असार १५, सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी परिवर्तन गर्दै बजार व्यवसाय सञ्चालनमा केही खुकुलो बनाउँदै असार २२ गते सम्मलाई निषेधाज्ञा थप गरेको छ ।
लकडाउन शुरु भएसँगै बन्द रहेका यातायातका सवारी साधनहरु पनि जोरबिजोर चल्ने गरि लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । सोमवार सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको संयोजकमा बसेको बेठकले मोडालिटी परिवर्तन गर्दै जिल्लामा एक साता निषेधाज्ञाको समय लम्ब्याइएको हो । प्रशासन कार्यालयका अनुसार २२ गते राति १२ बजे सम्मका लागि खुकुलो बनाउँदै लकडाउन थपिएको हो ।
लकडाउन अवधिमा निजी सवारी, सिटी सफारी, इ रिक्सा समेतलाई असार मंगलवारदेखि २२ गते राति १२ बजेसम्म जोरबिजोर प्रणालीमा चल्न छूट दिइने निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । सवारीसाधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको मात्र चल्न पाउनेछन् ।
अघिल्लो लकडाउन घोषणा भएपछि बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्दै आएका खाद्यान्न, तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबिजन विक्री गर्ने पसलहरु दिनैभरि सञ्चालन गर्न छूट दिइएको छ ।
यसबाहेकका पसलहरु भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हाटबजार, गुद्री, सब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरिएको छ भने कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न दिइएको छ ।