नेटफ्लिक्सले गुमायो २ लाख ग्राहक, थप २० लाख ग्राहक घट्ने प्रक्षेपण

वैशाख ७, क्यालिफोर्निया। अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक कम्पनी नेटफिल्क्सको ग्राहकसंख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ।  कम्पनीले सन् २०२२ को पहिलो चौमासिकमा करीब २ लाख ग्राहक गुमाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङ्गले लगानीकर्ताको त्रैमासिक आम्दानी सम्बन्धी एउटा अन्तरवार्तामा सम्भावित परिवर्तनको बारेमा जानकारी गराउँदै आगामी चौमासिकमा प्रयोगकर्ताको संख्या अझ घट्ने बताएका छन् । अमेरिका,बेलायतलगायतका मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफ्लिक्सको ग्राहक संख्या घटेको हो। यस्तै रुस र युक्रेन बीच युद्ध चर्केपछि कम्पनीले रुसमा पनि स्ट्रिमिङ सेवा बन्द गरेको छ । यसबाट पनि कम्पनीको ग्राहक संख्यामा कमी आएको छ । रसियामा सेवा बन्द गर्दा ७ लाख ग्राहक प्रभावित भएको बताइएको छ । कम्पनीले सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख ग्राहकले सेवा नविकरण गरेका छैनन् । कम्पनीको ग्राहकसंख्यामा कमी आएपछि मंगलवार शेयरमूल्य पनि १० प्रतिशतले घटेको छ ।  ग्राहक संख्यामा कमी आएसँगै कम्पनीले विज्ञापनसहितको सस्तो प्याकेज ल्याउने योजना बनाइरहेको छ ।कम्पनीले विज्ञापनसहितको सस्तो मूल्यको प्याकेजले ठूलो संख्याका प्रयोगकर्तामाझ पुग्न सहयोग मिल्ने अपेक्षा गरेको छ । कम्पनीले आउने समय थप ग्राहक घट्ने प्रक्षेपण गरेको छ। पासवर्ड शेयरिङका कारण पनि ग्राहक संख्यामा कमी आएको कम्पनीले बताएको छ । आगामी जुलाईसम्ममा थप २० लाख ग्राहक घट्ने भनेर कम्पनीले आफ्ना लगानीकर्तालाई सचेत गराइसकेको छ। कोरोना महामारीको समयमा भने नेटफ्लिक्सको ग्राहक संख्या ह्वात्तै बढेको थियो। हाल कम्पनीका २२ करोड ग्राहकहरु रहेका छन्। एजेन्सीहरु

सम्बन्धित सामग्री