जर्मनीमा भेटियो ४ सय वर्ष पुरानो डुबेको जहाज, आज पनि सुरक्षित

समुद्रको गहिराइमा इतिहास खोज्ने पुरातत्वविद्हरूले उत्तरी जर्मनीमा ४ सय वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन्। यो कार्गो जहाजको भग्नावशेष हो, जुन लगभग डुबेको थियो । जहाजमा चूनाको ब्यारेलहरू थिए, जुन शताब्दीयौं अघि ढुङ्गा बनाउने उद्योगमा प्रयोगको लागि ढुवानी गरिएको हुन सक्छ । जहाज एक दुर्लभ खोज हो । यो ह्यान्सेटिक कालसँग सम्बन्धित छ। यस […]

सम्बन्धित सामग्री

ल्होछार मनाउनेहरुको घरपरिवारमा कसरी मनाइन्छ यो पर्व ?

आज माघ शुक्ल प्रतिपदा (माघ १९) नेपालका प्रमुख आदिवासीहरु मध्ये एक तामाङ समुदायले मान्ने सोनाम ल्होछार (ल्होसार) को दिन हो ।   तामाङ साथै ह्योल्मो र केही अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।  अन्तर्राष्ट्रिय तहमा यो पर्व चिनियाँ नयाँ वर्षको रुपमा पनि मानिन्छ । तर पात्रो परम्परा अलगअलग भएको हुदाँ कहिले काँहि फरक दिनमा पनि पर्न जान्छ । अलगअलग परम्परा कै कारण नेपालका अरु समदाय जस्तै शेर्पा, तिब्बती, गुरुङहरुले पनि केही फरक समयमा ल्होछार (ल्होसार) मनाउछन् । गुरुङहरु पौष १५ मा तमु ल्होछार र शेर्पा तिब्बतीहरु र केही तामाङले समेत फाल्गुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसार मान्दछन् ।  हिमाली तथा पहाडी क्षेत्रका उल्लेखित समुदायहरुले विभिन्न तिथिमितिमा मान्ने ल्होछार वा ल्होसार शब्दले तिब्बती वा तामाङ भाषामा नयाँ वर्षको अर्थ दिन्छ ।   यो प्राचीन समयमा करिव ४७ सय वर्ष अघि चीनियाँ सभ्यतामा विकास भएको चिनियाँ ज्योतिष परम्परामा आधारित वर्ष गणना पद्धतीमा आधरित रहेको चन्द्रगति अनुसारको (लुनार क्यालेण्डर) पात्रोमा आधारित नयाँ वर्ष हो ।   अन्य पात्रोमा जस्तै ल्होछार परम्परामा पनि बार, महिना, शुभ—अशुभ आदि आफ्नै मौलिक तरिकाले तय गरिने चलन हुन्छ ।  ल्होछार परम्पराकै पात्रोको नयाँ वर्षमा केही फरक देखिएता पनि मुल अन्तरवस्तु ल्हो (वर्ष) गणना भने नेपालका तामाङ वा अरु समुदायदेखि चीनसम्मै एकै रहेको हुन्छ ।  जस अनुसार १२ वर्षको एक चक्र (ल्होखोर्लो) मानिन्छ र तिनलाई १२ प्रतिनिधी जनावरहरुको नामले पुकारिन्छ ।   यही प्रचलन अनुसार अब शुरु भएको वर्ष बाघ वर्ष हो ।  यस वर्ष बाघ वर्ष भए जस्तै अन्य वर्षहरुमा क्रमश बिरालो (वा खरायो), गरुड (ड्रागन), नाग, घोडा,  भेडा, बाँदर, चरा, कुकुर, सुँगुर, मुसा र गोरु गरी क्रमश गणना गरिन्छ र १२ वर्षे चक्र पछि फेरी उही प्रक्रिया दोहोरिन्छ ।  यही आधारमा १२ वर्ष चक्र भन्दा लामो समय गणनाको लागि ६० वर्षको अर्को ठूलो चक्र (सेक्साजेनरी) परिकल्पना गरी सोही आधारमा लामो कालखण्डको गणना गर्ने परम्परागत पद्धती रहेको हुन्छ ।  देशमा बहुदलीयता, बहुलता र लोकतन्त्रलाई आत्मसात गर्दै २०४६ तथा त्यसपछि भएका राजनीतिक परिवर्तन र जागरण अघि ल्होछार वा ल्होसार सम्बन्धित समुदायले घरपरिवारमा सीमित तरिकाले मात्र मान्ने चलन थियो । तर अहिले यस पर्वको अवसरमा टुँडिखेल, पार्क तथा सार्वजनिक स्थलहरुमा साथिभाई भेला भई ठूलो सांस्कृतिक जमघटका साथ मनाउने चलनले गर्दा यो उत्सव ल्होछार मान्ने समुदायको मात्र नभै आम नेपालीको लागि पनि चासो र उल्लासको रुपमा विकास  हुँदै गएको छ ।  ल्होछार मान्नेहरुले पर्व आउनु केही समय पहिले नै पर्वको समयमा लगाउनको लागि परम्परागत पहिरनको व्यवस्था गर्ने गर्दछन् भने उत्सुक्ताका साथ आगामी वर्ष आफू र आफ्ना परिवारजनहरुको लागि शुभ—अशुभ के छ भनी चाख देखाउँदै सोधखोज गर्ने गर्दछन ।  अशुभ छ भने सम्पन्न गर्नु पर्ने कामहरु छिटोछिटो टुङ्याउने प्रयास गर्दछन् ।  घरको सरसफाई तथा खानपिनको जोहो गर्ने कार्य पनि हुन्छ ।   सोनाम ल्होछार मान्ने परम्परा अनुसार ल्होछारको अघिल्लो साँझ विभिन्न ९ थरी गेडागुडी मिश्रित गुथुग भनिने सुप पकाएर खाने चलन थियो तर यो अहिले तेति प्रचलित छैन ।  यस्तो सुप पिउनाले सर्दी जाने र दशाग्रह पुरानो वर्षसँगै समाप्त हुने विश्वास गरिन्छ ।  ल्होछार नयाँ वर्षको दिन घरको पुजास्थानमा पर्वको लागि तयार पारिएको पकवान सजाएर राखिन्छ । यस्ता पकवानमा विशेष किसिमको रोटी खाप्से, फलफुल र मिठाइहरु समाविष्ट हुन्छन् ।  गाउँघरमा घरको मुलव्यक्तिले नजिकैको धारा, कुवा आदिबाट पानी ल्याई पूजास्थानमा चढाउने गरिन्छ । नयँ वर्षको घामको झुल्को अगावै शुद्ध जल घरमा ल्याउनले धनधान्य प्राप्ती हुने, न्होरग्युन्मा (धनकी देवी, लक्ष्मी) ले आसिर्वाद दिने विश्वास पनि छ ।   पूजा पश्चात घरको ज्येष्ठ सदस्यलाई अन्यले क्रमशः ढोग्ने र आसिर्वाद लिने चलन हुन्छ । आसिर्वाद दिंदा कतैकतै टोटलाको फूल (कोको म्हेन्दो), र घिउको टिका लगाइने चलन पनि रहेको छ ।  त्यसपछि घरपरिवार खानपिन गर्ने र थप रमाइलोको लागि आफन्तकहाँ वा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरुमा सहभागि हुन जाने चलन रहेको छ ।  यसरी आफन्त साथिभाई भेटघाटमा जाँदा तामाङहरु ल्होछारला ज्याबाडान्बा र शेर्पा, तिब्बतीहरु ल्होसार टशिदेले भन्दै एकापसमा शुभकामाना आदानप्रदान गर्ने गर्दछन् । ल्होछारको लागि तयार पारिएको खाप्से र फलफुल धेरै दिनसम्म पनि आगन्तुक, आफन्त, पाहुनालाई प्रसाद र सत्कार स्वरुप खुवाउने चलन हुन्छ ।   ल्होछारको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो समुदायमात्र नभै अरु समुदायका साथिभाई, छिमेकीहरुलाई पनि निमण्त्रणा दिने र सबै मिलि पर्व मनाउने चलन बढ्दो छ ।  यसैलाई ध्यानमा दिई संघीय सरकार तथा स्थानीय निकायले सार्वजनिक विदा दिने समेत चलन छ ।   यस वर्ष विश्वव्यापी कोभिड महामारीको कारण ल्होछारमा बृहत सार्वजनिक कार्यक्रमहरु हुने छैनन् ।  तर सम्बन्धित समुदायले घरघरमा सुरक्षित तरिकाले ल्होछार मनाउने नै छन् ।  ल्होछार (नयाँ वर्ष) एवं बाघ वर्ष आगमनको शुभकामना । -लेखक अम्बर तामाङ