तेलको भाउ १५० डलरमा पुग्ने अनुमान

मंसिर १५, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल पुग्ने अनुमान गरिएको छ । अमेरिकी बहुराष्ट्रिय स्वतन्त्र लगानी बैंक जेफ्रीज ग्रुपका इक्विटी स्ट्राटेजीका ग्लोबल हेड क्रिस्टोफर वूडले बुधवार सीएनबीसीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको सारा विश्व पुनः खुल्यो भने भाउमा उल्लेख्य वृद्धि हुन सक्ने उनको भनाइ छ । अधिकांश एशिया बन्द भएको बेलामा पनि तेलको भाउ प्रतिब्यारेल ८० माथि जान सक्यो । चीनको सीमा प्रभावकारी रुपमा अझै बन्द छ ।‘आपूर्तिमा समस्या नाटकीय रहेकोले विश्व साँच्चै नै पूरा खुल्यो भने भाउ १५० डलरसम्म जान सक्छ,’ उनले भने । आफ्नो लागि समस्या तेलको भाउ नभएर महामारी भएको पनि उनले बताएका छन् । हालका वर्षहरुमा खनिज इन्धनमाथिको राजनीतिक आक्रमणका कारण ऊर्जाको क्षेत्रमा लगानीका लागि प्रोत्साहन हटाइएको छ । तर गत वर्ष विश्वको ऊर्जा मागमध्ये ८४ प्रतिशत माग खनिज इन्धनबाटै पूर्ति भएको उनले औंल्याएका छन् । अहिले तेलमा कसैले लगानी नगरेको तर जैविक इन्धनको खपत भने भइरहेकोले विश्व पूरा खुलेपछि तेलको भाउ निकै माथि जाने र यसले महँगी डरलाग्दो गरी बढाउने वूडको भनाइ छ ।हालैका दिनमा भने विश्व बजारमा तेलको भाउ घटेको छ । बुधवार बिहान एशियाली कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७१ डलर ९ सेन्ट रहेको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल ६८ डलर ५ सेन्ट आसपास थियो । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भ्यारिएन्ट ओमिक्रोनबारे चेतावनी दिएपछि शुक्रवार तेलको भाउका लागि यस वर्षकै खराब दिन बनेको  थियो । त्यसयता तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । एजेन्सी

सम्बन्धित सामग्री

चीनको आर्थिक वृद्धिदर अनिश्चित बनेपछि घट्यो कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । चीनको अर्थतन्त्रबारे छाएको चिन्ताले प्रमुख तेल निर्यातकर्ता देशहरूले गरेको उत्पादन कटौतीको असरलाई उल्ट्याएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकामा तेल तथा ग्यास रिग्सको संख्या लगातार सातौं महीना पनि घटेको तथ्यांकले पनि तेलको भाउ घटेको हो ।  सोमबार बिहानी कारोबारदेखि तेल बजार दबाबमा रहँदा भाउ १ प्रतिशतसम्म घटेको थियो । यो समाचार तयार पार्दाखेरि भने भाउमा आएको कमी भरिएर तेलको दुवै बेञ्चमार्क हरियोमा आएका थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ बजे ब्रेन्टको भाउ ब्रेन्टको भाउ शून्य दशमलव १८ प्रतिशतले बढेर ७६ डलर ३९ सेन्टमा उक्लिएको थियो । यूएस क्रुडको भाउ पनि सोही समयमा शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ७१ सेन्टमा थियो । गएको हप्ता भने दुवै तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको थियो । अहिले चीनको अर्थतन्त्रलाई शक्तिशाली अवरोधले घेरिरहेको छ । घरजग्गा बजार गएको वर्षको कमीबाट उब्रिएको छैन । मेमा खुद्रा विक्री र औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा तल थियो ।  यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण कयौं ठूला बैंकले घटाइसकेका छन् । गएको हप्ता दुई पटक ब्याजदर घटाएको केन्द्रीय बैंकले मंगलवार अर्को कटौती गर्ने अपेक्षा व्यापक छ । सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन चीनले थप प्रोत्साहन ल्याउने स्रोतहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । तर, कर्जा र पूँजी पलायनसम्बन्धी चिन्ताका कारण प्रोत्साहन उपभोक्ता र निजी क्षेत्र लक्षित हुने अनुमान छ ।  जुन १६ मा सकिएको हप्तामा अमेरिकामा तेल तथा ग्यास रिग काउन्ट ६८७ रहेको छ । यो अघिल्लो हप्ताको भन्दा ८ कम हो । यो संख्या सन् २०२२ यताकै कम हो । रिग संख्यामा आएको कमीले भविष्यमा उत्पादन कम हुन्छ भन्ने देखाउँछ । इरानको बढ्दो तेल निर्यातले पनि मूल्यमा दबाब दिइरहेको छ । यो वर्ष इरानको कच्चा तेल निर्यात र उत्पादन दुवै कीर्तिमानी स्तरमा छन् । एजेन्सी

विश्वको आर्थिक वृद्धिदर अनिश्चित बन्दा घट्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेल (Crude Oil) को भाउ घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (OPEC) र समूह बारिहका अन्य प्रमुख तेल निर्यातकर्ताहरूको समूह ओपेक प्लस (OPEC Plus) ले तेलको उत्पादन घटाएरै भए पनि तेल बजारलाई टेवा दिने सम्भावना छ । तर, लगानीकर्ताहरूलाई यसले आश्वास्त पार्न सकेन । विश्वको आर्थिक वृद्धिदर, ब्याजदर (Interest Rate) पुनः बढ्ने (Rate Hike) चिन्ता र इन्धनको मागको अवस्था कस्तो होला भनेर उनीहरू चिन्तित बन्दा सोमवार तेल बजार रातोमा आएको छ । लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमवार बिहान अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड (Brent Crude) को भाउ प्रतिब्यारेल ४८ सेन्टले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आयो । यो समाचार तयार पार्दा नेपाली समयअनुसार साँझ ५ः३० बजेतिर ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३२ प्रतिशतको कमीसहित ८१ डलर ५८ सेन्टमा आएको थियो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (WTI) को भाउ पनि ३४ सेन्टको कमीसहित प्रतिब्यारेल ७७ डलर ३९ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि कमी केही घटेर डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल ७७ डलर ७२ सेन्टमा आयो । गएको हप्ता ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ ५ प्रतिशतभन्दा धेरैले घटेकाे थियो । यो पाँच हप्तायताकै पहिलो साप्ताहिक कमी थियो । एक वर्षअघिको तुलनामा अमेरिकामा gasoline को माग घटेपछि विश्वको सबैभन्दा ठूलो तेल खपतकर्ता देश मन्दीमा जाने हो कि भन्ने चिन्ता बल्झिँदा तेलको भाउ पछिल्लो समय दबाबमा आएको छ । अमेरिकाको कमजोर आर्थिक तथ्यांक र ठूला प्रविधि कम्पनीहरूको निराशाजक कमाइले आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ । स्थिर रहेको अमेरिकी डलर र ऋणपत्रको प्रतिफलमा भइरहेको वृद्धिदर पनि कमोडिटी बजारमा दबाब सृजना गरिरहेको छ । अमेरिकादेखि यूरोपसम्म सबै केन्द्रीय बैंकहरूले उच्च स्तरमा रहेको महँगीमाथि अंकुश लगाउन मेको पहिलो हप्तामा हुने आ–आफ्नो नीतिगत बैठकमा ब्याजदर बढाउने अनुमान गरिएको छ । चीन (China) विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता (Importer) हो । चीनले कोभिड नियन्त्रण गर्न लागू गरेको कठोर उपायहरू पूरै हटाएपछि पनि उसको आर्थिक पुनःबहाली भने उबडखाबड नै छ । यसले पनि तेलको माग कस्तो होला ? भन्ने आशंका बढाएको छ । एजेन्सी

लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।  लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।  चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।   विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन । एजेन्सी

शाङ्हाईमा लकडाउन गरेपछि घट्यो कच्चा तेलको भाउ

चैत १४, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीनको वित्तीय हब शाङहाईमा लकडाउन गरेपछि चीनको तेल माग घट्ने आशंकामा सोमवार तेलको भाउ प्रतिब्यारेल ६ डलरभन्दा धेरैले घटेको थियो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ३० बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ११२ डलर शून्य ८४ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ७ डलर १४ सेन्ट अर्थात् ५ दशमव ९४ प्रतिशत कम हो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ सोमवार  प्रतिब्यारेल १०५ डलर ५३ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा ७ डलर शून्य ७ सेन्ट अर्थात् ६ दशमलव ६७ प्रतिशत कम हो ।  शुक्रवार भने दुबै बेञ्चमार्कको भाउ १ दशमलव ४ प्रतिशतले बढेका थिए । हप्ता भरको कारोबारमा भने ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ क्रमशः ११ दशमलव ८ प्रतिशत र ८ दशमलव ८ प्रतिशतले बढेका थिए । यो तेलको भाउमा भएको तीन हप्तायताको पहिलो वृद्धि थियो । २ करोड ६० लाख जनसंख्या भएको चीनको साङ्हाई शहरमा सोमवारदेखि संक्रमण नियन्त्रण गर्न दुई चरणको लकडाउन शुरु भएको छ ।  चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । कोभिड बढेसँगै अप्रिलमा चीनको कच्चा तेल माग दैनिक ८ लाख ब्यारेलमा आउने अनुमान गरिएको छ । मंगलवार टर्कीमा हुने भनिएको रुस र युक्रेन बीचको वार्ताले पनि तेलको भाउ दबाबमा आएको हो । एजेन्सी

अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढ्ने क्रम जारी

चैत १०, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी छ । सीपीसी पाइपलाइनमार्फत हुने रुस र काजकस्तानको कच्चा तेलको निर्यातमा अवरोध देखिएपछि तेल बजारले बुधवार टेवा पाएको हो ।  उक्त दिनको कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल साढे ४ प्रतिशत (५ डलर १६ सेन्ट)ले बढेर १२० डलर ६४ सेन्टसम्म उक्लिएको थियो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ४ दशमलव ४ प्रतिशत (४ डलर ८३ सेन्ट) ले बढेर ११४ डलर १ सेन्टमा उक्लिएको थियो ।  विश्वको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता रुसमाथि थप प्रतिबन्ध लाग्ने सम्भावनाबीच बजारमा तीव्र उतारचढाव आइरहेको छ । बिहीवार ब्रसेल्समा यूरोपेली देशका नेताहरुसँगको भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि थप प्रतिबन्धहरु घोषणा गर्दैछन् ।  रुसको कच्चा तेल र तेल उत्पादनमा बन्देज लगाउने विषयमा यूरोपेली संघका सदस्य राष्ट्रहरु विभाजित छन् । तेलको भाउ यो गर्मीयाममा प्रतिब्यारेल १५० डलर सम्म पुग्न सक्ने अनुमान त्राफिगुराका बेन लककले बताएको भन्दै फाइनान्सियल टाइम्सले समाचार छापेको छ । भाउ २०० डलरमाथि उक्लिन सक्ने सम्भावनातर्फ पनि लककले औंल्याएका छन् ।  रुसले मंगलवार क्याप्यिन पाइपलाइन कन्सोर्टियम (सीपीसी) मार्फत हुने तेल निर्यात घट्ने चेतावनी दिएपछि तेल बजारमा उकालो लाग्न थालेको हो ।  बुधवार पाइपलाइन मर्मतका लागि सीपीसीको निर्यात पूर्ण रुपमा ठप्प भएको थियो । मर्मत सम्पन्न हुन कम्तिमा पनि डेढ महीना लाग्न सक्ने बताइएको छ ।  विश्वको दोस्रो ठूलो इन्धन खपतकर्ता अमेरिकामा कच्चा तेलको सञ्चितिमा आइरहेको कमीले पनि तेलको भाउलाई हालैका दिनमा टेवा दिइरहेको छ ।  अमेरिकी पेट्रोलियम इन्ष्टिच्यूटले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च १८ मा सकिएको हप्तामा अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले घटेको देखाएको छ । एजेन्सीको सहयोगमा

तेलको भाउ २ हप्ताकै न्यून विन्दुमा

कात्तिक ११, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेलको भाउ घटेर २ हप्ताकै न्यून स्तरमा ओर्लिएको छ ।  आणविक कार्यक्रमबारे नोभेम्बरको अन्त्यसम्ममा विश्वका शक्ति राष्ट्रहरुसँग कुराकानी भइरहेको भनेर इरानले बताएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकाको कच्चा तेल सञ्चिति अपेक्षा गरिएभन्दा धेरैले बढेको खबरले पनि तेलको भाउ घटाएको हो । ब्रेन्ट क्रुडको भाउ उक्त २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८२ डलर ३२ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा पनि ब्रेन्टको भाउ २ दशमलव १ प्रतिशतले घटेको थियो ।  वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८० डलर ५८ सेन्टसम्म आएको थियो । बुधवार डब्ल्यूटीआईको भाउमा २ दशमलव ४ प्रतिशतको कमी आएको थियो । सन् २०१५ मा भएको परमाणु सम्झौतालाई ब्युताउँन विश्वका छ ओटा शक्ति राष्ट्रहरु आगामी महीनाको अन्त्यदेखि वार्ता शुरु हुने बुधवार इरानको शीर्ष परमाणु वार्ताकार अली बाघेरी कानीले बताएका थिए ।  सम्झौता ब्यूँतियो भने पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ को अन्त्यतिर इरानको तेल निर्यातमा लगाएको कठोर प्रतिबन्ध हट्न सक्नेछ ।  गत हप्ता अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले बढेको अमेरिकी ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा दोब्बरभन्दा बढी हो । एजेन्सी

उत्पादकहरुको बैठक रद्द, तेलको भाउ अझै बढ्ने

एजेन्सी। तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)को बैठक रद्द भएको छ। सोमबारलाई तय गरिएको बैठकले विश्व बजारमा निरन्तर बढिरहेको तेलको मूल्यमा ब्रेक लगाउने अनुमान गरिएको थियो। तर बैठक बिनाकारण रोकिएको छ। यससँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई लिने र उपभोक्ताको ढाड अझै सेक्ने अनुमान गरिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलर छ।

कच्चा तेलको भाउ ७५ डलरमाथि आसपास

असार २१, लन्डन (बेलायत) । अन्तरराट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७५ डलर आसपास रहेको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसबीच तेलको उत्पादनसम्बन्धी नीतिमा गत हप्ता महत्वपूर्ण सम्झौता हुन नसकेपछि तेलको भाउले टेवा पाएको हो ।  साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स बीच तनाव बढिरहेकै समयमा सो सम्झौतमा सहमति हुन नसकेको हो । सोमवारको कारोबारमा तेलको भाउमा उतारचढाव कायमै रहेको थियो । यद्यपि यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव शून्य १ प्रतिशतले बढी ७६ डलर ६८ सेन्ट कायम भएको थियो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल शून्य दशमलव शून्य ५ प्रतिशतको वृद्धिसहित ७५ डलर १४ सेन्टमा किनबेच भइरहेको थियो । गत हप्ता दुई पटक सम्झौता हुन नसकेपछि ओपेक प्लस पुनः सोमवार भेट्दै छन् ।  सम्झौता भएन भने तेलको भाउ बढ्ने र आर्थिक पुनःबहालीको क्रम भंग हुने अपेक्षा गरिएको छ । वार्ता असफल भयो भने पनि मूल्य युद्ध चर्किने अनुमान गरिएको छ ।  यद्यपि मूल्य युद्धको अवस्था सृजना नहुने विश्लेषकहरुले बताएका छन् । बिहीवार पहिलो पटक सम्झौता हुन नसकेपछि ब्रेन्ट क्रुड र यूएस क्रुड दुबैको भाउ २ प्रतिशतभन्दा धेरैले बढेर ७५ डलरमाथि पुगेको थिए ।  यस स्तरमा तेलको दुबै बेञ्चमार्क सन् २०१८ यता पहिलो पटक उक्लिएका हुन् । शुक्रवारको बैठकमा पनि कुनै ब्रेकथु्र हुन सकेन । सन् २०२१ को पहिलो छ महीनामा तेलको भाउ ४५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी