लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव : तीन महीनामा पनि पारितको टुङ्गो लागेन

वैशाख १९, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडेले गत माघ मै प्रस्ताव गरेको लाभांश पारितका लागि हालसम्म मिति तय गर्न सकेको छैन ।  कम्पनीले माघ २८ गते गत आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ९९ लाख ९० हजारको आधारमा कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले कुल लाभांशमध्ये ९ दशमलव ५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांशसहितको गत आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृति गराइसकेको कम्पनीले केहि प्राविधक कारण वार्षिक साधारण सभाको मिति तय गर्न नसकेको जानकारी दिएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बीमा समितिले वार्षिक साधारण सभाको बाटो खोलिदिए पनि पूँजीवृद्धिको योजनाका कारण केहि थप गृहकार्य बाँकी रहेकाले वार्षिक साधारण सभा गर्न ढिलाइ भइरहेको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण वार्षिक साधारण सभामार्फत पारित गर्न स्वीकृति प्रदान गरिसकेको बताए । कम्पनीले वार्षिक साधारण सभाका लागि समय थपको माग समितिमार्फत राखेको जानकारी समेत उनले दिए ।  आगामी दिनमा पूँजीवृद्धिका लागि आवश्यक विषयहरु थप गर्ने तयारीका लागि कम्पनीले वार्षिक साधारण सभाको मिति तय गर्न नसकेको अनुमान पौडेलले लगाए । यस वर्ष कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले जेठ २८ गते १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । गत वर्ष कोभिडको जोखिमका बिच कम्पनीले भर्चुअल माध्यमबाट उक्त सभा सम्पन्न गरेको थियो । कम्पनीको लाभांश वितरणको इतिहासलाई फर्केर हेर्दा १९ दशमलव १४ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७२/७३ को सञ्चित मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो ।  धितोपत्र दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य सोमवार प्रतिकित्ता रू. ६३० कायम भएको छ । यस दिन न्यूनतम रू. ६२५ दशमलव १० सम्म झरेको कम्पनीको शेयरमूल्य अधिकतम रू. ६४३ सम्म पुगेको थियो । यस दिन कम्पनीको रू. २३ लाख ८७ हजार बराबरको ३ हजार ७७५ कित्ता शेयर खरीदविक्री भएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने

१४ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । १३ मंसिर बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशत […]

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित लाभांशमध्ये चुक्ता पूंजीको ९.५२३८१% ले हुन आउने एघार करोड एकचालिस लाख असी हजार बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४७६१९% ले हुन आउने सन्ताउन्न लाख नौ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १० % लाभांश प्रस्ताव

वैशाख ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लुम्बिनी जनरलको १२.८२ प्रतिशत बोनस, गरिमा बिकासको १५ प्रतिशत बोनस

३ मंसिर, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले १३.४९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस पछि कमपनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्ने भएको छ । त्यस्तै, गरिमा …