धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द

धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिका कार्यालयले बताएको छ । शनिवार गरिएको पीसीआर परीक्षणमा नगरपालिका एक पुरुष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखापरेकाले संक्रमण फैलन रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । यो अवधिमा नगरपालिकाले प्रवाह गर्दै आएका प्राथमिक स्वास्थ्य सेवाहरू, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायत भने बन्द नहुने उनले बताए । धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले परीक्षा सञ्चालन भइरहेका विद्यालयमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले बताए । नगरका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

सम्बन्धित सामग्री

भीमदत्त नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द गर्ने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

स्याङ्जा – वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङको गह्रौँ प्राथमिक अस्पताल...