विप्रेषणमा आधारित अर्थतन्त्र दिगो हुन सक्ला ?

परापूर्वकालदेखि नेपालीहरूको जीविकोपार्जन कृषिबाट भएको तथ्य लुक्न सकेको देखिँदैन । सन् १९९० को दशकअगाडि नेपालको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी जनसंख्याको जीविकोपार्जन कृषिमा नै आधारित थियो । आज नेपालको जनसंख्याको ७० प्रतिशतको हातमुखको माध्यम कृषि नै रहेको छ । एकाइसांै शताब्दीको शुरूमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ४० प्रतिशतभन्दा बढी थियो । त्यसपछिका दिनहरूमा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । सन् २००१–२००६ को अवधिमा कृषिक्षेत्रको योगदान ३४ दशमलव ४ प्रतिशत थियो । सोही अवधिमा विप्रेषणको अनुपात केवल ९ प्रतिशतमा सीमित थियो । सन् २०१३–२०२० को अवधिमा कृषिक्षेत्रको अनुपात घटेर २५ दशमलव ६ प्रतिशत हुन पुगेको छ, सोही अवधिमा विप्रेषणको अनुपात २९ दशमलव १ प्रतिशत रहेको छ । सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान केवल २५ प्रतिशत मात्र रहेको छ भने सोही अवधिमा विप्रेषणको अनुपातले कृषिक्षेत्रलाई उछिनेर ३० दशमलव १ प्रतिशत पुगेको छ । यसले के पुष्टि गर्छ भने नेपालको अर्थतन्त्र कृषिक्षेत्रबाट विप्रेषणमा परिणत हुन पुगेको छ । दुईतीन दशकदेखि नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । नेपालको अर्थतन्त्रमा यसका असरहरू धेरै छन् । नेपालको वैदेशिक मुद्राको मुख्य स्रोत विप्रेषण रहेको छ । विप्रेषणले सीमान्त र गरीब घरपरिवारको आम्दानीमा वृद्धि गराएको छ । यसले नेपालको गरीबी निवारण कार्यक्रममा सहयोग पुर्‍याएको छ । शुरूदेखि नै नेपालमा भित्रिएको विप्रेषणको उपयोग उत्पादक क्षेत्रमा हुन सकेको छैन । नेपालमा भित्रिएको विप्रेषणको ६५ प्रतिशत अंश ऊर्जा र उपभोग्य वस्तुको आयातमा खर्च हुने गरेको छ । परिवर्तित वा विकसित उपभोगले नेपालीहरूको जीवनस्तर उठाउन सहयोग गरिरहेको छ । गरीब र सीमान्त घरपरिवारको आयस्तरमा वृद्धि गराउन विप्रेषणले सहयोग पुर्‍याएको छ । उनीहरूको क्रयशक्तिमा वृद्धि गराएको छ । उनीहरूको रहनसहन र खानपिनमा परिवर्तन ल्याएको छ । परिणामस्वरूप गरीबीको संख्यामा केही ह्रास भएको छ । प्रतिव्यक्ति आयमा केही सुधार हुन पुगेको छ । हाल उपलब्ध तथ्यांकअनुसार नेपालमा भित्रिएको कुल विप्रेषणको ७९ प्रतिशत अंश उपभोग्य वस्तुमा खर्च हुने गर्छ । घरायसी ऋण तिर्नमा कुल विप्रेषणको ७ दशमलव १ प्रतिशत खर्च हुने गर्छ । ४ दशमलव ५ प्रतिशत विप्रेषणको अंश घरायसी सम्पत्तिजस्तै जग्गाजमीन, सुन, आदिमा खर्च हुने गरेको छ । त्यस्तैगरेर शिक्षामा केवल ३ दशमलव ५ प्रतिशत विप्रेषणको अंश खर्च हुने गरेको उपलब्ध तथ्यांकले देखाउँछ । नेपालमा भित्रिएको विप्रेषणको खर्चको प्रकृतिले बताइरहेको छ कि नेपाल आउँदा दिनहरूमा विप्रेषणको पासोमा बेरिने निश्चित छ । मन्दी अर्थतन्त्रको व्यापारिक चक्रमा घुमिफिरी आउने अवस्था हो । व्यापारिक चक्रको अवस्थामा फेरबदल भइरहन्छ, जसमा आर्थिक गतिविधिहरूमा अल्प र दीर्घकालीन दुवै समयमा उतारचढाब हुने गर्छ । यो आर्थिक उतारचढाव दीर्घकालीन आर्थिक वृद्धिदरको वरिपरि निरन्तर रूपले घुमिरहेको हुन्छ । आर्थिक उतारचढावमा उत्पादन र उत्पादकत्वमा वृद्धि भएको अवस्थालाई आर्थिक समृद्धिको अवस्था भनिन्छ । यो अवस्थामा उत्पादन, रोजगारी र आम्दानी सबैमा वृद्धि हुन्छ । यही व्यापार चक्रको अवस्थामा फेरबदल भई ह्रास हुन थाल्छ जहाँ आर्थिक गतिविधिहरू प्रायः शून्य हुन्छन् । उत्पादन, रोजगारी आम्दानी सबैमा ह्रास भई जनजीवन अस्तव्यस्त हुन्छ, जसलाई आर्थिक संकुचन वा मन्दी भनिन्छ । व्यापारिक चक्रको यो अवस्थामा आर्थिक नीति नियमहरूले काम गर्न छोड्छन् । फलस्वरूप आर्थिक संकटको सृजना हुन्छ । अल्प र दीर्घकाल दुवैमा यस प्रकारको उतारचढाव आर्थिक गतिविधिमा भइरहन्छ, जसलाई प्राकृतिक व्यापारिक चक्र भनिन्छ । व्यापारिक चक्रको मापन वास्तविक कुल गार्हस्थ्य उत्पादनको सहायताले गर्ने गरिन्छ । आर्थिक मन्दीको विषयमा एउटा पुरानो कहावत छ । बृहत् आर्थिक मन्दीको समयमा सबै मानिस बेरोजगार हुन्छन् । माथि उल्लेख गरे जस्तै मन्दीमा आर्थिक संकुचन हुन्छ । आर्थिक गतिविधिहरू प्रायः बन्द हुन्छन् । यो अवस्थाको सृजना त्यस बखत हुन्छ जब कुनै पनि अर्थव्यवस्थामा ९ महीनासम्म वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ह्रास भइरहन्छ । अर्थात् अर्थव्यवस्थामा तीन त्रैमासिकसम्म लगातार वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ह्रास हँुदा मन्दीको सृजना हुन्छ । त्यस्तैगरेर यसको मापनका निमित्त अन्तरराष्ट्रिय मुद्राकोषले पनि एउटा मापदण्ड बनाएको छ । यदि विश्व अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतभन्दा कम दरले वृद्धि भयो भने विश्व अर्थतन्त्रमा मन्दीको चपेटामा पर्छ । यही नियमअनुसार सन् २००८ मा संसारका धनाढ्य देशहरू जस्तै संयुक्त राज्य अमेरिका, बेलायतलगायत यूरोपेली संघका सबै देश, एशियाका केही देशहरू जस्तै जापानलगायत सबै आर्थिक मन्दीका शिकार बनेका थिए । आजभोलि विश्व अर्थतन्त्र एकअर्कामा आबद्ध भएको छ । विश्वव्यापीकरणका कारण एउटा देश अर्को देशसँग निर्भर रहेको छ । विश्वमा आर्थिक मन्दीको उत्पत्ति कहिले र कुन समयमा हुन्छ भनेर भविष्यवाणी गर्न सकिँदैन । विश्वका विकसित देशहरू जस्तै संयुक्त राज्य अमेरिका, बेलायतलगायत यूरोपेली संघका सबै देश, जापान, चीन र भारतलगायत देशमा आर्थिक मन्दीको सृजना भयो भने वैदेशिक रोजगारीमा निर्भर रहने देशहरूमा आर्थिक संकटको सृजना हुन्छ । विकसित देशहरूको अर्थतन्त्रमा मन्दीको सृजना हुँदा मध्यम आम्दानी हुने देशहरूको अर्थतन्त्रमा छिटै असर पर्छ । मध्यम आम्दानी हुने देशहरू अर्धविकसित देशहरूको जनशक्तिलाई रोजगार प्रदान गर्ने स्रोतका रूपमा रहेका छन् । नेपालका युवायुवती यिनै देशहरूमा कार्यरत छन् । वैदेशिक रोजगारको लागि नेपाली युवायुवती यी देशमा उडिरहेका छन् । यी देशको अर्थव्यवस्थामा आर्थिक मन्दी हँुदा अर्धविकसित देशका युवायुवतीको रोजगारी गुम्छ । नेपालको बढ्दो जनसंख्याको रोजगारीको थलो विदेश नै हो । दुवै विकसित र मध्यम आम्दानी हुने देशहरू (मध्यपूर्वका खाडी मुलुकहरू, दक्षिण र पूर्वी एशियाका मुलुकहरू, विकसित देशहरूजस्तै बेलायतलगायत यूरोपेली संघका मुलुकहरू, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र क्यानाडा) मा नेपालीहरू कार्यरत छन् । यी देशमा हुने सम्भावित आर्थिक मन्दीको असर नेपालको वैदेशिक रोजगारमा पर्छ । नेपालका युवायुवतीले विदेशमा रोजगारी पाउँदैनन् । अझ भन्ने हो भने छिमेकी मुलुकहरू भारत र चीनमा यस प्रकारको आर्थिक मन्दी हुनासाथ नेपालको अर्थतन्त्र धराशयी हुन सक्छ जहाँबाट नेपाललाई आवश्यक हुने वस्तुहरूको आयात हुन्छ ।  दुईतीन दशकदेखि नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । नेपालको अर्थतन्त्रमा यसका असर धेरै छन् । पहिलो, नेपालका बैंकहरूको धेरै लगानी घरजग्गा र सवारीका साधन किनबेचमा भइरहेको छ । यी दुवै क्षेत्रहरू अनुत्पादक हुन् । यी क्षेत्र त्यसबखत चलायमान हुन्छन् जब देशले उच्च आर्थिक वृद्धि दर निरन्तर रूपले प्राप्त गर्छ । दोस्रो, नेपालमा उद्योग व्यवसायहरूको विकास हुन सकेको छैन । त्यसकारण पनि बैंक तथा वित्तीय संस्थाहरूको लगानी अनुत्पादक क्षेत्रमा गइरहेको छ । आर्थिक मन्दीको समयमा विप्रेषणमा ह्रास हुन्छ र अर्थतन्त्रका अन्य क्षेत्रभन्दा यी क्षेत्र छिटो प्रभावित हुन्छन्, जसले बैंकिङ व्यवसायलाई नै धराशयी बनाउँछ । बेरोजगारीमा वृद्धि हुनुका साथै सम्पूर्ण आर्थिक गतिविधिहरू शिथिल हुन्छन् । तेस्रो, यदि नेपाली युवायुवतीले वैदेशिक रोजगार गुमाए भने नेपालमा गरीबीको संख्यामा अप्रत्याशित वृद्धि हुन्छ । विदेशमा रहेका सबै युवायुवती नेपालमा फर्कन बाध्य हुन्छन् । आर्थिक मन्दीको समयमा सबै देशले आआफ्ना नागरिकहरूको निमित्त विदेशीलाई रोजगार प्रदान गर्दैनन् । नेपालीहरूको पेशा असुरक्षित हुन्छ । नेपालका घरपरिवारको आम्दानीमा ह्रास हुन्छ । जीविकोपार्जनका लागि जीवन कष्टदायी हुन्छ । फलस्वरूप अझ बढी नेपालीहरू गरीबीमा रहन्छन् । अर्थात् गरीबीको संख्यामा वृद्धि हुन्छ । अस्थिर वैदेशिक रोजगारीका कारण सीमान्त र गरीब परिवारहरूको जीवन थप कष्टकर हुन्छ । अन्तिममा घरजगाको कारोबारमा थप इँटा थप्ने कार्य विप्रेषणले गरेको छ । घरजग्गाको कारोबार जुन उचाइमा पुगेको छ त्यसको श्रेय विप्रेषणलाई दिन सकिन्छ । विप्रेषण र वैदेशिक रोजगारीको सम्बन्ध सकारात्मक हुन्छ । अर्थात् विप्रेषणमा घटबढ हँुदा घरजग्गाको कारोबार पनि घटबढ हुने गर्छ । विगतको अनुभवले के बताउँछ भने विप्रेषणको मुख्य अंश यो क्षेत्रमा लगानी भएको छ । वैदेशिक रोजगारीमा अस्थिरता पैदा हुँदा घरजग्गा कारोबारमा पनि अस्थिरता आउँछ । लेखक अर्थशास्त्री हुन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ – पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि आज हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य […]

स्वदेशी उत्पादन बढाउन सके राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताएकी छन्।बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहे

अर्थतन्त्र काबुबाहिर छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ- नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजको कार्यसमितिका प्रतिनिधिसँगको भेटमा मन्त्री पौडेलले भने, “अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै […]

शहरी र ग्रामीण क्षेत्रको दिगो विकास भएमात्र अर्थतन्त्र सुदृढ : मन्त्री कार्की

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी दुवै क्षेत्रको विकास दिगो बनाउनु पर्नेमा जोड दिएका छन्।शहरी विकास मन्त्रालयले मंगलवार गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले सबै नेपालीको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जाल जडान गर्नु आवश्यक रहेको बताए।मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको र यसले संस

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा  विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्