चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । साना किसानदेखि जिल्लाका अन्य क्षेत्रका व्यवसायीले पनि ड्रागन फ्रुट खेती गर्न थालेका छन् ।
विगत ३ वर्षयता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन फ्रुटको खेती विस्तारका लागि काम शुरू गरेको बताए ।
उनका अनुसार सामूहिक रूपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको छ भने व्यक्तिगत साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनि ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले जानकारी दिए ।
शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सवेदा साइन्स एण्ड एग्रिकल्चर फार्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पु्रmट पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरू गरिएको सुवेदीले बताए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।
ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको सुवेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म रहेको बताइएको छ । यस्तै, भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरुङ र ताइबहादुर गुरुङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फार्म खोलेर एक बिघाभन्दा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्किएका उनीहरूले यसमा राम्रो सम्भावना देखेकाले खेती थालेका हुन् । साथै भरतपुर महानगर–२१ पार्वतीपुरका किसान नारायणप्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेका छन् ।
खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटबीच अन्तरबाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको उनले सोतीले बताए । चितवनमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले आफूहरू यस खेतीमा आकर्षित भएको किसानहरूको भनाइ छ । चितवनमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणकै भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।