आधुनिक चोरहरू

जसले जति ठूलो स्वरमा खोके पनि साँचो त फेरि चोरहरूकै हातमा पुग्दो रहेछ वा पुर्‍याइँदो रहेछ त ! हिजो जो चोर, उसैको ठूलो स्वर भन्थे । जसको ठूलो स्वर, उसैको कुरा मात्र सुनिन्छ भन्ने मान्यता अहिले फेरि स्थापित भएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । समय बदलिएसँगै चोरहरूको लवाइ, खवाइ, हुलिया पनि सबै बदलिएको छ । पहिले पहिले चोरहरूले लामा लामा दाह्री पालेका हुन्थे । हेर्दैमा फोहोरी, कम बोल्ने खालका र उल्लुझैं राति राति मात्रै विचरण गर्ने गर्थे । चोरहरूको संगठनमा दाह्रीविहीन चोरको प्रवेश निषेध हुन्थ्यो । चोरहरूको दाह्रीले उनीहरूको चोरत्वलाई एउटा नयाँ उचाइ स्थापित गरिरहेको हुन्थ्यो । चोरहरू शुद्ध रूपमा चोर नै हुन्थे । चोर न डाँका हुन्थे न फिरौतीवाला गुण्डा । प्रत्येक चोरको एक विशिष्ट प्रकारको दाह्री हुन्थ्यो । उनीहरू आफ्नो दाह्रीलाई चौर्य रसले भरिपूर्ण बनाउन कुनै कसर छाड्दैनथे । मानिसहरू चोरको पहिचान गर्न थोत्रा कपडा बोरामा कोचेर हिँड्थे । दाह्रीवाला चोरका दाह्रीमा यी थोत्रा बोराका झुसहरूले ससम्मान वास पाइरहेका हुन्थे । चोरलाई अँध्यारो प्यारो हुन्थ्यो, उज्यालोसँग तर्सन्थे । औंसी उनीहरूको प्यारो हुन्थ्यो, पूर्णिमासँग उनीहरू रिसाउँथे । नीतिले पनि भनेको छ, ‘चौराणां चन्द्रमा रिपु:’ । तर हिजोआजका चोरहरू उज्यालोमा बस्छन् र अँध्यारोको त्रास देखाउँछन् । अनि दिउँसै रात पारिदिन्छन् । चोरहरू पहिला केही बोल्दैनथे, अहिले त धेरै नै गफाडी भएर पो निस्केका छन् त । थाहै हुँदैन चोर हो कि पाकेटमार भनेर । तपाईं बस त चढ्नुहुन्छ नि ? बसमा ‘ए ! पाकेटमार छ है’ भन्दै आफै हल्ला गर्छन् । बिचरा यात्रुहरू खल्ती छामछुम गर्न थाल्छन् । एकैछिनमा पकेटमारा ओर्लियो भन्दै आफै ओर्लिन्छन् । बिचरा यात्रुले एक छिनपछि थाहा पाउँछ आफ्नै पाकेट मारेको कुरा । यस्तो ट्रिक यिनले नेताबाट सिकेका हुन् कि नेतालाई सिकाएका होलान् ? हिजोआज त चोर हो, डाँका हो वा कुनै नेता हो भनेर छुट्ट्याउनै मुश्किल हुँदै गएको छ । हुलियाबाट अन्दाज गर्नुभयो भने तपाईं सोझै फस्नुहुनेछ । जसलाई महान् नेता ठान्यो, महान् राष्ट्रवादी ठान्यो वा महान् व्यवसायी, समाजसेवी ठान्यो, पत्रकार ठान्यो उही नै अन्त्यमा चोर पो भएर निस्कन्छ । गज्जपको गोलमाल छ हजुर ! यहाँ । विकासको रेल जति छिटो कुदेको छ, चोरहरूले पनि त्यति नै तीव्र गतिमा विकास गरेका छन् । चोरहरूले सबैभन्दा पहिले त आआफ्ना दाह्री सफाचट पारेका छन् । ‘क्लिन सेभ्ड’, ‘ह्वाइट कलर्ड’ भएका छन् । परम गुगलबाज, अनलाइनी भएका छन् । क्रेडिट कार्डधारक, स्मार्ट अनलाइन चोर भएका छन् । चोरहरूले दाह्री हटाएपछि गाडी राख्न शुरू गरेका छन् । स्मार्टफोन, आईप्याड सधैं साथमा । यसप्रकार चोरहरूको पनि स्मार्ट विकास हुँदै गएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । यो उक्ति वास्तवमा दुई धारवाला तरवारजस्तो छ । यसलाई चोरको गाडीमा प्रहरी भन्नोस् वा प्रहरीको गाडीमा चोर, एउटै कुरा हो हात्ती बलियो कि हात्ती छाप बलियो भनेजस्तै । चोरहरूका संगठनमा चोर र प्रहरीको समान रूपमा आदर हुने गर्छ । प्राय:जसो यो पत्ता लगाउन निकै गाह्रो हुन्छ कि को चोर हो र को प्रहरी ? अब त प्रहरी–चोर दाइ–भाइ भन्ने उक्ति लोकप्रिय बन्दै र समाजमा स्थापित हुँदै गएको छ । उनीहरू दाइभाइ भएकाले पुराना चोर बार्ई बाई भएका छन्, नयाँ चोरको हाई हाई भइरहेको छ । पहिले चोरहरूले शुद्ध रूपमा चोरी मात्र गर्थे, तर आधुनिक चोरहरू निकै आधुनिक बन्दै गएका छन् । उनीहरू प्रहरी प्रशासन, व्यवसाय, पत्रकारिता, कानूनी पेशा, संसद् जताततै छाएका छन् । त्यसैले त नवीन चोर कथं चोरी गर्दागर्दै कतै चुक्यो भने पनि उसलाई बचाउनेहरू समाजमा थुप्रै छन् । यदि चोरले यदाकदा चोरी कार्यलाई आन्तरिक रूपमा स्थगित गरे भने पनि प्रहरीले चोरीका साथसाथै हेराफेरी गर्ने अतिरिक्त प्रभाग पनि सम्हाल्नुपर्छ । यो गोलमाललाई चोरले एकदमै इमानदारीका साथ आफ्नो भाइभतिजा प्रहरीलाई अर्पित गर्छ । प्रहरीसाप यस्तोबाट प्राप्त हुने धनराशीलाई ‘हप्ते संस्कार’ भनेर श्रद्धापूर्वक ग्रहण गर्छन् । जहाँ हप्ता उठ्दैन, त्यहाँ नियमको डण्डा चलिहाल्छ, हप्ता उठाएर भागशान्ति गरेपछि मानिसको आँखा र कान न हो, नदेख्न सकिहाल्छ, नसुन्न सकिहाल्छ । त्यसै हेर्दै हेरेन, सुन्दै सुनेन भनेर आरोप लगाउन चाहिँ पाइँदैन नि है । यो त कानूनीराज पो हो । न्यायको आँखामा पट्टी बाँध्दैमा सबै थोक देख्दैन भन्ने हुन्छ र ? चाहिएको कुरा त देखिहाल्छ नि ?   हप्तार्पण संस्कारका पनि अनेक विधि र प्रक्रिया हुन्छन् । तिनका पनि ठाउँ र पेशाअनुसार पद र लाभ अनुसार फरक फरक विधान हुन्छन् । विधान मिलेन भने फल मिल्दैन । त्यसैले हप्तार्पणका बेला चोरहरूको इमानदारी हेर्न लायक हुन्छ । हप्तार्पण संस्कारवाला चोर कहिल्यै पक्राउ पर्दैन, किनकि चोर र पुलिस सँगसँगै हुन्छन् । उनीहरूका गिलासले मित लगाइरहेको हुन्छ । साथै बोरा र बोराका झुस नहुने कारण चोर चिनिँदैन पनि । अहिले त अफिसर–नेता–मन्त्रीका रूपमा चोर देउता जनतालाई आफ्नो चौर्य कर्ममा बाँधेर राखिरहन सफल हुन्छन् । उनीहरू आफ्नो चौर्य कलालाई नित्य नयाँ रूपमा नयाँ उचाइ प्रदान गरिरहेका हुन्छन् । चौर्य कलाको प्रशिक्षण कलेजबाटै शुरू हुन्छ । हप्ताग्रहण र अर्पण विधि, ठेक्कापट्टामा मेलमिलाप विधि, बेला बेलामा यसो कुखुरी नृत्य प्रदर्शनको रिहर्सल भइरहेको हुन्छ त्यहाँ । त्यहाँबाट प्रशिक्षित भएपछि बल्ल प्रादेशिक तहमा र राष्ट्रिय तहमा यस्ता कार्यक्रममा सहभागी हुन पाइन्छ । आधुनिक चोरदेव यदाकदा कुनै पनि पागल व्यक्तिबाट समातियो भने पनि उसलाई जोगाउन के के नामका आयोग, महाशाखा आदि सारा राज्य संयन्त्र नै खडा र तम्तयार हुन्छन् । यति भएपछि छ कुनै ‘माइका लाल’ आधुनिक चोरहरूलाई समात्ने ?

सम्बन्धित सामग्री

आधुनिक इन्जिनीयरिङमा वास्तुशास्त्र पनि पढाइने

वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ

विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ।...

आधुनिक खोरमा किसानको आकर्षण

जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् ।यसअघि परम्परागत खोरमा बाख्रा पालेका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताए । राङखानीकै एलु थापाले पनि बाख्रा र बंगुरको खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रा र बंगुरको […]

आधुनिक संगीतमा बौद्ध गीतिभिडियो

२५६६औँ बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीतसहितको बौद्ध गीत एवम् म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनी नजिकै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ ।

आधुनिक उपकरणमार्फत सर्भिसिङ

इटहरीमा सञ्चालित आशिष सर्भिसिङ सेन्टरले हलुका सवारीसाधनको सर्भिसिङ आधुनिक प्रविधिका उपकरणमार्फत गर्ने भएको छ।...

आधुनिक प्रविधिको उपकरणमार्फत सर्भिसिङ्

इटहरीमा सञ्चालित आशिष सर्भिसिङ् सेन्टरले हलुका सवारी साधनको सर्भिसिङ् आधुनिक प्रविधिको उपकरणमार्फत गर्ने भएको छ।...

स्थानीयको सक्रियतामा आधुनिक प्रहरी बिट बन्यो

पोखरा महानगरपालिका–३ नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको छ । स्थानियबासीको सक्रियतामा नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको हो ।...

नेपाली आधुनिक कलाको पहिलो दशक

नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली,...

लोककला भर्सेस आधुनिक कला

कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प्रस्तुत हुन गएको पनि देखिएको छ। धेरैजसो ठाउँमा कलाको शै...