मौद्रिक नीतिको केहि ब्यबस्थाले बैंकमा गरिएको लगानीको प्रतिफलमा संकुचन आउँछ : सिबिफिन

वाणिज्य बैंकहरुका संचालकहरुको संगठन  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।  परिसंघले आफुले दिएका अधिकांश सुझावहरु कार्यन्वयन गरिएकोमा राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ । तर केहि ब्यबस्थाले भने बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन जाने परिसंघले जनाएको छ । बैकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन (घटाइएको अवस्थामा) गरी गरिने व्यवस्था, कर्जा प्रवाहको सीमामा संकुचन जस्ता विषयहरुले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतिपूर्ण हुने देखिएको परिसंघले जनाएको छ ।   देशको अर्थतन्त्रको धरातलीय यथार्थ र अध्ययन–अनुसन्धानका आधारमा तय गरी सिबिफिनले बुझाएका तर मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्वपूर्ण सुझावहरु आगामी नीति तथा निर्देशनमार्फत सम्बोधन हुने विश्वास सिबिफिनले लिएको छ । मौद्रिक नीतिमा तय गरिएका व्यवस्थाहरुको व्यवहारिक कार्यान्वयन, अंगिकार गरिएका मौद्रिक औजारहरुको समुचित प्रयोग र चुनौतीपूर्ण देखिएका विषयहरुमा आगामी एकिकृत निर्देशनमार्फत थप सहजीकरण गरिने र सरलीकृत बनाइने अपेक्षा व्यक्त गर्दै, जारी मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि सहकार्य गर्न सम्पूर्ण सरोकारवाला पक्षहरुसँग सिबिफिनले  आग्रह गरेको छ। यस्तो छ सिबिफिनको धारणा :  कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र वर्तमान अर्थतन्त्रको परिसूचकहरु, आ.व. २०७९÷८० को वित्तीय नीतिले लिएका लक्ष्य र आम जनताको अपेक्षा समेतलाई विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति जारी गरेको छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक दिशातर्फ उन्मूख हुँदै गर्दा नेपालको अर्थतन्त्र असहज बनिरहेको वर्तमान अवस्थालाई सहज बनाउनका लागि आर्थिक एवं वित्तीय स्थिरता कायम गर्न र खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउनका लागि समय सान्दर्भिक नीतिहरु मौद्रिक नीतिले अवलम्बन गरेको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको मौद्रिक नीति समग्रतामा सकारात्मक रहेतापनि वर्तमान अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएको मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतिपूर्ण हुने सिबिफिनले ठहर गरेको छ । देशको वर्तमान असहज आर्थिक अवस्थालाई सहज, स्थायी र गतिशील बनाइराख्नका लागि मौद्रिक नीतिले अवलम्बन गर्ने मौद्रिक उपकरणहरुका विषयमा आमरुपमा निकै चासो, अपेक्षा र उत्सुकतासाथ हेरिएको सन्दर्भमा जारी भएको मौद्रिक नीतिमा सिबिफिनले पेश गरेका धेरै महत्वपूर्ण विषयहरु सम्बोधन भइ आएकोमा नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गर्दछौ ।सिबिफिनले प्रत्यक्ष तथा लिखितरुपमा सुझाएका सुझावहरुमध्ये बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने, निर्यात प्रवद्र्धनमा विशेष प्राथमिकता दिइने, विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यसै वर्ष समन्वय हुने, विदेशी लगानी आप्रवाहलाई थप स्वचालित गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गरिने, नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न विप्रेषणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने, विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने जस्ता व्यवस्थाहरु रहेका छन् । त्यसैगरी साना, घरेलु, लघु तथा मध्यम उद्यमहरूको लागि कर्जा पहुँचमा अभिवृद्धि, कृषिलगायतका उत्पादनशील क्षेत्र, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनर्कर्जाको निरन्तरता, ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिइने, बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिंदा शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाको खारेजी, बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरको अवसर र छुट, कर्जा केन्द्रिकरणको अवस्थाको पुनरावलोकन हुने र डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायरा वृद्धिमा जोड दिने जस्ता सिबिफिनका सुझावहरु समेटिनुले संकुचित बनेको अर्थतन्त्रको पुर्नवहालीका लागि महत्वपूर्ण टेवा पुग्ने सिबिफिनले विश्वास लिएको छ । बाह्य क्षेत्रका विविध घटनाक्रमको कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको अवस्थामा आर्थिक स्थिरता कायम गर्न, मूल्यवृद्धि सीमाभित्र राख्न, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, भुक्तानी सन्तुलन कायम गर्न, कमजोर उत्पादन प्रणालीका कारण चुलिदो आयातलाई प्रतिस्थापन गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन चुनौती खडा गरिरहेको छ । यस्तो सन्दर्भमा बैकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन (घटाइएको अवस्थामा) गरी गरिने व्यवस्था, कर्जा प्रवाहको सीमामा संकुचन जस्ता विषयहरुले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतिपूर्ण हुने देखिएको छ । यसबाट बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन जाने सहजै अनुमान गर्न सकिन्छ ।देशको अर्थतन्त्रको धरातलीय यथार्थ र अध्ययन–अनुसन्धानका आधारमा तय गरी सिबिफिनले बुझाएका तर मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्वपूर्ण सुझावहरु आगामी नीति तथा निर्देशनमार्फत सम्बोधन हुने विश्वास सिबिफिनले लिएको छ । मौद्रिक नीतिमा तय गरिएका व्यवस्थाहरुको व्यवहारिक कार्यान्वयन, अंगिकार गरिएका मौद्रिक औजारहरुको समुचित प्रयोग र चुनौतीपूर्ण देखिएका विषयहरुमा आगामी एकिकृत निर्देशनमार्फत थप सहजीकरण गरिने र सरलीकृत बनाइने अपेक्षा व्यक्त गर्दै, जारी मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि सहकार्य गर्न सम्पूर्ण सरोकारवाला पक्षहरुसँग सिबिफिन हार्दिक आग्रह गर्दछ । 

सम्बन्धित सामग्री

११.५% कर्जा विस्तारका लागि मौद्रिक नीति लचिलो हुनुपर्छ : सिबिफिन

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संगठन सिबिफिनले चालु आर्थिक वर्ष ११.५ प्रतिशत कर्जा विस्तारका लागि केही क्षेत्रमा मौद्रिक नीति थप लचिलो हुनुपर्ने आवश्यकता औंल्याएको छ । मौद्रिक नीतिबारे संस्थागत रुपमा विज्ञप्ति जारी गर्दै सिबिफिनले आगामी समयमा समीक्षामार्फत जोखिमभार, पुँजी पर्याप्तता लगायत विषयमा थप लचकता अपनाउनुपर्ने सुझाव दिएको हो ।

मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले प्रभावकारी काम नगर्ने ठहर गरेको छ । सिबिफिनले मौद्रिक नीति समग्रमा सकारात्मक भए पनि अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएका कारण नीतिले लिएका लक्ष्यको प्राप्ति र अवलम्बन गरेका कतिपय […]

थप तरलता संकट उत्पन्न हुनसक्छ : सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र सुधारमा सकारात्मक भएको बताएको छ । बिग्रँदो अर्थतन्त्रलाई लिकमा राख्न र सन्तुलित अर्थ व्यवस्था कायम गर्न राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिले ल्याएको सिबिफिनले बताएको छ । तर, मौद्रिक नीतिको सकारात्मक पक्ष हुँदाहुँदै पनि सोही नीतिले लिएको बैंकिङ ब्याजदर करिडोरसँगै वैधानिक तरलता सुविधा (एसलएफ) तथा अनिवार्य नगद मौज्दात (सिआरआर)को सीमा वृद्धिले भने मुलुकमा थप तरलता संकट उत्पन्न हुनसक्ने र लगानीका क्षेत्र संकुच

सरकारलाई सिबिफिनको आग्रहः अर्थतन्त्र बिग्रिँदै गयो, सुधारौं

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि […]

सिबिफिनको अध्ययनले वित्तीय क्षेत्रमा ल्याएको तरंग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हालै वित्तीय क्षेत्रको विद्यमान तरलता समस्यासम्बन्धी गरेको एक अध्ययन सार्वजनिक गरेसँगै यो अध्ययनले विगतका केही नीतिगत कमजोरीमाथि परोक्षरूपमा प्रहार भएको अनुभूत हुन्छ । त्यसमा अन्य विषयका अतिरिक्त खास गरेर अहिलेको यो तरलतासम्बन्धी भनिएको समस्याको मूल चुरो अर्थात् त्यस्तो समस्या ल्याउनमा मूलत: केन्द्रीय बैंकले विगतमा ल्याएको बैंक वित्तीय संस्थाहरूको पूँजी वृद्धिको नीतिमाथि नै ‘ब्याकफायर’ गरिएको चाहिँ केही असहज देखिन्छ । अध्ययनले भनेअनुसार मान्ने हो भने केन्द्रीय बैंकले २ वर्षको समयसीमा दिएर चार चार गुणाले पूँजी वृद्धि गर्नुपरेका कारण नै बैंक वित्तीय संस्थाहरूले त्यसयता कर्जा प्रवाहमा आक्रामक रणनीति लिँदा अहिलेको तरलता समस्या आएको हो भन्ने अर्थ लाग्छ । नेपालको वित्तीय क्षेत्रमा केही महीनायता देखिँदै आएको तरलता समस्या (समस्या नै त होइन, यो बैंकहरूसित तत्काललाई लगानीयोग्य रकमको अभाव हुनु मात्र हो) लाई केही अर्थमा सम्बोधन गर्ने उद्देश्यले आएको यो अध्ययनले कतिपय राम्रै सुझावहरू पनि सुझाएको देखिन्छ । तथापि, यस आलेखमा भने त्यसले औंल्याएको केन्द्रीय बैंकले ल्याएको पूँजी वृद्धिको नीतिबाट उत्पन्न वर्तमान जटिलताप्रति लक्षित भनिएका विषयमाथि मात्र केन्द्रित रहनेछ । वर्तमान तरलताको समस्या अहिले एकै दिनको उपज भने पक्कै होइन । यो बैंक वित्तीय संस्थाहरूको विगत केही वर्षयताकै निक्षेप र कर्जा परिचालनबीच तालमेल मिलाएर लैजान नसक्नुकै परिणति हो । नेपाल उद्योग परिसंघअन्तर्गत आबद्ध सिबिफिन जसको स्थापना, खास गरेर मौजुदा नेपाल बैंकर्स संघले बैंकका अध्यक्षलगायत सञ्चालकहरूलाई नसमेट्ने हुँदा बैंक र वित्तीय संस्थाहरूका केही अध्यक्षलगायत सञ्चालक मिली खोलिएको संस्था हो भनेर अहिलेसम्म बुझिने गरेको छ । तर, यसमा सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष छन् जस्तो लाग्दैन । उदाहरणार्थ : स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसको सदस्यता लिएको छैन । मूलत: यी दुई संस्थामा सिबिफिनलाई बैंकका अध्यक्ष र सञ्चालकहरूको फोरम र बैंकर्स संघलाई सीईओहरूको फोरमका रूपमा बुझिँदै आएको पनि छ । संस्था जोसुकैका होऊन् मूलत: अहिलेको सान्दर्भिक विषयमाथि अध्ययन गरिनुलाई अन्यथा भन्न नमिल्ला । जसले गरेको भए पनि ती सार्वजनिक सरोकारका र खास गरेर मौद्रिक नीति निर्माताहरूका लागि उपयोगी हुने कुरा हो । तरलता समस्याको निदानमा अहिले केन्द्रीय बैंकका विभिन्न रणनीति र उपायहरू खासै प्रभावकारी बन्न नसकिरहेको परिप्रेक्ष्यमा यस खाले प्राज्ञिक अध्ययनले केही माने राख्दछ पनि । त्यसो त वर्तमान तरलताको समस्या अहिले एकै दिनको उपज भने पक्कै होइन । यो बैंक वित्तीय संस्थाहरूको विगत केही वर्षयताकै निक्षेप र कर्जा परिचालनबीच तालमेल मिलाएर लैजान नसक्नुकै परिणति हो । निक्षेपमा अनाकर्षक ब्याजदर त्यसमा धेरै कारक रह्यो, जसप्रति बैंकहरू कहिल्यै संवेदनशील रहेनन् । विकास खर्चप्रति सरकारकै उदासीनता अर्को मुख्य कारक रह्यो भने उपभोग संस्कृतिमा आएको परिवर्तन र त्यसमा देखिएका विकृतिलाई बेलैमा नियन्त्रणतर्फ सकारात्मक कदम नचालिनुले पनि विपे्रषणमुखी आयको समुचित उपयोग हुन नसकेकै हो । यसले तरलताका समस्यालाई झनै बल पुग्न गयो । बैंकहरू भनेका विश्वासमा चल्ने संस्था हुन् र निक्षेपकर्तालाई बैंककै ब्याजदरमाथि भरोसा र विश्वास रहेन भने त्यहाँ तरलताको समस्या ननिम्तिने प्रश्नै आउँदैन भन्ने मूल कुरो नै वित्तीय संस्थाहरूले बिर्सिए । यसका अतिरिक्त केन्द्रीय बैंकले त्यसबेला ल्याएको पूँजी वृद्धिको नीतिले बैंकहरूलाई आक्रामक कर्जा लगानीमा जानुपर्ने केही बाध्यता पर्‍यो होला । तर, त्यो नै सबै यथार्थ भने होइन । किनभने बैंकको पूँजी निक्षेपका तुलनामा धेरै थोरै अंश हुने गर्छ । अर्थात् अहिले नै पनि ४८ खर्ब ७५ अर्बको निक्षेप (२०७८ माघ २३, स्रोत : नेराबैंक) बैंक वित्तीय संस्थाहरूसित रहेको छ । हाल पूँजी भनेको जोखिम सम्पत्तिको ११ प्रतिशत राखे हुने (बफर पूँजीका लागि अतिरिक्त २ प्रतिशतबाहेक, कोभिडका कारण हाल त्यो स्थगन भएको छ) अवस्था हो । त्यसो भनिरहँदा बैंकहरू पूँजी थोरै भए पनि हुने र निक्षेप धेरै राखेर चल्ने, चलिआएका संस्थाहरू हुन् भन्ने बुभ्mनुपर्छ, बुझिँदै आएको पनि हो । पूँजी परिचालनभन्दा बचत परिचालन तिनका अभीष्ट हुनुपर्छ भन्ने नै हो । हो, सधैं त्यो प्रभावी हुनुपर्छ भन्ने छैन । तर, नेपालको सन्दर्भमा गैरनिक्षेपका प्रडक्ट उति सहज र प्रभावी देखिइसकेको छैन । उदाहरणका लागि ऋणपत्रलाई लिन सकिन्छ । यसैले ४ वर्ष (दिइएको समय २ वर्ष भए पनि कतिपयका हकमा ४ वर्ष लागेको) को समयमा कुनै अमुक बैंकको ५/६ अर्बको पूँजी बढेकै आधारमा बैंकहरू आक्रामक रूपले कर्जा विस्तारमा लाग्नुपर्ने अवस्था आयो र त्यसैका कारण अहिले तरलताको समस्या आयो भन्नु तर्कयुक्त हुँदैन । विगत ५/६ वर्षको अन्तरालमा बैंक वित्तीय संस्थाको कुल पूँजी रू. २ खर्ब १५ अर्ब ( २०७३ असार) बाट बढेर २०७८ पुससम्ममा रू. ६ खर्ब १९ अर्ब पुगेको छ । यसमध्ये चुक्ता पूँजीको अंश १ खर्ब ६३ अर्बबाट बढेर ३ खर्ब ७७ अर्ब पुगेको हो अर्थात् यसबीच करीब रू. २ खर्ब १४ अर्बको पूँजी वृद्धि भएको हो । निक्षेपको तुलनामा बैंकहरूको वर्तमान कुल पूँजीको अंश करीब १२ दशमलव ५ प्रतिशत रहेको परिप्रेक्ष्यमा बैंक वित्तीय संस्थाहरूले पूँजीभन्दा करीब ८८ प्रतिशत बढी निक्षेप परिचालन गरिआएकाले तिनको व्यवसाय अब पूँजीले चलेको भन्न नमिल्ला । प्रतिफल मात्र हेर्ने होइन, बैंकहरूले त लगानीको सुरक्षा पनि उत्तिकै हेर्नुपर्छ । यस्तो अवस्थामा पूँजीको प्रतिफलकै लागि बैंकहरू विगतमा आक्रामक कर्जा विस्तारमा लागे र त्यसको परिणति हालको तरलता अभावको समस्या हो भन्नेजस्ता तर्कलाई प्रतिवेदनले अगाडि सार्नु विवेकसम्मत लाग्दैन । केही हदमा त्यो नीति कारक बनेको हुनसक्छ । तर, बैंकहरूमा पूँजीको आधार बलियो भने हुनैपर्छ ।  त्यसका लागि हाल तोकिएको ८ अर्बको पूँजी धेरै होइन । हो, त्यो बेलामा पूँजी पुर्‍याउन दिइएको समयसीमा निर्धारणमा भने केन्द्रीय बैंक चुकेकै हो । कमसेकम केन्द्रीय बैंकले त्यो समयलाई हठात् र अल्प अवधिको नदिएर ५ वर्षको सीमा दिएको भए पनि कुनै पहिरो जानेवाला थिएन । एकातिर बैंकहरूबाट आक्रामक कर्जा विस्तार भयो पनि भन्ने अर्कातिर त्यस्तो आक्रामक कर्जा विस्तारमा बैंकका सञ्चालक समितिचाहिँ के रमिते मात्र बनेर बसेका थिए ? भन्ने अर्को प्रतिप्रश्न पनि योसितै जोडिएर आएको छ । बैंकहरूकै अध्यक्ष सम्मिलित यो अध्ययन प्रतिवेदनले सार्वजनिक गरेका कतिपय विषय हेर्दा के लाग्छ भने कतै यो प्रतिवेदनले बैंक व्यवस्थापनमाथि मात्र समस्या आउनुका कारकहरू थोपर्न खोजिएको त होइन ? अब त्यस्तो व्यवस्थापनलाई समयमै दिशानिर्देश गर्ने कामचाहिँ कसको थियो त ? यी प्रश्नहरू निरुत्तर नै छन् । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

मौद्रिक नीति सकारात्मक र सन्तुलित : सिबिफिन

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सकारात्मक प्रतिक्रिया दिएको छ । कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउन सघाउनेगरी मौद्रिक नीति आएको सिबिफिनले बताएको हो । समग्रमा अर्थतन्त्रलाई कोभिडपूर्वकै लयमा फर्काउन महŒवपूर्ण ठानिएको मौद्रिक नीति सकारात्मक र सन्तुलित रहेको संस्थाको ठहर छ । ‘जारी मौद्रिक नीतिले विगत र वर्तमानका आन्तरिक एवं बाह्य आर्थिक सूचक एवं परिदृश्यहरूलाई दृष्टिगत गर्दै मुलुकको वर्तमान विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अवलम्बन गरेका कार्यदिशा र नीतिहरूले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिबिफिन विश्वस्त छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षहरूबाट प्राप्त भएका सुझावहरूको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको सिबिफिनले बताएको छ । कोरोना प्रभावित उद्योग/व्यवसायको सम्बोधन, आर्थिक वृद्धि, मुद्रास्फीति, मूल्य स्थिरता, बजार व्यवस्थापन, वित्तीय स्थायित्व, आधुनिक भुक्तानी प्रणाली, आर्थिक लक्ष्य प्राप्ति जस्ता विषयहरूमा समेत मौद्रिक नीतिले स्पष्ट व्यवस्था गर्दै सकारात्मक सन्देश दिएको भन्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र सुधारका निम्ति अपनाइएका कतिपय व्यवस्थाले भने बैंकिङ क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बन्ने देखिएको औंल्याएको छ । यस्तै सीसीडी रेशियोको खारेजीसहित सीडी रेशियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने संकेत गरेको विज्ञप्तिमा उल्लेख छ । साथै मार्जिन लेण्डिङको परिभाषामा रहेको अस्पष्टताले समग्रमा आर्थिक, औद्योगिक, नयाँ उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रको विकास एवं विस्तारमा संकुचन ल्याउन सक्ने सिबिफिनको ठहर छ । यस्ता विषयमा राष्ट्र बैंकले सहभागितामूलक छलफल र वस्तुनिष्ट मूल्यांकन गर्दै एकीकृत निर्देशनमार्फत समयसापेक्ष रूपमा सम्बोधन र सुधार गरी ल्याउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।