काठमाडौं (अस) । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् ।
११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक रहे पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक र बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने ।
नेपाल प्रहरीका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए । बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे ।
काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडे । मेजर जनरल नरेन्द्र रावलले ३९ अंकसहित ६० वर्षमाथि उमेर समूहको उपाधि जिते ।
दोस्रो स्थानमा भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए । महिलातर्फको उपाधि ३८ अंकका साथ प्रतिभा राईले जितिन् । दोस्रो स्थानमा श्मिरा शाहले ३७ अंक जोडिन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिम्खडाले ३७ अंक जोड्दै उपाधि जिते । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दीपिनको उपाधि जिते ।
त्यस्तै, लंगेस्ट ड्राइभको उपाधि दाबा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए । नेपालमा हुन्डाई कारको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
प्रतियोगिता १८ होलमा खेलाइएको थियो । १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए ।