निजीक्षेत्र र सरकारबीच सहकार्य

विश्वका प्रायः सबैजसो अर्थतन्त्रले आर्थिक विकासका लागि निजीक्षेत्रलाई नै प्राथमिकतामा राखेका छन् । नेपालले पनि तीनखम्बे अर्थनीति लिएर निजीक्षेत्रलाई उच्च स्थान दिएको पाइन्छ । सिद्धान्ततः निजीक्षेत्रलाई आर्थिक विकासको सारथि भन्ने गरे पनि सरकारको व्यवहारमा भने त्यस्तो कमै पाइन्छ । अहिले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको चरण शुरू भएको छ । यसमा निजीक्षेत्रले आफ्ना केही सुझाव दिएको छ । तर, विगतमा जस्तै निजीक्षेत्रको सुझावलाई पर्याप्त स्थान दिने सम्भावना कमै छ । किन सरकार निजीक्षेत्रलाई विश्वास गर्दैन त ? मुनाफा लिए पनि निजीक्षेत्रले सरकारलाई कर तिरेको हुन्छ, रोजगारी सृजना गरेको हुन्छ र समग्रमा अर्थतन्त्रलाई गति दिएको हुन्छ । यस्तोमा निजीक्षेत्रका गुनासा र सुझावलाई सरकारले उपेक्षा गर्न मिल्दैन ।  रोजगारी सृजनामा सरकारभन्दा निजीक्षेत्र नै अगाडि छ । वस्तु उत्पादन तथा सेवा प्रवाहमा पनि निजीक्षेत्र कम छैन । अर्थतन्त्रमा निजीक्षेत्रको योगदान ७० प्रतिशत रहेको छ । तर, निजीक्षेत्रले गर्ने लगानीको मुख्य आधार भने सरकारी नीति र उसले गर्ने खर्च हो । यसमा सरकार चुकिरहँदा निजीक्षेत्रले पूर्ण योगदान दिन सकेको छैन । निजीक्षेत्रको मागलाई सरकारले नसुन्ने होइन । प्रधानमन्त्री तथा अर्थमन्त्री र अन्य सरोकारवाला मन्त्रालयहरूले निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग वार्ता र छलफल गर्ने गरेका छन् । प्रधानमन्त्रीले अर्थतन्त्रका समस्याबारे पनि निजीक्षेत्रसँग छलफल गरी उनीहरूको योगदानको प्रशंसा गरेको पाइन्छ । तर, निजीक्षेत्रले आफ्नो माग सुनुवाइ नभएको गुनासो सधैं गर्ने गरेको छ । खासमा निजीक्षेत्र भनेका नाफाखोर हुन्, नाफाबाहेक केही हेर्दैनन् भन्ने सोच सरकारी संयन्त्रमा छ । हो, निजीक्षेत्रले मुनाफा नै हेर्ने हो । मुनाफा लिए पनि उसले सरकारलाई कर तिरेको हुन्छ, रोजगारी सृजना गरेको हुन्छ र समग्रमा अर्थतन्त्रलाई गति दिएको हुन्छ । यस्तोमा निजीक्षेत्रका गुनासा र सुझावलाई सरकारले उपेक्षा गर्न मिल्दैन । उसले भनेको सबै कुरा सरकारले मान्नैपर्छ भन्ने होइन तर जायज माग भने तत्कालै सम्बोधन गरिनुपर्छ । नेपालले स्वतन्त्र र बजारमुखी अर्थनीति लिएको छ । यस्तो उदारवादी अर्थतन्त्रमा निजीक्षेत्र नै सर्वेसर्वा हुन्छ । सरकारले सकेसम्म कम नियमन गरेर उनीहरूलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ, गलत गर्ने व्यवसायीलाई कारबाही गर्न चुक्नु पनि हुँदैन । तर, व्यवहारमा यस्तो कमै भएको पाइन्छ । व्यवसायीका सबै माग सही हुन्छन्, पूरा गर्न सकिने खालकै हुन्छन् भन्ने हुँदैन । जायज भएर पनि सरकारको सामथ्र्य नभएर व्यवसायीका सुझाव मान्न नसकेको अवस्था पनि छ । यस्तोमा उनीहरूका खास समस्या के हुन् तिनलाई सम्बोधन गरिदिनुपर्छ । मुखले हुन्छ भन्ने तर कामले परिणाम नदिने अवस्था विडम्बना हो । यस्तो विडम्बना अन्त्य हुनु जरुरी छ । करसम्बन्धी विवाद समाधान हुन सकिरहेको छैन । तयारी वस्तु र कच्चा पदार्थको आयातमा लाग्ने भन्सार दरको अन्तरबारे व्यवसायीको माग पनि सम्बोधन हुन सकेको छैन । मुलुकमा विद्युत् आपूर्ति प्रणाली बिग्रिएको छ तर निजीक्षेत्रले आफ्ना चासो सम्बोधन भए बिजुली उत्पादन युद्धस्तरमा बढाउने कुरा बताएको छ । त्यस्तै निर्माण व्यवसायीका आफ्नै गुनासा छन् । उद्योगी व्यवसायीहरू इमानदार नबन्दा पनि सरकारले निजीक्षेत्रलाई पूर्ण सहयोग नगरेको हुन सक्छ । तर, तिनलाई नियमनको दायरामा ल्याउन नसक्नु सरकारकै कमजोरी हो । निजीक्षेत्रले असल व्यावसायिक अभ्यासको वकालत गरे पनि कसै कसैले कार्टेलिङ, कृत्रिम अभाव सृजना आदि गरेर अनुचित लाभ लिएको पनि पाइन्छ । यस्ता गलत अभ्यासमा निजीक्षेत्रमा प्रतिनिधिमूलक संस्थाले विरोध गर्नुपर्ने हो, यसो नहुँदा सम्पूर्ण निजीक्षेत्र नै बदनाम हुन सक्छ । सरकारले १ रुपैयाँ खर्च गर्दा त्यसको कैयौं गुणा बढी निजीक्षेत्रले लगानी गर्छ भन्ने मानिन्छ । यस्तोमा सरकार आफै सुशासनमा बसेर निजीक्षेत्रलाई स्वतन्त्र रूपमा काम गर्न दिनु पर्छ तथा प्रतिस्पर्धाको बजारलाई प्रवर्द्धन गरिदिनु पर्छ । आसन्न बजेटमा निजीक्षेत्रले मागेका र अर्थतन्त्रमा साँचीकै ठूलो परिवर्तन ल्याउन सक्ने खालको विषयलाई सम्बोधन गर्नु जरुरी छ । अनिमात्र निजीक्षेत्र फस्टाउँछ र समृद्धिको सपना पूरा हुन सक्छ ।

सम्बन्धित सामग्री

स्थानीय सरकार र निजीक्षेत्र सहकार्यमा जोड

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधवार आर्थिक विकासका लागि स्थानीय सरकार र निजीक्षेत्र सहकार्यसम्बन्धी अन्तरक्रिया आयोजना गरेको थियो । प्रदेश सरकार, स्थानीय तह र निजीक्षेका सरोकारवाला सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवाक्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक वृद्धिमा योगदान गर्न सक्ने गरी लगानी विस्तारको सम्भावना, विद्यमान समस्या र चुनौतीका विषयमा केन्द्रित थियो ।  आयोजक संस्थाका कार्यवाहक अध्यक्ष भीमबहादुर पौडेलले मोरङ सुनसरी औद्योगिक कोरिडोरमा उत्पादनमूलक उद्योगको विकासका लागि एक अर्को स्थानीय तह र निजीक्षेत्रबीच सहकार्य गर्न सकिने क्षेत्र (कच्चा पदार्थ, दक्ष श्रम शक्तिको आपूर्ति, प्रशोधन, आन्तरिक र बाह्य बजार विस्तार, उत्पादनको प्रतिस्पर्धी क्षमता विकास) कृषिलाई उद्योग, व्यापार र पर्यटनसँग जोडेर मूल्य शृंखला विस्तार मूल्य अभिवृद्धिमा सबै तहका सरकार र निजीक्षेत्रबीच सहकार्य बढाउन सक्ने सम्भावनाको खोजी गरिनुपर्ने बताए । उनले कोशी प्रदेशको उद्योग, कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भए पनि त्यसलाई मूर्तरूप दिन नसकिएकोले स्थानीय सरकारको अग्रसरतामा सबै तहका सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताए ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्थानीय उद्योग व्यवसाय प्रवर्द्धनमा योगदान पुगोस् भन्ने उद्देश्यले अनौपचारिक आयातमा कडाइ, पार्किङ क्षेत्रको व्यवस्थापनमा लचकता, राजस्वका दर र दायरालाई उद्योग व्यवसायमैत्री बनाउनेजस्ता कदम चालिएको बताए । तैपनि निजीक्षेत्र र समुदायबाट महानगरपालिकाको कदममा पर्याप्त साथ र सहयोग नरहेको गुनासो गरे । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सुशासन प्रवर्द्धन, आर्थिक वृद्धि, पूर्वाधार विकासलगायत सवालमा सम्बद्ध पक्षबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए । संघ र प्रदेश सरकारले गर्ने विकास निर्माणका काममा स्थानीय सरकारसँग समन्वय हुन नसकेको उनको गुनासो छ । उद्योग व्यवसाय सञ्चालन र लगानीका सन्दर्भमा केही अवरोध भएको भए आफूले सहजीकरण गर्ने बताउँदै उनले निजीक्षेत्रलाई संवाद र सहकार्यका लागि खुला रहन आग्रह गरे ।  कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले स्थानीय अर्थतन्त्र सबलीकरण, विकास कार्यको व्यवस्थापन, आर्थिक पूर्वाधार विकासजस्ता कार्यमा सरकार र निजीक्षेत्र मात्र नभई तिनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए । रेलवेको नेपालतर्फको काम सक्न, कृषि बजार केन्द्र सञ्चालनमा ल्याउन तथा पूर्वाधार निर्माण समयमा सम्पन्न गर्न स्थानीय तहबाट अग्रसरता देखाउँदा पनि संघ र प्रदेश सरकारबाटै सहयोग नपाइएको उनले गुनासो गरे ।  दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोख्रेलले साना, लघु र घरेलु उद्यमीको सशक्तीकरण र मूल प्रवाहीकरणविना आर्थिक विकास सम्भव नहुने भएकाले उनीहरूका लागि गरिने लगानीको तत्काल प्रतिफल खोज्न नहुने बताइन् ।  जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर लगानी गर्न आउने लगानीकर्तालाई सहयोग गर्ने बताउँदै लगानीका लागि आह्वान गरिन् ।  कृषि, उद्योग तथा सहकारी मन्त्रालयका उद्योग महाशाखा प्रमुख लक्ष्मी पराजुलीले स्थानीय उद्योगको प्रवर्द्धन गर्न स्थानीय उत्पादनको उपभोग बढाउन सबै तहबाट प्रयास हुनुपर्ने बताइन् । उत्पादन वृद्धिविना आर्थिक विकास सम्भव नहुने भएकाले उत्पादन, मूल्य अभिवृद्धि र बजारीकरणमा सम्बद्ध सबै पक्षले सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन् ।  विराटनगर महानगरपालिकाको वातावरण महाशाखा प्रमुख पुनम दाहालले सार्वजनिक–निजी साझेदारीका सम्भाव्य परियोजना पहिचान र लगानीमार्फत सरकार र निजीक्षेत्रले सहकार्य गर्नुपर्ने बताइन् ।  निजीक्षेत्रका अधिकांश सहभागीले स्थानीय र प्रदेश सरकार प्राथमिकता निर्धारणमा चुक्दा आर्थिक विकासले गति लिन नसकेको भन्दै राजस्वका दर र दायरा निर्धारण, निर्यात सम्भाव्य वस्तुको उत्पादन र बजारीकरण, पर्यटक सेवा र सुरक्षा विस्तार, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धनजस्ता विषयमा बृहत्तर सहकार्य र साझेदारी हुनुपर्ने बताए । द एशिया फाउन्डेशन र कम्युनिटी इन्गेजमेन्ट्स् एन्ड आउटरिचको सहयोगमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका तथा बूढीगंगा, कटहरी र जहदा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखलगायत ६० जना उद्योगी व्यवसायीको सहभागिता थियो ।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । शनिवार चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको भन्दै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडे भने कसरी अर्थतन्त्रमा सुधार हुन्छ ?,’ उनले प्रश्न गरे । नियोजित किसिमले झुठा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए । अर्थतन्त्रका समस्या पूर्ण रूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो ।  ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ,’ अर्थमन्त्री महतले भने । सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरेमा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री महतले बताए । ‘उपभोक्ताले माग बढाएनन् भने उद्योगबाट उत्पादित वस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय बढ्दैन,’ उनले भने । अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गरेको भन्दै अर्थमन्त्री महतले विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने बताए । यस्तै साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने भाष्य तथ्यपरक नभएको दाबी उनले गरे । ‘हाम्रो साधारण खर्चमा कहीँ कतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ,’ उनले भने, ‘६८ वर्षमाथिका नागरिकलाई धनी गरीब जे भए पनि मासिक ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।’ अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौं, माघपछि काम भइसकेको भुक्तानीको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौं,’ उनले भने, ‘काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा उनले जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजीक्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ,’ उनले भने ।  उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा रहेको बताए । दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा यही पुस २३ गते सम्पन्न हुनेछ । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तबीच प्रतिस्पर्धा हुँदै छ ।

औद्योगिक प्रवर्द्धनका लागि निजीक्षेत्रसँग सहकार्य बढाउन जोड

विराटनगर। कोशी प्रदेशको औद्योगिक कोरिडोरमा रहेका स्थानीय तहमा उत्पादनमूलक उद्योगको प्रवर्द्धनका लागि अन्तर स्थानीय तहका सरकार र निजीक्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा बुधवार विराटनगरमा आयोजित कार्यशालामा सहभागीहरूले उद्योगमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले अनुकूल नीतिगत वातावरण निर्माण गर्नुपर्ने औंल्याएका थिए ।  उत्पादनमूलक उद्योगको विकास, रोजगारी सृजना, वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि निजीक्षेत्र, स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्ने उनीहरूले सुझाए । कार्यक्रममा औद्योगिक कोरिडोरमा रहेका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, निजीक्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।  कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्रोतको सीमितताले सबै काम एकैपटक गर्न नसकिने बताए । स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न राजस्व संकलन आवश्यक रहेको भन्दै उनले यसमा सघाउन निजीक्षेत्रलाई आग्रह गरेका थिए ।  नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा १ लाख ६८ हजार उद्योगधन्दा सञ्चालनमा रहेकोमा औद्योगिक क्षेत्रमा मात्रै २३ हजारभन्दा बढी उद्योग व्यवसाय रहेको जानकारी दिए । तीमध्ये १९ हजार ३८० ओटा उत्पादनमूलक उद्योग रहेको उनले बताए ।  अध्यक्ष राउतले अन्तर स्थानीय तहबीच सहकार्यका लागि राजस्व नीतिमा एकरूपता हुनुपर्नेमा जोड दिए । यसैगरी अनुसन्धान तथा विकासमा सरकार र निजीक्षेत्रको लगानी हुनुपर्ने, सबै स्थानीय तहले कृषि तथा गैरकृषि क्षेत्रको साझा प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए ।  कार्यक्रममा कम्युनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिका अनिरुद्र न्यौपानेले स्थानीय सरकार र निजीक्षेत्रको प्राथमिकताका बीच सामञ्जस्य हुनुपर्ने बताए । विद्यमान समस्याका बारेमा समान बुझाइ नभएसम्म आर्थिक विकासले गति लिन नसक्ने उनले औंल्याए ।  बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले पालिकाभित्र करीब २०० उद्योगधन्दा सञ्चालनमा रहेको जानकारी दिए । उद्योगको विकासमा निजीक्षेत्रसँग मिलेर अघि बढ्ने चाहे पनि उद्योगीहरू त्यसका लागि तयार नभएको टिप्पणी उनले गरे । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले आफ्नो पालिकामा उद्योगधन्दा नभएकाले रोजगारी सृजनामा चुनौती भएको बताए । जहदामा उद्योग स्थापना गरे कर छूट दिने भन्दै उनले लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उद्योग व्यवसायलाई अप्ठ्यारो हुने गरी कुनै पनि कर नलिएको दाबी गरे । पालिकामा औद्योगिक क्षेत्रको विकासका लागि जग्गाको वर्गीकरण गर्दा करीब ५०० बिगाहा जग्गा औद्योगिक क्षेत्रका लागि छुट्ट्याएको बताए । दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले पालिकाभित्र औद्योगिक प्रदूषणको समस्या उठ्ने गरेकाले सरोकारवाला पक्षहरूलाई राखेर विवाद समाधान गरिँदै आएको जानकारी दिए । उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उद्योग महाशाखा प्रमुख लक्ष्मी पराजुलीले कृषिमा आधारित उद्योगको संख्या धेरै रहेको बताइन् । स्थानीय, प्रदेश र संघीय सरकारमार्फत सञ्चालन हुने कार्यक्रम सहकार्यका आधारमा अघि बढाउन मन्त्रालयको तर्फबाट प्रयास गरिने उनको भनाइ थियो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले निजीक्षेत्रले सबै तहका सरकारहरूसँग सहकार्यको प्रयास गरिरहेको बताए । सबैको चाहना विकास नै भएको भन्दै उनले कर संकलनमा भन्दा औद्योगिक वातावरण निर्माणमा प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

‘भरतपुर भ्रमण वर्ष २०८०’ को तयारी शुरू

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०८०’ लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल गरी तयारी शुरू गरेको छ । महानगरपालिकाभित्रका ३० ओटा गन्तव्यको प्रचारप्रसार गरी महानगरले पर्यटन प्रवर्द्धन गर्न लागेको हो । छलफलमा सहभागीहरूले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने र बसाइ अवधि लम्ब्याउने प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसार अपरिहार्य रहेको भन्दै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र अनलाइन मिडियामा केन्द्रित रहनुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशयी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताए । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशतभन्दा बढी पूरा भइसकेकाले यसको प्रवर्द्धनमा निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । ‘भरतपुर पर्यटन प्रवर्द्धनको पूर्वाधारका लागि सेवा दिन सक्षम छ,’ उनले भने, ‘हामी पनि सक्षम छौं, तर यसको प्रवर्द्धनका लागि सरकारी निकाय भूमिका महत्त्वपूर्ण हुन्छ ।’ जिल्लाको होटल व्यवसाय चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनुपर्नेमा उनको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी निजीक्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनुपर्ने बताए । पर्यटकका लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यकरणमा जोड दिन सुझाव दिए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले अन्तरराष्ट्रिय एक्स्पो लगायतका कार्यक्रमले चितवनको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएको भन्दै उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्यासँगै बसाइ अवधि लम्ब्याउने कार्यक्रम ल्याउनुपर्दछ,’ न्यौपानेले भने, ‘लिंक र कनेक्टिभिटी बनाई यातायात र गन्तव्यको कार्यतालिका बनाइनुपर्छ ।’ भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले शिथिल भएको पर्यटन क्षेत्र उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिनुपर्ने बताए । भरतपुरका ३० ओटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं ‘भरतपुर भ्रमण वर्ष २०८०’ को कार्यकारी समितिका संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताए ।  पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको भन्दै उनले पर्यटनको विकासविना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए ।