जेठमा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ११.३० प्रतिशत बढ्यो

काठमाडौं । वैशाखको तुलनामा जेठमा जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन ११ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । वैशाख मसान्तमा बीमा कम्पनीहरूले कुल रू. ९ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेका थिए । जेठमा भने ती कम्पनीहरूले रू. १० अर्ब ४३ करोडको बीमा शुल्क आर्जन गरेका छन् ।  आर्थिक मन्दी हुँदा पनि अधिकांश जीवन बीमा कम्पनीहरूले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जेठमा चार कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने बाँकी ११ कम्पनीको बीमा शुल्क आर्जन बढेको छ । तीमध्ये नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बीमा शुल्क आर्जन सबैभन्दा बढी ६३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो । जेठमा भने कम्पनीको बीमा शुल्क आर्जन रू. १ अर्ब ६७ करोड पुगेको छ ।  यो सूचीमा दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ३२ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । वैशाखमा यस कम्पनीले रू. ३४ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा कम्पनीले रू. ४५ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ४० दशमलव २२ प्रतिशत घटेको छ । कम्पनीले वैशाख मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा उक्त रकम रू. २८ करोड ५९ लाखमा झरेको हो । 

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।