कच्चा तेलको भाउ ७५ डलरमाथि आसपास

असार २१, लन्डन (बेलायत) । अन्तरराट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७५ डलर आसपास रहेको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसबीच तेलको उत्पादनसम्बन्धी नीतिमा गत हप्ता महत्वपूर्ण सम्झौता हुन नसकेपछि तेलको भाउले टेवा पाएको हो ।  साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स बीच तनाव बढिरहेकै समयमा सो सम्झौतमा सहमति हुन नसकेको हो । सोमवारको कारोबारमा तेलको भाउमा उतारचढाव कायमै रहेको थियो । यद्यपि यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव शून्य १ प्रतिशतले बढी ७६ डलर ६८ सेन्ट कायम भएको थियो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल शून्य दशमलव शून्य ५ प्रतिशतको वृद्धिसहित ७५ डलर १४ सेन्टमा किनबेच भइरहेको थियो । गत हप्ता दुई पटक सम्झौता हुन नसकेपछि ओपेक प्लस पुनः सोमवार भेट्दै छन् ।  सम्झौता भएन भने तेलको भाउ बढ्ने र आर्थिक पुनःबहालीको क्रम भंग हुने अपेक्षा गरिएको छ । वार्ता असफल भयो भने पनि मूल्य युद्ध चर्किने अनुमान गरिएको छ ।  यद्यपि मूल्य युद्धको अवस्था सृजना नहुने विश्लेषकहरुले बताएका छन् । बिहीवार पहिलो पटक सम्झौता हुन नसकेपछि ब्रेन्ट क्रुड र यूएस क्रुड दुबैको भाउ २ प्रतिशतभन्दा धेरैले बढेर ७५ डलरमाथि पुगेको थिए ।  यस स्तरमा तेलको दुबै बेञ्चमार्क सन् २०१८ यता पहिलो पटक उक्लिएका हुन् । शुक्रवारको बैठकमा पनि कुनै ब्रेकथु्र हुन सकेन । सन् २०२१ को पहिलो छ महीनामा तेलको भाउ ४५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

सम्बन्धित सामग्री

चीनको आर्थिक वृद्धिदर अनिश्चित बनेपछि घट्यो कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । चीनको अर्थतन्त्रबारे छाएको चिन्ताले प्रमुख तेल निर्यातकर्ता देशहरूले गरेको उत्पादन कटौतीको असरलाई उल्ट्याएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकामा तेल तथा ग्यास रिग्सको संख्या लगातार सातौं महीना पनि घटेको तथ्यांकले पनि तेलको भाउ घटेको हो ।  सोमबार बिहानी कारोबारदेखि तेल बजार दबाबमा रहँदा भाउ १ प्रतिशतसम्म घटेको थियो । यो समाचार तयार पार्दाखेरि भने भाउमा आएको कमी भरिएर तेलको दुवै बेञ्चमार्क हरियोमा आएका थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ बजे ब्रेन्टको भाउ ब्रेन्टको भाउ शून्य दशमलव १८ प्रतिशतले बढेर ७६ डलर ३९ सेन्टमा उक्लिएको थियो । यूएस क्रुडको भाउ पनि सोही समयमा शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ७१ सेन्टमा थियो । गएको हप्ता भने दुवै तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको थियो । अहिले चीनको अर्थतन्त्रलाई शक्तिशाली अवरोधले घेरिरहेको छ । घरजग्गा बजार गएको वर्षको कमीबाट उब्रिएको छैन । मेमा खुद्रा विक्री र औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा तल थियो ।  यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण कयौं ठूला बैंकले घटाइसकेका छन् । गएको हप्ता दुई पटक ब्याजदर घटाएको केन्द्रीय बैंकले मंगलवार अर्को कटौती गर्ने अपेक्षा व्यापक छ । सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन चीनले थप प्रोत्साहन ल्याउने स्रोतहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । तर, कर्जा र पूँजी पलायनसम्बन्धी चिन्ताका कारण प्रोत्साहन उपभोक्ता र निजी क्षेत्र लक्षित हुने अनुमान छ ।  जुन १६ मा सकिएको हप्तामा अमेरिकामा तेल तथा ग्यास रिग काउन्ट ६८७ रहेको छ । यो अघिल्लो हप्ताको भन्दा ८ कम हो । यो संख्या सन् २०२२ यताकै कम हो । रिग संख्यामा आएको कमीले भविष्यमा उत्पादन कम हुन्छ भन्ने देखाउँछ । इरानको बढ्दो तेल निर्यातले पनि मूल्यमा दबाब दिइरहेको छ । यो वर्ष इरानको कच्चा तेल निर्यात र उत्पादन दुवै कीर्तिमानी स्तरमा छन् । एजेन्सी

नेपालमा उत्पादित तेल महँगो हुने

काठमाडौं, जेठ १७ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु(याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल […]

लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।  लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।  चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।   विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन । एजेन्सी

कच्चा तेल प्रतिब्यारेल ८९ डलरमा झर्‍यो, आउने महिना उत्पादन थप बढाइने

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेल (डब्लूटीआई)को मूल्य प्रतिब्यारेल ८९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरेको छ । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य २ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अझै घट्ने विभिन्न प्रक्षेपण सार्वजनिक भएका छन् ।

अन्तरराष्ट्रिय बजारमा १०० डलरभन्दा तल झर्‍यो तेलको भाउ

चैत २८, पेचिङ (चीन) । अन्तरराष्ट्रिय बजारमा  सोमवार कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल १०० डलरभन्दा तल आएको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको बन्दाबन्दी र अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य देशहरुले आफ्नो रणनीतिक भण्डारबाट कच्चा तेल र तेलजन्य प्रडक्ट झिक्ने योजना बनाएपछि तेलको भाउ चार डलरभन्दा धेरैले घटेको हो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ सोमवार प्रतिब्यारेल ४ दशमलव शून्य ९ प्रतिशतले घटेर ९८ डलर ५९ सेन्टमा आएको छ । यो अघिल्लो दिन कोमेक्स बन्द हुँदाको तुलनामा चार डलर २० सेन्ट कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमक्स डिभिजनमा सोमवार वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ४ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल ९४ डलर शून्य ७ सेन्टमा आएको थियो । यो पनि अघिल्लो दिनको तुलनामा ४ डलर १९ सेन्ट कम हो ।  रणनीतिक भण्डारबाट तेल झिक्ने सरकारहरुको निर्णयले आगामी  महीना बजारमा देखिन सक्ने कसिलो आपूर्ति घटाउन मद्दत गर्ने र यसले निकट भविष्यमा मूल्य नियन्त्रण गर्ने विश्लेषण गरिएको छ । आईईएका सदस्य देशहरुले आगामी छ महीनामा ६ करोड ब्यारेल तेल भण्डारबाटबाट झिक्दै छन् । अमेरिकाले यस अवधिमा १८ करोड ब्यारेल कच्चा तेल निकाल्दैछ । छ महीनामा रणनीतिक भन्डारबाट दैनिक १३ लाख ब्यारेल तेल बजारमा आउने छ । यो रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्धका कारण रुसी आपूर्तिमा आएको दैनिक १० लाख ब्यारेलको अभाव भर्पाई गर्न पर्याप्त हुनेछ ।  अहिले चीनमा कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोनका कारण साङ्हाईसमेत कयौं शहरमा संक्रमण बल्झिरहेको छ । ती क्षेत्रबाट संक्रमण अन्य शहरहरुमा पनि फैलिने र चीनको शून्य कोभिडको नीतिअनुसार थप क्षेत्रबाट बन्दाबन्दी भएर औद्योगिक उत्पादन र घरेलु खपतमा नकारात्मक प्रभाव पर्ने चिन्ता पछिल्लो समय उत्पन्न भएको छ । एजेन्सी

शाङ्हाईमा लकडाउन गरेपछि घट्यो कच्चा तेलको भाउ

चैत १४, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीनको वित्तीय हब शाङहाईमा लकडाउन गरेपछि चीनको तेल माग घट्ने आशंकामा सोमवार तेलको भाउ प्रतिब्यारेल ६ डलरभन्दा धेरैले घटेको थियो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ३० बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ११२ डलर शून्य ८४ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ७ डलर १४ सेन्ट अर्थात् ५ दशमव ९४ प्रतिशत कम हो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ सोमवार  प्रतिब्यारेल १०५ डलर ५३ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा ७ डलर शून्य ७ सेन्ट अर्थात् ६ दशमलव ६७ प्रतिशत कम हो ।  शुक्रवार भने दुबै बेञ्चमार्कको भाउ १ दशमलव ४ प्रतिशतले बढेका थिए । हप्ता भरको कारोबारमा भने ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ क्रमशः ११ दशमलव ८ प्रतिशत र ८ दशमलव ८ प्रतिशतले बढेका थिए । यो तेलको भाउमा भएको तीन हप्तायताको पहिलो वृद्धि थियो । २ करोड ६० लाख जनसंख्या भएको चीनको साङ्हाई शहरमा सोमवारदेखि संक्रमण नियन्त्रण गर्न दुई चरणको लकडाउन शुरु भएको छ ।  चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । कोभिड बढेसँगै अप्रिलमा चीनको कच्चा तेल माग दैनिक ८ लाख ब्यारेलमा आउने अनुमान गरिएको छ । मंगलवार टर्कीमा हुने भनिएको रुस र युक्रेन बीचको वार्ताले पनि तेलको भाउ दबाबमा आएको हो । एजेन्सी

अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढ्ने क्रम जारी

चैत १०, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी छ । सीपीसी पाइपलाइनमार्फत हुने रुस र काजकस्तानको कच्चा तेलको निर्यातमा अवरोध देखिएपछि तेल बजारले बुधवार टेवा पाएको हो ।  उक्त दिनको कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल साढे ४ प्रतिशत (५ डलर १६ सेन्ट)ले बढेर १२० डलर ६४ सेन्टसम्म उक्लिएको थियो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ४ दशमलव ४ प्रतिशत (४ डलर ८३ सेन्ट) ले बढेर ११४ डलर १ सेन्टमा उक्लिएको थियो ।  विश्वको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता रुसमाथि थप प्रतिबन्ध लाग्ने सम्भावनाबीच बजारमा तीव्र उतारचढाव आइरहेको छ । बिहीवार ब्रसेल्समा यूरोपेली देशका नेताहरुसँगको भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि थप प्रतिबन्धहरु घोषणा गर्दैछन् ।  रुसको कच्चा तेल र तेल उत्पादनमा बन्देज लगाउने विषयमा यूरोपेली संघका सदस्य राष्ट्रहरु विभाजित छन् । तेलको भाउ यो गर्मीयाममा प्रतिब्यारेल १५० डलर सम्म पुग्न सक्ने अनुमान त्राफिगुराका बेन लककले बताएको भन्दै फाइनान्सियल टाइम्सले समाचार छापेको छ । भाउ २०० डलरमाथि उक्लिन सक्ने सम्भावनातर्फ पनि लककले औंल्याएका छन् ।  रुसले मंगलवार क्याप्यिन पाइपलाइन कन्सोर्टियम (सीपीसी) मार्फत हुने तेल निर्यात घट्ने चेतावनी दिएपछि तेल बजारमा उकालो लाग्न थालेको हो ।  बुधवार पाइपलाइन मर्मतका लागि सीपीसीको निर्यात पूर्ण रुपमा ठप्प भएको थियो । मर्मत सम्पन्न हुन कम्तिमा पनि डेढ महीना लाग्न सक्ने बताइएको छ ।  विश्वको दोस्रो ठूलो इन्धन खपतकर्ता अमेरिकामा कच्चा तेलको सञ्चितिमा आइरहेको कमीले पनि तेलको भाउलाई हालैका दिनमा टेवा दिइरहेको छ ।  अमेरिकी पेट्रोलियम इन्ष्टिच्यूटले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च १८ मा सकिएको हप्तामा अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले घटेको देखाएको छ । एजेन्सीको सहयोगमा

बुधवार एकै दिन १३ प्रतिशतले ओरालो लाग्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बुधवार तेलको भाउ एकै दिन १३ प्रतिशतले घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने बताएपछि तेलको भाउमा उक्त दिन २ वर्षयताकै उच्च एक दिने कमी आएको हो ।  बुधवार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो । ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो । सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ । यो एक दिने कमी नोभेम्बरयताकै उच्च हो ।  अहिले यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । पछिल्लो समय विश्व बजारमा तेलको भाउमा भएको वृद्धि नियन्त्रण गर्न अमेरिकाले विश्वभरका तेल उत्पादक देशहरुलाई सकेको जति उत्पादन बढाउन भनिरहेको छ । अहिले तेलको मूल्य वृद्धि रोक्न माग धान्ने गरी उत्पादन बढाउन जरुरी छ । रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि  तेल बजारमा बुधवार कमी आएको हो । रुसी विदेश मन्त्री युक्रेनी समकक्षीसँग वार्ताका लागि बुधबार टर्की गएको खबरले पनि तेल बेजारमा  पछिल्लो समय देखिएका त्रास कम गरेको हो ।  रुसी तेलमाथि अमेरिका, बेलायत र ईयूले लगाएको प्रतिबन्धका कारण बजारमा उत्पन्न आपूर्ति अभाव ओपेकको अतिरिक्त तेल आपूर्तिले केही कम गर्न सक्ने सम्भावना पनि पछिल्लो समय देखिएको छ । रुस विश्वको शीर्ष कच्चा तेल र इन्धन निर्यातकर्ता हो । विश्वको कूल आपूर्तिको ७ प्रतिशत अर्थात् झन्डै दैनिक ७० लाख ब्यारेल तेल रुसबाट आउने गरेको छ । कच्चा तेल भन्डारणबाट थप तेल बजारमा ल्याउन सकिने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अभिव्यक्तिले पनि बुधवार तेलको भाउ घटेको हो । एजेन्सी

तेलको भाउ २ हप्ताकै न्यून विन्दुमा

कात्तिक ११, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेलको भाउ घटेर २ हप्ताकै न्यून स्तरमा ओर्लिएको छ ।  आणविक कार्यक्रमबारे नोभेम्बरको अन्त्यसम्ममा विश्वका शक्ति राष्ट्रहरुसँग कुराकानी भइरहेको भनेर इरानले बताएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकाको कच्चा तेल सञ्चिति अपेक्षा गरिएभन्दा धेरैले बढेको खबरले पनि तेलको भाउ घटाएको हो । ब्रेन्ट क्रुडको भाउ उक्त २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८२ डलर ३२ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा पनि ब्रेन्टको भाउ २ दशमलव १ प्रतिशतले घटेको थियो ।  वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि २ हप्ताकै न्यून विन्दु प्रतिब्यारेल ८० डलर ५८ सेन्टसम्म आएको थियो । बुधवार डब्ल्यूटीआईको भाउमा २ दशमलव ४ प्रतिशतको कमी आएको थियो । सन् २०१५ मा भएको परमाणु सम्झौतालाई ब्युताउँन विश्वका छ ओटा शक्ति राष्ट्रहरु आगामी महीनाको अन्त्यदेखि वार्ता शुरु हुने बुधवार इरानको शीर्ष परमाणु वार्ताकार अली बाघेरी कानीले बताएका थिए ।  सम्झौता ब्यूँतियो भने पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ को अन्त्यतिर इरानको तेल निर्यातमा लगाएको कठोर प्रतिबन्ध हट्न सक्नेछ ।  गत हप्ता अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले बढेको अमेरिकी ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा दोब्बरभन्दा बढी हो । एजेन्सी