काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । वैशाख÷जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।
कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जानकारी दिएको छ । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा निकालिँदै आएको छ ।
संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।
कार्यविधिले ४० प्रतिशत पूर्णांकको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णांकको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णांकको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।
नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ ।