जलविद्युतबाट अधिकतम लाभ लिन सरकारले समयसापेक्ष नीति ल्याउनुपर्छ : अक्षय गोल्यान [अन्तरवार्ता]

सरकारले मुलुकमा औद्योगिक व्यावसायिक वातावरणमा धेरै सुधार भएको बताउँदै आए पनि निजीक्षेत्र विश्वस्त देखिँदैन । प्रोत्साहनमूलक नीतिको अभाव, जनशक्ति आपूर्तिमा समस्या, उच्च लागत लगायतका कारण उद्योग व्यवसायले अपेक्षित गति लिन नसकेको निजीक्षेत्रको गुनासो छ । यद्यपि चुनौतीकै बीच अवसरको पहिचान गर्दै लगानी गर्ने व्यावसायिक घराना पनि छन् । तिनैमध्ये एक हो गोल्यान समूह । यस समूहले बैंक तथा बीमा, उत्पादनमूलक उद्योग, होटल, कृषि, जलविद्युत् लगायत क्षेत्रका १६ ओटा कम्पनीमा लगानी गरेको छ । प्रस्तुत छ, नेपालको उद्योग व्यवसायका अवसर, सम्भावना, चुनौती र यस समूहले गरिरहेका कामबारे समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यानसँग आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सार : नेपालमा उद्योग व्यवसाय गर्न निकै कठिन छ, समस्या धेरै छन् भनिन्छ । तपाईंंको अनुभव चाहिं कस्तो छ ? मेरो विचारमा यसलाई एउटा पक्षबाट मात्र हेर्नुहुँदैन । एकाध समस्या हेर्ने हो भने नेपालमा उद्योग व्यवसाय गर्न गाह्रो नै छ । तर यसका सम्भाव्य अवसर र सम्भावना पनि हेर्नुपर्छ । अलिअलि कठिनाइ त नेपालमा मात्र होइन, संसारका जुनसुकै देशमा हुन्छन् । त्यो स्वाभाविक हो । तर मेरो अनुभवमा नेपाल जस्तो अवसर र सम्भावना भएको विश्वमा निकै कम छन् ।  नेपालमा सम्भावना र अवसर रहेको कुरा गर्नुभयो । त्यो कुन आधारमा, केलाई इंगित गरेर भन्नुभयो ? यो मैले कुनै उद्योग विशेषलाई हेरेर भनेको होइन । हाम्रो देश प्राकृतिक साधनस्रोतमा धनी रहेको सर्वविदितै छ । उदाहरणको रूपमा जलस्रोतलाई नै लिनसक्छौं । यही सम्भावना देखेरै हामीले ‘माटो’ ब्रान्डमा हिमालयन स्प्रिङ वाटर उत्पादन तथा बजारीकरण गरेका छौं । अहिले त रसुवा, हिमालयज अनटप लगायत ब्रान्डमा पनि उत्पादन गरिरहेका छौं । सोही अवसर सदुपयोग गर्दै नेपालबाट पानी पनि निर्यात गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गर्न सकेका छौं । ताजा र शुद्ध पानीको माग जहाँ जतिखेर पनि हुन्छ भनेर उत्पादन शुरू गरिएको हो । यस्तै स्वच्छ ऊर्जामा पनि उच्च सम्भावना छ । जलविद्युत् यसको प्रमुख स्रोत हो । यसबाट बढीभन्दा बढी लाभ लिन सरकारले समयसापेक्ष ऊर्जा नीति ल्याउनुपर्छ । सरकारले विद्युत् खरीदविक्री सम्झौता (पीपीए) लाई समयसापेक्ष गरिदिएमा जलविद्युत्मा लगानी बढ्न सक्छ । उत्पादित ऊर्जाको बाह्य बजार विस्तार गर्न सकिन्छ । सहज खालको नीति निर्माण गरी कार्यान्वयनमा ल्याएमा भारतसहित बंगलादेश र अन्य मुलुकमा समेत निर्यात गर्न सकिन्छ । यो भयो भने मुलुकको अर्थतन्त्रको विकास पनि छिटो हुन्छ । नेपालमा उद्योग, व्यवसायका लागि जनशक्ति आपूर्तिमा समस्या रहेको बताइन्छ । गोल्यान समूहले आफू मातहतका विभिन्न १६ ओटा कम्पनीमार्फत ५ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ । कसरी व्यवस्थापन गर्नुभएको छ ? कुनै पनि उद्योग वा कम्पनीले प्राविधिक जनशक्तिका लागि शुरुआती समयमा लगानी गर्नैपर्दछ । हामीले रिलायन्स स्पिनिङ मिल्स स्थापना गरेको २७ वर्ष हुन लाग्यो । यो उद्योगमा शुरूमा सबै जनशक्ति भारतबाट ल्याइएको हो । किनकि त्यतिबेला नेपालमा टेक्सटायलसम्बन्धी ज्ञान भएको जनशक्ति नै थिएन । हुन त आज पनि नेपालमा यसबारे पर्याप्त ज्ञान भएको जनशक्तिको कमी नै छ । उद्योग सञ्चालनकै लागि बिस्तारै तालीम केन्द्र सञ्चालन गर्‍यौं । तीन महीनाको तालीम दिएपछि नेपाली जनशक्तिको भर्ना शुरू गरेका हौं । नेपालको निजीक्षेत्रले उद्योग तथा कलकारखाना सञ्चालनका लागि प्राविधिक पक्षमा पनि लगानी गर्नुपर्दछ । स्वदेशकै श्रमशक्तिलाई प्राथमिकतामा राख्ने हो भने रोजगारी र तालीम/ प्रशिक्षण केन्द्र नै सञ्चालन गर्नुपर्दछ । हामीले यो कामको शुरुआत गरेकाले आज रिलायन्स स्पिनिङ मिल्सको श्रमिक तहका सबै जनशक्ति नेपाली नै छन् । कर्मचारी तहमा ६० प्रतिशत भारतीय र बाँकी नेपाली श्रमशक्ति कार्यरत छन् । उद्योगमा निरन्तर काम गर्ने कतिपय श्रमिक बढुवा भएर महाप्रबन्धकसम्म भइसकेका छन् । जनशक्ति तयार पार्ने काम सम्पूर्ण निजीक्षेत्रले गर्नुपर्छ जस्तो लाग्छ । इच्छाशक्ति भयो भने निजीक्षेत्रले कार्यशक्ति तयार पार्न नसक्ने पनि होइन । तर यसका लागि नीतिगत सहजता कायम गरिदिने दायित्व सरकारको हो । उद्योगमैत्री वातावरण तयार हुन सकेन र विद्यमान ऐन कानून तथा नीति पनि छिटोछिटो परिवर्तन भयो भने निजीक्षेत्र निरुत्साहित हुन्छ । त्यो अवस्थामा काम गर्न सकिँदैन । लगानी आकर्षित हुन सक्दैन । अवसर नै नभएपछि युवा जनशक्ति यत्तिकै बस्दैनन् । अन्ततः रोजगारीका लागि विदेशिन उनीहरू बाध्य हुन्छन् । उद्योग व्यवसायमा व्यवस्थित र आधुनिक कार्यप्रणाली लागू गर्ने प्रयासमा छौं ।  त्यसो भए सरकारको नीतिकै कारण नेपालको जनशक्ति पलायन भइरहेको हो त ? यो हुनुमा सरकारको नीति मात्र दोषी छैन । प्रमुख कारण यो भए पनि अन्य धेरै कारण छन् । हाम्रो ग्रूपले दुई–अढाई वर्षअघि मात्र ‘हाइड्रो डिभिजन’ शुरू गरेको हो । नेपालमा जलस्रोतको राम्रो सम्भावना देखेर जलविद्युत्मा लगानी विस्तार गरेका हौं । सरकारले पनि अब छिटोछिटो पीपीए गर्ला भनेर यो क्षेत्रमा प्रवेश गरेका थियौं । तर लामो अवधिसम्म पनि पीपीए भएको छैन  सरकारले यसमा बेवास्ता गरेकै कारण हाम्रो जलविद्युत्तर्फका ५–६ जना रोजगारीका लागि बाहिर गइसकेका छन् । नेपालमा काम छैन भने किन बस्ने भनेर उनीहरू बाहिरिएका हुन् । हुन त स्वेदशको कार्यशक्तिलाई टिकाइराख्न निजीक्षेत्रको पनि उत्तिकै दायित्व र महत्वपूर्ण भूमिका रहन्छ । कार्यानुभव भएका श्रमशक्ति टिकाइराख्न समयसापेक्ष तलब र पुनर्ताजगी तालीम पनि दिइरहनुपर्यो । यसका लागि लगानी बढाउनुपर्छ । त्यसपछि सरकारको नीति महत्वपूर्ण हुने नै भयो ।  हाम्रो युवाशक्तिमा अहिले विदेशिने होड देखिन्छ । स्वदेशमा अवसर नहुनु वा नदेख्नु यसको प्रमुख कारण हो । यहाँ कार्यरत संस्थाले समयसापेक्ष तलब दिएन भने वा काम तथा अनुभवको उचित मूल्यांकन गरेन भने पनि त्यो श्रमशक्ति टिकाइराख्न चुनौती हुन्छ । कसैले ठूलो रकम खर्चेर चार्टर्र्ड एकाउन्टेन्ट (सीए) वा एमबीबीएस गरेको छ भने स्वाभाविक रूपमा उसले राम्रो अवसर खोज्छ । त्यो अवस्थामा उसलाई स्वदेशमै टिकाउन सरकार र सम्बद्ध निजीक्षेत्रको ठूलो भूमिका हुन्छ । अर्को कुरा, निजीक्षेत्रको अहिलेको काम गर्ने तौरतरीका पनि पुरानै खालको छ । यसलाई परिमार्जन गर्नुपर्दछ । निजीक्षेत्रले सञ्चालन गरिरहेका कतिपय कम्पनीमा प्रबर्द्र्धकहरू नै सञ्चालक भएर काम गर्न खोजिरहेको अवस्था छ । यद्यपि अहिले यस्तो संरचना विस्तारै परिवर्तन हुन थालेको छ । गोल्यान ग्रूपले पनि यसमा परिवर्तन गरिरहेको छ ।  कम्पनीहरूका विभिन्न पदमा प्रवद्र्धकहरूको आधिपत्य हुनु हुँदैन । निजीक्षेत्रले प्रबन्धक, प्रमुख कार्यकारी अधिकृत वा अनुसन्धानकर्ता जति पनि राख्ने गरेका छन्, उनीहरूलाई स्वतन्त्र रूपले काम गर्न पनि दिनुपर्दछ । सबै काम प्रबर्द्धकले गर्ने हो भने उनीहरूको स्वतन्त्रता हनन हुन्छ । यो प्रवृत्तिमा सुधार हुनुपर्छ । यो संस्कृतिको विकास हामीले गरिसकेका छौं, अरूले पनि गर्न आवश्यक छ ।  तपाईंले विदेशमा अध्ययनसँगै काम पनि गर्नुभयो । त्यहाँ र यहाँ काम गर्ने तौरतरीकामा कत्तिको फरक रहेछ ? नेपाल बाहिर ८ वर्षजति बसेँ । मैले बाहिर बसेरै काम गरेको हुँ । विदेशमा दुई वर्ष काम गरेँ । काम गर्ने तौरतरीका चाहिँ त्यो देशको लिभिङ स्ट्याण्डर्डमा पनि भर पर्ने रहेछ । म अमेरिका, स्पेन र मध्यपूर्वमा बसें । ती देश विकसित छन् । तर हाम्रो देश विकासोन्मुख हो । त्यहाँको र यहाँको भौगोलिक तथा राजनीतिक स्थिति फरक छ । हाम्रो उद्योग व्यवसायको कार्यशैली धेरै कडाखालको परिश्रममा आधारित छ । तर त्यहाँ सबै काम मेशिन तथा उपकरणमार्फत हुन्छन् । त्यहाँ व्यवस्थित कार्यप्रणालीको विकास हुनुका साथै प्रविधि र अटोमेशनको प्रयोग बढी छ । प्रायः सबै कम्पनी इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) मा आधारित भइसकेका छन् । सबै काम सिस्टमबाट गरिन्छ । तर हामीकहाँ अधिकांश काम म्यानुअल हुन्छ । यसले गर्दा कर्मचारीले अन्य कुरा सिक्न र सोच्न पनि पाउँदैनन् । त्यसकारण हामी पनि व्यवस्थित र आधुनिक कार्यप्रणाली लागू गर्ने प्रयासमा छौं । प्रविधिमा आधारित कार्यशैली अपनाउन खोजिरहेका छौं । नेपालमा कार्यरत जनशक्तिले कडा परिश्रम गर्छन्, तर उनीहरूमा ‘क्रिएटिभ आइडिया’ कमजोर छ भन्न खोज्नुभएको हो ? म्यानुअल सिस्टम र कडा परिश्रमका कारण हाम्रो जनशिक्तले क्रिएटिभ आइडियाबारे सोच्न समेत पाएका छैनन् । हाम्रो क्रिएटिभ आइडिया कमजोर छैन । तर कार्यशक्तिले यसमा लाग्न समय नै पाइरहेको छैन । हामीले कार्यस्थलमा आठघण्टे कार्यावधिको अधिकतम सदुपयोग गर्न सकिरहेका छैनौं । मुख्यतः पुरानो प्रणाली र संरचना परिमार्जन गर्नै सकेनौं । पहिलेको तुलनामा यसलाई सुधार गर्ने प्रयास भने भइरहेको छ । दुई–तीन वर्षमा सुधार होला । यसमा हाम्रो शिक्षा प्रणालीको कमजोरी पनि जिम्मेवार छ जस्तो लाग्छ । माध्यमिक तहपछि जुन खालको पाठ्यक्रम र त्यसबाट हाम्रो जनशक्तिमा जुन स्तरको सिकाइ हुनुपर्ने हो, त्यो सामान्यतया कार्यक्षेत्रमा देखिँदैन । हाम्रो सिकाइ प्रयोगात्मक अभ्यास, समहूगत कार्य तथा समस्या समाधानमुखी छैन । यो नभएकाले २०–२२ वर्षका युवायुवती जब नोकरीमा आबद्ध हुन्छन्, तब उनीहरू हतोत्साहित हुन्छन् । किनभने उनीहरूमा न केही अनुभव हुन्छ, न त काम गर्न सक्ने आत्मविश्वास । यो सबै विद्यमान शिक्षा प्रणालीकै दोष हो भन्ने ठानेको छु । माध्यमिक तहपछिको शिक्षा प्रणालीमा दोष छ भन्नुभयो । विदेशमा त नेपाली युवायुवतीले राम्रो पनि गरेका छन् नि ।  मैले यहाँ कलेज पढेर गएका युवायुवतीले राम्रो गरेका छैनन् भन्न खोजेको होइन, कन्फिडेन्स र एक्सपोजरको कुरा मात्र गरेको हुँ । हुन त मानिसले चाह्यो भने नसिक्ने र गर्न नसक्ने भन्ने छैन । म जब अमेरिकाबाट कलेज सकेर आएँ, त्यतिखेर पनि हाम्रै गोल्यान ग्रूपमा हुनुपर्ने खालको संरचना नै थिएन । मैले केही वर्ष स्पेनमा पनि काम गरेँ । त्यहाँका जनशक्तिमा काम गर्ने शैली र सोच नै उच्चस्तरको हुन्थ्यो । जब बिदामा फर्केर यहाँ (गोल्यान ग्रूपमा) हेरें, तर यहाँ निकै फरक पाएँ । सिस्टमले पनि काम गर्ने शैलीमा फरक पार्दोरहेछ । हाम्रो कार्यशैलीमा समस्या हुँदा उद्योग व्यवसाय अघि बढाउनै चुनौतीपूर्ण देखियो नि, होइन ? जनशक्ति र कार्यशैलीमा भएको समस्याले शुरुआती समयमा मात्र गाह्रो हुने हो । बिस्तारै यो सहज हुँदै जान्छ । कुनै व्यक्तिले ५–१० वर्ष काम गरेपछि उसको अनुभव तथा आत्मविश्वास बढिहाल्छ । त्यसपछि उसलाई कुनै समस्या हुँदैन । नेपालमा दक्ष जनशक्तिकै कारण धेरै व्यावसायिक घरानाले राम्रो प्रगति र सफलता हासिल गरेका धेरै उदाहरण पनि छन् । यो त कम्पनी सञ्चालकले गरेको नभई जनशक्तिबाटै सम्भव भएको हो । मेरो विचारमा कम्पनीका प्रवद्र्धक, सञ्चालक वा प्रमुख कार्यकारी एक्लैले केही गर्न पनि सक्दैन । सफलता दिलाउने कार्यशक्तिले नै हो ।  त्यसो भए, यी सबै अनुभवले अहिले गोल्यान ग्रूपलाई अरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छैन ? प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो । प्रतिस्पर्धा कहाँ छैन र ? प्रतिस्पर्धा गाह्रो नै हुन्छ । तर त्यो हुनुपर्दछ । हाम्रो ग्रूपमा अहिले चारओटा क्षेत्रमा संलग्न छ । तर मेरो विचारमा हामीले जसरी कृषिमा अहिलेसम्म निजीक्षेत्र कसैले पनि ठूलो लगानी गरेको छैन । त्यसो त कृषिमा आफ्नै खालका कठिनाइ र बाध्यता रहेछन् । रिलायन्स स्पिनिङ (धागो उद्योग) ले पनि प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले अबको केही समयपछि आईपीओ पनि ल्याउँदै छ । उद्योगको क्षमता विस्तारका लागि जापानबाट अत्याधुनिक प्रविधिका उपकरण ल्याइसकेका छौं । अरू दुई–तीन ओटा धागो उद्योगसँग हाम्रो प्रतिस्पर्धा भइरहेको हुन्छ । तर त्यो स्वस्थ प्रतिस्पर्धा हो । हामीले ती उद्योगीबाट पनि दैनिक रूपमा सिकिरहेका हुन्छौं, हामीबाट पनि उनीहरूले सिकिरहेका हुन्छन् । मेरो बुवा (पवन गोल्यान) को नेतृत्वमा बसेर हामीले कसरी अघि बढ्ने भनेर सरसल्लाह र छलफल गरिरहेका हुन्छौं । हामीले होटल क्षेत्रमा पनि प्रतिस्पर्धी रूपमा काम गरिरहेका छौं । प्रतिस्पर्धाले नै उत्पादन र गुणस्तरमा सुधार ल्याउँदछ । यो भयो भने सेवा र जनशक्तिको गुणस्तरमा पनि सुधार आउँछ । तपाईंहरूले आफ्ना व्यावसायिक प्रतिष्ठानमा स्वदेशकै जनशक्तिलाई प्रयोग गरिरहनु भएको छ होइन ? गोल्यान ग्रूपको कुरा गर्दा कर्पोरेट अफिसमा मात्रै करीब १२० को हाराहारीमा जनशक्ति कार्यरत हुनुहुन्छ । यसमा पनि ८५ देखि ९० प्रतिशत त नेपाली नागरिक नै छन् । अलि फरक प्रसंगमा कुरा गरौं । पछिल्लो समय गोल्यान ग्रूप हाइड्रो तथा नवीकरणीय ऊर्जातर्फ अगाडि बढेको जस्तो देखिन्छ । यसमा त प्राविधिक ज्ञान भएको जनशक्ति पनि चाहिन्छ होला नि, होइन र ? यसको कुरा गर्ने हो भने नेपालमा त्यो प्राविधिक ज्ञान भएको जनशक्ति नभएको होइन । जस्तो हामीले सञ्चालनमा ल्याएको हाइड्रोमा प्रमुख कार्यकारी अधिकृत नेपाली नै हुनुहुन्छ । उहाँले धेरै ओटा प्रोजेक्टमा काम पनि गरिसक्नु भएको छ । धेरै अनुभव पनि छ । समग्रमा भन्नुपर्दा अहिलेसम्म नेपालमा हाइड्रोका धेरै ओटा प्रोजेक्ट सम्पन्न पनि भइसकेका छन् । यसले सफलता पनि पाइरहेको अवस्था छ । अझै यो क्षेत्रका धेरै ओटा प्रोजेक्टहरू निर्माणाधीन छन् । त्यसकारण धेरै नेपाली जनशक्तिमा विशेषतः हाइड्रोमा धेरै ज्ञान रहेको छ । तर त्यस्तो खालको ज्ञान सोलार इनर्जी (नवकरणीय ऊर्जा) मा भने छैन । यसमा पनि भइदिएको भए अझ राम्रो हुने थियो । यसको प्रोजेक्ट म्यानेजर (पीएम) चाहिँ भारतीय नागरिक हुनुहुन्छ । हामीले नेपालमा सौर्य ऊर्जालाई कसरी अगाडि बढाउने भनेर अध्ययन अनुसन्धान तथा प्रयोग पनि गरिरहेका छौं । यसका लागि चाहिने जनशक्ति हामी आफैंले प्राक्टिकल रूपमा तयार पार्ने गरी काम पनि गरिरहेका छौं । नेपालमा हाइड्रोजस्तो गरी अगाडि आएको क्षेत्र ऊर्जा होइन । सोलार इनर्जीबारे नेपालमा पाँच–छ वर्ष अगाडिदेखि मात्र चर्चापरिचर्चा शुरू भएको हो । त्यसकारण हामीले केही सम्भावना देखेर यसमा काम गरिरहेका छौं ।  नेपालको व्यवसायको इतिहास हेर्ने हो भने अधिकांश व्यापारिक घरानाले उत्पादनभन्दा पनि ट्रेडिङलाई जोड दिएको जस्तो देखिन्छ । तर गोल्यान ग्रूपले चाहिँ उत्पादनलाई प्राथमिकता दिएको देखिन्छ । यो अरुको तुलनामा संयोग त होइन ? नेपालको व्यावसायिक इतिहासको कुरा गर्न म त्यति योग्य छु जस्तो लाग्दैन । किनभने म यो क्षेत्रमा आएको धेरै वर्ष पनि भएको छैन । म गोल्यान ग्रूपमा प्रवेश गर्नुभन्दा अघि नै अर्थात् १०–१२ वर्ष अघि मेरो बुवा र दाजुहरूले नेतृत्व गरिरहेको समयमा एउटा ब्रान्डसँग मिलेर ट्रेडिङ गर्ने अवसर आएको रहेछ । तर त्यतिबेला नै मेरा अग्रजहरूले अब ट्रेडिङमा नजाने बरु उत्पादनमै केन्द्रित भएर अगाडि बढ्ने भनेर निर्णय गर्नुभएको रहेछ । चार–पाँच वर्षअघि नै हाम्रो सञ्चालक समितिको मिटिङले पनि अबका दिनमा ट्रेडिङमा नजाने भनेर निर्णय गरिसकेको छ । मुुलुकमा आफ्नो नामका लागि भए पनि केही गर्नुपर्छ, मुलुकका लागि केही दिनु पर्दछ भन्ने ठानेर दिगो हुने खालका उद्योगमा मात्र काम गर्ने भनेर यो निर्णय गरेका थियौं । उद्योग तथा कलकारखाना, जलविद्युत् आयोजना, सौर्य ऊर्जा योजना र होटलहरू दीर्घकालका लागि जोडिएका छन् । यो क्षेत्रसँग हाम्रो नाम मात्र जोडिएको छैन, विरासत पनि जोडिएको छ । हाम्रो इतिहास पनि जोडिन्छ । किन कि आशा गरौं, हामी नरह“दा पनि यी आयोजना तथा व्यवसाय निरन्तर चलिरहन्छन् नै । निजीक्षेत्रको अहिलेको काम गर्ने तौरतरीका पुरानै खालको छ । यसमा परिमार्जनको खाँचो छ ।    भनेपछि पहिलादेखि नै गोल्यान ग्रूपको जोड ट्रेडिङ नभएर उत्पादननर्फ नै केन्द्रित थियो ? हो, पहिलादेखि नै हाम्रो जोड उत्पादनतर्फ नै थियो । संयोग मात्र होइन, अवस्था र बाध्यताले नै हामीले यसतर्फ डोर्‍याएको हो । तर नेपालका लागि र हाम्रा लागि राम्रै अवसर छ है भन्ने देखियो भने ट्रेडिङमा पनि जान सकिन्छ । नजाने भन्ने हुँदैन । यद्यपि नर्मल ट्रेडिङमा जाने सोच चाहिँ छैन । इच्छा पनि छैन । अनि अर्को कुरा, ट्रेडिङले कार्यशक्तिलाई सक्रिय बनाउन सहयोग चाहिं गर्दै गर्दैन । अहिलेको परिप्रेक्ष्यमा हामीलाई चाहिएको त अनुभवी र क्रियटिभ आइडिया भएको वर्कफोर्स नै हो । त्यसकारण ट्रेडिङबाट यो कुरा सम्भव हुँदैन र छैन पनि । यसले त एकाउन्ट र विक्रीवितरणको कुरालाई मात्र प्राथमिकतामा राखेको हुन्छ । यसले प्रस्पिर्धात्मक बिजनेश माइन्ड बनाउन मद्दत पनि गर्दैन । हुन त हाम्रै ग्रूपको ट्रेडिङ पनि मैले नै हेरिरहेको छु । बिजनेश मोडलबारे ज्ञान पनि छ, तैपनि हाम्रो समग्र टिम नै प्रतिस्पर्धामा काम गर्न रुचाउँछ ।  नेपालमा ट्रेडिङ गरेर सजिलै पैसा कमाउन सकिन्छ भन्नेहरू पनि छन् । तपाईंलाई कहिलेकाहीँ ट्रेडिङ गरेको भए हुने रहेछ भन्ने लाग्दैन ? पैसा कति कमाएपछि पुग्छ भन्ने प्रश्नको जवाफ आजसम्म कसैले दिएको पाइँदैन । यो त पक्कै पनि फिलोसोफीमा आधारित हुन्छ होला । कति कमाउने त पैसा भन्ने जवाफ इजी मनीतर्फ अग्रसर भएका व्यक्तिले पनि दिन सक्दैनन्् । इजी मनी प्राप्त गर्न कोभिडको समयमा धेरैले प्रयास पनि नगरेका होइनन् । तर हामी प्यासनका लागि केही गरौं भन्ने उद्देश्यका साथ उद्योग व्यवसायमा अगाडि बढेका हौं । हाम्रो उद्देश्य फरक खालको छ ।  उत्पादनमा जोड दिइरहेको गोल्यान समूहको पछिल्लो समय व्यसायलाई विविधीकरण गरिरहेको देखिन्छ । किन ? यो अत्यन्त राम्रो र सान्दर्भिक प्रश्न हो भन्ने लाग्छ । मैले पनि मेरो अध्यक्ष तथा बुवा र अग्रजहरूलाई बारम्बार यही प्रश्न गर्थें । मेरो पनि सधैं प्रश्न हुन्थ्यो, एउटै क्षेत्रमा ठूलो स्केलमा लगानी गरेर काम गरे भइहाल्थ्यो नि, किन यति धेरै क्षेत्रमा व्यवसाय विविधीकरण गर्नु परेको भनेर । उहाँहरूको जवाफ हुन्थ्यो, प्रतिस्पर्धा नै वास्तविक जीवनको अनुभव पनि हो । कुनै क्षेत्रको उद्योग डुब्यो भयो वा विस्तारै घटाउनुपर्यो वा अगाडि बढ्नुपर्यो भने ब्याकअप त चाहिन्छ नै । हामीले स्पष्टसँग भनेका छौं, हामी अब र्यान्डम बिजनेशमा जाँदैनौं, हाम्रो ध्यान नै उत्पादनमा केन्द्रित हुन्छ । हामीले ठूलो स्केलमा रिलाइन्स स्पिनिङमा लगानी वृद्धि गरिरहेका छौं । हामीले यसमा राम्रो र अत्याधुनिक प्रविधिहरू भित्र्याएका छौं । शिवम् प्लाष्टिकमा पनि लगानी बढिरहेको छ । ट्राइकोटमा पनि लगानी वृद्धि गर्ने योजना भइरहेको छ । अहिले हामी जुनजुन इन्डस्ट्रीमा छौं, त्यसमा नै केन्द्रित भएर अगाडि बढ्ने योजना छ । यसैमा अगाडि बढ्ने सोच छ । होटल क्षेत्रमा त यसअगाडि नै एउटा होटल सञ्चालनमा आइसकेको छ । अरू दुईओटा होटल सञ्चालन गर्ने लक्ष्यका साथ अध्ययन भइरहेको छ । नेपालमा कृषिमा अपार सम्भावना छ भनेर नै मेरो बुवाले अगाडि बढाएको योजनामा केन्द्रित छौं । जलविद्युत् र सौर्य ऊर्जाबारे त यसअघि नै बताइसकें । फरक फरक खालका इन्डस्ट्रीबाटै नेपालका लागि चाहिने फरक फरक खालका जनशक्ति उत्पादन गर्ने काम पनि भइरहेको छ । भन्नुको अर्थ, हामीले पैसाका लागि मात्र होइन केही सिक्न र दिनको लागि पनि काम गरिरहेका छौं ।   यसको व्यवस्थापनका लागि कसरी काम गरिरहनुभएको छ ? यसका लागि त हामीले धेरै वर्षदेखि तयारी पनि गरिरहेका छौं । यसको संरचना बनाउनेदेखि लिंक कसरी बढाउने, व्यावसायिक संरचना कस्तो बनाउने लगायत विविध क्षेत्रबारे कार्य योजना पनि बनाएका छौं । हरेक क्षेत्रमा अलग अलग सीईओ कार्यरत हुनुहुन्छ । सबै क्षेत्रको अलग अलग काम भए तापनि बिजनेश टिम एकदमै सहयोगी छ । कतिपय कामहरू केन्द्रीकृत छन् भने अरू धेरै काम उत्पादनस्थल र कार्यस्थलबाट भइरहेका हुन्छन् ।  जनशक्ति तयार पार्ने काम निजीक्षेत्रले गर्नुपर्छ । सरकारले यसमा नीतिगत सहजता कायम गरिदिनुपर्छ । उद्योग व्यवसायमा सफलता पाएको गोल्यान समूहले पछिल्लो समय कृषि र जलविद्युत्मा लगानी बढाएको छ । तर कतिपयले यो क्षेत्र निकै जोखिमपूर्ण छ भनिरहेका छन् । यस्तो खालको चुनौती कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ? सबैभन्दा पहिला म कृषिको कुरा गर्न चाहन्छु । नेपालको कृषि क्षेत्रको डेटा नै छैन । किनभने निजीक्षेत्रले यसमा ठूलो परिमाणमा अहिलेसम्म लगानी गरेको पनि देखिँदैन र छैन पनि । समग्र कृषिको डेटा पनि नभएको सन्दर्भमा भोलिका दिनमा के हुन्छ यसै भन्न सकिने अवस्था छैन । तर इमानदारीका साथ हामी के भन्छौं भने हामीले गरेको यो काम नेपाल र नेपालीका लागि नै हो । कुनै पनि सार्वभौम मुलुकका लागि खाद्य सुरक्षा महत्वपूर्ण विषय हो । ३०–४० वर्षअघि हाम्रो देशको अर्थतन्त्र कृषि प्रणालीमा आधारित थियो, तर अहिले त्यस्तो अवस्था छैन । बसाइसराइँ हुने क्रम पनि तीव्र रूपमा बढेको छ । कृषिमा आम्दानी हुन नसकेपछि युवा जनशक्ति अन्य आयआर्जनका अरू क्षेत्रमा लागेका छन् । यस्तो अवस्था देखेर कृषिमा केही गरौं भन्ने उद्देश्यले हामीले काम शुरू गरेका हौं । कृषिको दिगो विकास गर्न र खाद्य सुरक्षालाई दृष्टिगत गर्दै हामीले धेरै लक्षित समूहलाई जोड्ने प्रयास गरिरहेका छौं । निश्चित रूपमा कृषिमा जोखिम चाहिँ छ । तर सफलता हासिल गर्न सकियो भने नेपालको कृषिक्षेत्रले फड्को मार्न सक्दछ । नेपालीले भोकै बस्नुपर्ने अवस्था पनि आउ“दैन । यो हामीले गरेको प्रयास नेपालका लागि नै रोल मोडल हुन सक्दछ । यदि यो सफल भयो भने मोडल कम्पनी हुन्छ । यसपछि अरू कम्पनीहरू स्वाभाविक रूपमा यस क्षेत्रमा अगाडि आउ“छन् । हामीले अहिले त लगानी गरेर प्रयास मात्र गरेका हौं । अर्को कुरा जहाँसम्म जलविद्युत्मा जोखिमको कुरा गर्नुभयो, मेरो विचारमा यसमा चाहिँ जोखिम छैन । पीपीए भएन वा सरकारले अरु पनि सहजीकरण गरिदिएन भने चाहिँ स्वाभाविक रूपमा जोखिम हुन्छ नै । यदि प्रभावकारी र दिगो नीति आयो भने जलविद्युत्मा राम्रो सम्भावना छ । त्यही भएर हामीले विदेशी कम्पनीसँग सहयोग एवं परामर्श लिएर भए पनि जलविद्युत् परियोजनामा काम अगाडि बढाइरहेका छौं ।  त्यसो भए भविष्यमा हाइड्रोले बजार पाउँछ भन्ने देखेर नै तपाईंहरू यसतर्फ अगाडि बढ्नुभएको हो ? मैले यसअघि पनि पीपीएलाई जोड दिनुप¥यो भनेको छु । किनभने पीपीए भएन भने अगाडि बढ्न पनि गाह्रो हुन्छ । निजीक्षेत्रले उत्पादन गरको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्न सक्दैन भने नेपाल सरकारले पावर कम्पनी खडा गर्नुप¥यो । हामीले यसमार्फत पनि विद्युत् विक्री गर्न सक्दछौं । भारत वा अरू देशमा पनि ह्वीलिङमार्फत विक्री गर्न सक्दछौं । यसमा धेरै पक्ष र सम्भावनाहरू छन् । ऊर्जाको उपभोग र खपत घट्ने अवस्था देखिँदैन, बढ्दै जान्छ । नेपालमै विद्युतीय सवारीसाधन पनि दिनप्रतिदिन आइरहेको अवस्था छ । अझ उद्योगधन्दा र कलकारखाना बढ्यो भने झनै यसको महत्व र उपादेयता बढेर जान्छ । त्यसमा पनि हामीले जति र जुन रूपमा हाइड्रो र सोलारबाट विद्युत् उत्पादन गर्न सक्छौं, त्यसलाई निर्यात गर्न सक्दछौं । यसका लागि सरकारले नीति मात्र निर्माण गरिदिए पनि पुग्ने अवस्था छ । पारिवारिक विरासत बोकेको गोल्यान समूहलाई अहिले नयाँ पुस्ताले नेतृत्व गरिरहनु भएको छ । यसले अबका दिनमा पारिवारिक विरासतमै काम गर्छ कि फरक ढंगले काम गर्ला ? नयाँ सोचहरू पनि छन् ? हाम्रो पारिवारिक व्यवसाय छँदै छ । त्यो त म भए पनि, नभए पनि स्वाभाविक रूपमा आउने नै भयो । तर म आज जुन पोजिसनमा आएको छु । त्यो पोजिसनमा नयाँ खालको व्यक्तित्व आएपछि निश्चित रूपमा फरक खालको सोचलाई प्रस्फुटन गर्नैपर्दछ । हुन त विभिन्न व्यक्तिको काम गर्ने तौरतरीका, सोच पनि फरक फरक खालको हुन्छ । ममा त्यस्तो खालको नयाँ खालको अनुभव केही नभए तापनि हौसलाका साथ काम गर्ने, टिमवर्क बनाउने, वर्क प्लानमा विश्वास गर्ने अनि संगठित भएर निरन्तर आशा र विश्वासका साथ लागिरहने प्रवृत्ति छ । एकदिन ब्रान्डलाई सबैसामु परिचित बनाउने सोच छ ।  अहिले गोल्यान ग्रूपले १६ ओटा कम्पनी सञ्चालन गरिरहेको छ । अरू पनि थप्ने योजनामा हुनुहुन्छ ? यसबारे अध्ययन भइरहेको छ । सम्भावना र अवसर देखियो भने थप्न सकिन्छ ।  अन्त्यमा, हामीले सोध्न बाँकी रहेको र तपाईंलाई पनि भन्न मन लागेको कुरा भए बताइदिनुस् न । हामी अहिलेसम्म जसरी अगाडि बढिरहेका छौं, त्यो देख्दा खुशी लाग्छ । नेपाल र नेपालीका लागि हामीले व्यवसायको माध्यमबाट केही न केही भए पनि योगदान गरिरहेका छौं भन्न पाउँदा खुशी लाग्छ । अझै पनि हाम्रोतर्फबाट देशका लागि गर्छौं नै । यसका लागि हाम्रो प्रयास निरन्तर जारी छ । हाम्रो कम्पनीमा मात्र होइन नेपालमा धेरै अवसरहरू छन् । सिकाइ पनि हुन्छ, वृत्ति विकास पनि हुन्छ, स्वदेशमा बसेर काम गर्नुको मजा अलग हुने हुनाले कोही पनि युवाले कामका लागि बाहिर जानु पर्दैन । जानैपर्ने बाध्यता कसैले पनि सृजना गर्नु हुँदैन । यहीं आयआर्जनका कामहरू गर्न सकिने भएकाले विभिन्न अवसरहरू स्वदेशमै छन् । नेपालको श्रम, शीपलाई नेपालमै सदुपयोग गरौं भन्न चाहन्छु । यसका लागि हामीले अलिकति मेहनत किन गर्नु नपरोस् । हामीले स्वेदश अनि परिवारसँग बसेर आफ्नो देशको विकासमा योगदान गर्नु पर्दछ । युवा वर्गलाई म यही आह्वान गर्न चाहन्छु । (विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal  मा जान सक्नुहुनेछ ।)

सम्बन्धित सामग्री

आम जनतालाई नैराश्यताबाट बाहिर ल्याउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न्पर्नेमा जोड दिए । उनले भने,‘क्लब […]

‘चियालाई पनि जुसको रुपमा बजारमा ल्याउनुपर्छ’

इलाम । नेपाली चियालाई पकाएर पिउन मात्र नभइ जुसको रुपमा प्रयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन । चियाको पत्तिलाई प्रसोधन गरी जुसको रुपमा जुनसुकै ठाउँमा प्रयोग गर्न सकिने बनाउनु पर्ने बताएका हुन । गुणस्तरीय चिया बनाउने अभियानमा २८ वर्षदेखि काम गरिरहेका सोनाम पाल्जोर लामाले चियालाई पेयको रुपमा मात्र नभई अन्य परिकारको रुपमा बजारमा निकाल्नुपर्ने बताए । […] The post ‘चियालाई पनि जुसको रुपमा बजारमा ल्याउनुपर्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसकारण भूमाफिया हरि गिरीलाई सीआईबीको छानबिन दायरामा ल्याउनुपर्छ

सुनिल सापकोटा – काठमाडौं, १५ असार । २०२२ सालको नापीनक्सा अनुसार अनामनगर हुँदै धोबीखोला बग्थ्यो । साबिक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ को १४३ नम्बर कित्तामा २३ रोपनी जग्गा धोबीखोलाले चर्चेको देखिन्छ । समयक्रमसँगै धोबीखोलाले धार परिवर्तन गर्‍यो । १४३ नम्बर कित्ताको धोबीखोलाको २३ रोपनी सरकारी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३२ […]

बालेनलाई कानुनी दायरामा ल्याउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले गत शनिबार संखुवासभामा गएको अल्कपनीय बाढीपहिरोका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । ‘गत शनिबार गएको बाढीपहिरोले कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथरमा क्षति पुगेको छ । त्यसमा पनि सबैभन्दा बढी संखुवासभामा १७ जना मानिस बेपत्ता भएका छन् । खोलामा […]

अरू हाई प्रोफाइललाई पनि छानबिनमा ल्याउनुपर्छ : सांसद खतिवडा

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतलाई तत्काल छानबिनमा ल्याउन सरकारलाई घचघच्याएका छन् । ‘हिजो सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार एवं स्वकीय सचिव, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको परिवार, संवैधानिक निकायका प्रमुख, नेता नजिकका केही […]

‘सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी ‘तेस्रो सहकारी सम्मेलन’मा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको छ भने । मानव विकास […]

वित्तीय साक्षरतामा नेपाली ‘फेल’

वित्तीय साक्षरतामा उत्तीर्ण हुन न्यूनतम ६६% अंक ल्याउनुपर्छ, तर राष्ट्र बैंकको सर्वेक्षणमा नेपालीको प्राप्त औसत अंक ५७.९% मात्रै नेपाली नागरिकको समग्र वित्तीय साक्षरता अत्यन्त कमजोर देखिएको छ । पछिल्लो समय नेपालमा वित्तीय...

‘क्रिप्टो कारोबारलाई पनि राजस्वको दायरामा ल्याउनुपर्छ’

१३ फागुन, काठमाडौं । ‘घरजग्गा र क्रिप्टो कारोबारलाई बजेटमार्फत राजस्वको दायरामा ल्याउनुपर्छ’१३ फागुन, काठमाडौं । नेपाल राजस्व पारमर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले घरजग्गा र कि्रप्टो कारोबारलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालय अन्तरगतको नेपाल राजश्व परामर्श समितिले संयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो […]

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’...

‘पर्यटन क्षेत्रमा सरकारले अविलम्ब राहत प्याकेज ल्याउनुपर्छ’

रामप्रसाद बञ्जारा : काठमाडौं, २६ बैशाख । मुलुक यतिवेला कोरोना महाव्याधीसँग जुधिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा सरकारले पूर्ण तथा आंशिक निषेधाज्ञा लागु गरेको छ । कोरोना संक्रमणको उच्च जोखिममा नेपाल परिसकेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित थपिएका छन् । त्यस्तै, दैनिक ५० भन्दा बढिले ज्यान गुमाएका समाचार छन् । आजमात्रै पछिल्लो […]