व्यर्थको सम्बोधन

राष्ट्रको कार्यकारी प्रमुखले विशेष अवस्थामा विशेष सन्देश प्रवाह गर्न राष्ट्रको नाममा सम्बोधन गर्ने गरिए पनि नेपालमा विनाअर्थ र विनाप्रयोजन राष्ट्रको नाममा सम्बोधन गर्ने पारिपाटी विकास भएको देखिन्छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ६ महीना पूरा गरेको भनी दिएको सम्बोधनको औचित्य कुनै आधारमा पुष्टि हुँदैन तर पनि प्रधानमन्त्रीले सम्बोधन किन गर्नु परेको होला ? यो प्रश्नको उत्तर अहिले धेरैले खोजिरहेका छन् । यो भाषणलाई सरकारी रेकर्डबाट हटाइदिए हुन्छ । जनताले त आफ्नो रेकर्डबाट हटाइ नै दिन्छन् । आगामी दिनमा वर्तमान सरकारले र आउने सरकारले पनि यस्तो व्यर्थको सम्बोधनको लोभ नगरून् । सर्वप्रथमतः संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदप्रति पूर्ण उत्तरदायी हुन्छ । कुनै पनि महत्त्वपूर्ण जानकारी प्रधानमन्त्रीले संसद्लाई नै जानकारी गराउनुपर्छ । आफूलाई संसदीय लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार ठान्ने नेपाली कांग्रेसका सभापति नै वर्तमान गठबन्धन सरकारको प्रधानमन्त्री भएको अवस्थामा संसदीय लोकतन्त्रको मर्मविपरीत किन रेडियो टिभीबाट जनतालाई प्रत्यक्ष जानकारी दिइयो ? मुलुकमा कुन ठूलो संकट आयो र त्यसलाई महत्त्वका साथ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो ? यसको जवाफ सरकारसँग छ ? प्रधानमन्त्रीको सम्बोधनले संसद् चल्न नसकेको तथा एमसीसीको चर्को विवादबारेको आशंकालाई केही सम्बोधन गर्‍यो ? कोरोनाका कारण आत्तिएका सर्वसाधारण तथा व्यवसायीका लागि आशाको सञ्चार गर्ने कुनै ठोस कार्यक्रम आयो ? स्थानीय तहको निर्वाचनका बारेमा सत्तारूढ गठबन्धनभित्र परस्परविरोधी वक्तव्य आइरहेका छन्, त्यसलाई यसले हटाउने काम गर्‍यो ? कोरोनाविरुद्धको अभियानमा सरकारले कुनै विशेष कार्यक्रम ल्यायो ? कुनै पनि नयाँ कुरा देखिँदैन । खालि काइते भाषाशैलीका शब्द र तोडमरोड गरिएका तथ्यांक प्रस्तुत गर्नलाई किन राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो ? अर्थ न बर्थका कुरा गरेर समयको बर्बादी गर्ने सरकारले यी कुराको जवाफ दिनुपर्छ । हालसम्म सबैजसो प्रधानमन्त्रीले यस्तो सम्बोधन गरे पनि त्यसको औचित्य सिद्ध हुन सकेको छैन । तीमध्ये अहिलेको सरकारको सम्बोधन सबैभन्दा निम्छरो देखिएको छ । हो, मुलुकमा ठूलाठूला समस्या छन्, आशंका छन् । तिनलाई सम्बोधन गरेको भए यो सम्बोधनको औचित्य हुन्थ्यो तर विडम्बना त्यस्तो हुन सकेन । मुलुक अहिले अमेरिकी सहयोग एमसीसीलाई लिएर दुई धारमा विभक्त भएको छ । एकथरी यसको चरम विरोध गरिरहेका छन् भने अर्काथरीले जलविद्युत्को विकासका लागि यो अत्यावश्यक भनिरहेका छन् । यसमा राष्ट्रियताको कुरा जोडेर मुलुक लगभग भिडन्तको अवस्थामा छ । प्रधानमन्त्री शेरबहादुर देउवा उसलाई पारित गराउने पक्षमा हुनुहुन्छ तर सम्बोधनमा यसबारे एक शब्द पनि परेन, किन ? जनताको अपेक्षा थियो, कालापानी र लिपुलेकबारे केही अडान आउँछ । एमसीसीको निकास खोल्न केही नयाँ प्रस्ताव आउँछ । संसद् अवरोध खोल्न केही कुरा गरिन्छ । तीनै तहको आगामी निर्वाचनबारे सरकारको धारणा केही आउला । कोरोनाको उपचार र रोकथामका लागि सरकारले विशेष केही घोषणा गर्ला । अर्थतन्त्र संकटको नजिक पुग्दै छ, त्यसलाई जोगाउन केही ठूला र प्रभावकारी कार्यक्रम आउलान् । तर, यी सबै कुरामा प्रधानमन्त्रीले कोही पनि स्पष्टसँग बताउनुभएन । अर्थात् कुनै पनि विशेष कार्यक्रम र तयारी रहेनछ । केही पनि विशेष नभएपछि विशेष सम्बोधनचाहिँ किन गर्नु परेको हो ? सरकारले ६ महीनाको अवधिमा प्राप्त गरेको उपलब्धि भनेर जुनजुन काम उल्लेख गरिएका छन् ती सबै नियमित प्रक्रियाबाट भएका हुन् । त्यसको जस यो सरकारले लिन पाउँदैन, त्यसमा यो सरकारको केही पनि योगदान छैन । काम नभएका आयोजनाहरूमा काम कसरी अगाडि बढ्छ भन्ने आधार पनि दिन नसकेको सरकारले भएका कामको जस लिनु प्रचारबाजी मात्रै हो । सरकार तदर्थवादमा चलेको छ । यसको एउटा प्रमाण कोरोना रोकथामका लागि पहिले असफल भएका जोरबिजोर जस्ता बाहियात विधि प्रयोग गर्नु हो । यसैबाट मूल्यांकन हुन्छ सरकार यसमा निकम्मा छ । त्यसैले यो भाषणलाई सरकारी रेकर्डबाट हटाइदिए हुन्छ । जनताले त आफ्नो रेकर्डबाट हटाइ नै दिन्छन् । आगामी दिनमा वर्तमान सरकारले र आउने सरकारले पनि यस्तो व्यर्थको सम्बोधनको लोभ नगरून् ।

सम्बन्धित सामग्री

पछिल्लो राजनीतिक घट्नाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने

काठमाडौँ, १६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । हिजो (आइतबार) बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले सम्बोधन गर्न लागेको हो । प्रचण्डले आज अपराह्न ३ बजे आफ्नै निवास खुमलटारमा विशेष सम्बोधन गर्न लागेका हुन् । माओवादी […]

देशबासीका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । २९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीको नाममा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।...

विदेशी पाहुनाले एमालेको बन्द शत्रलाई सम्बोधन गर्ने

उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले भक्तपुरका एमाले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका हुन् । पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

सम्बोधन होला यातायात व्यवसायीको माग?

चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय भैसकेको छैन् ।

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’