ९० बिगाहा र तेस्रो वर्ष १०० बिगाहामा सामूहिक खेती गरेका थिए । सामूहिक खेती थालेको चौथो वर्षमा त्यो क्षेत्रफल अझ विस्तार भएको छ ।  सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती शुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष भुसालले बताए ।  हाल भरतपुरको वडा नम्बर २०, २३, २४ र २५ गरी चारओटा वडामा कृषि कर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले तरकारी थोरै थोरै उत्पादन गर्थे । अहिले प्लट अनुसारका उत्पादन गर्न थालेका छन् । २८ ओटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ,’ भुसालले भने, ‘यसले गर्दा किसानलाई धेरैथरि तरकारी उत्पादनको झन्झट पनि भएन ।’ सामूहिक खेतीले बाली मात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो भएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन्,’ भुसालले भने, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’ सामूहिक खेती थालिएपछि उक्त फर्मले अनुदान पनि पाएको छ । उनीहरूले तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् ।  फर्मले ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रुपैयाँ अनुदान पाएको अध्यक्ष भुसालले बताए । यस्तै, भरतपुर महानगरपालिकाबाट अनुदानमा कृषि सामग्री पाएको उनको भनाइ छ ।  महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री, जस्तै : हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिँचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् ।‘यसरी तरकारी खेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ,’ उनले भने । त्यति मात्रै होइन, फर्ममा आवद्ध किसानले तालिम पनि पाएको उनी बताउँछन् ।  उनको बारीमा अहिले धान खेतीदेखि घिरौंला, बोडी, करेला, फर्सीसम्म उत्पादन भइरहेको छ । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भुसालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’ कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्न बाली र तरकारी खेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए । समूहका सचिव सुमन सुवेदीले बीउ खरीददेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पुर्‍याउने समयसम्म बिचौलियाको जगजगी थियो,’ सुवेदीले भने, ‘एक्लाएक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’ उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती थालेका थिए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

चितवनका किसान ड्रागन फ्रुट खेतीमा आकर्षित

चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । साना किसानदेखि जिल्लाका अन्य क्षेत्रका व्यवसायीले पनि ड्रागन फ्रुट खेती गर्न थालेका छन् । विगत ३ वर्षयता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन फ्रुटको खेती विस्तारका लागि काम शुरू गरेको बताए । उनका अनुसार सामूहिक रूपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको छ भने व्यक्तिगत साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनि ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले जानकारी दिए । शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सवेदा साइन्स एण्ड एग्रिकल्चर फार्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पु्रmट पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरू गरिएको सुवेदीले बताए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको सुवेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म रहेको बताइएको छ । यस्तै, भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरुङ र ताइबहादुर गुरुङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फार्म खोलेर एक बिघाभन्दा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्किएका उनीहरूले यसमा राम्रो सम्भावना देखेकाले खेती थालेका हुन् । साथै भरतपुर महानगर–२१ पार्वतीपुरका किसान नारायणप्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेका छन् । खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटबीच अन्तरबाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको उनले सोतीले बताए । चितवनमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले आफूहरू यस खेतीमा आकर्षित भएको किसानहरूको भनाइ छ । चितवनमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणकै भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।