चार कम्पनीले १३ करोडभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासन गर्दै, कुन कम्पनीको कति ?

काठमाडौं । चार कम्पनीले कुल १३ करोड ६६ हजार ९८० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । अपर तामाकोशी हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएका हुन् ।   यीमध्ये अरुण काबेली, सिनर्जी पावर र मल्टी पर्पस फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मितिसमेत तय गरेका छन् ।   अरुण काबेलीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार १३ गते स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि असार २५ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् ।  बोनस शेयरपश्चात् कायम चुक्ता पूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।  त्यस्तै सिनर्जी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार २० गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।  त्यस्तै मल्टी पर्पस फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार २६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि साउन १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात उक्त पूँजी रू. ६१ करोडभन्दा बढी पुग्नेछ । अपर तामाकोशी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार २२ गते सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीले भने बुक क्लोज मिति तय गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ५९ करोड छ । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । यी कम्पनीबाहेक नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । आवेदकले साउन १८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कुन कम्पनीको कति ?  

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीका शेयरको भविष्य

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत् कम्पनीहरूको शेयर निष्कासन र कारोबारका सम्बन्धमा नयाँ व्यवस्था गर्न खोजेको छ । बैंक तथा वित्तीय संस्थाहरूको जस्तो कडा नियमन नभएकाले जलविद्युत्का शेयरहरूमा विभिन्न खालका विकृति देखिएकाले लगानीकर्ताको हित संरक्षण गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसँग धितोपत्र बोर्डले छलफल गरी शेयर कारोबारमा केही कडाइ गर्न आवश्यक रहेको बताएको हो ।  नयाँ शेयर निष्कासन गर्न भौतिक पूर्वाधार कम्तीमा १५ प्रतिशत काम भएको हुनुपर्ने, आईपीओबाट उठाइएको रकम चालू परियोजनामा मात्र उपयोग गर्न पाइने, परियोजनाको इन्टरनल रेट अफ रिटर्न १२ प्रतिशत हुनुपर्नेजस्ता प्रावधानको आवश्यकता औंल्याइएका छन् । सेबोनको यो कदम सकारात्मक छ । तर, यतिले मात्र जलविद्युत् क्षेत्रको शेयर खरीदविक्रीमा रहेका समस्यालाई सम्बोधन गर्ने देखिँदैन । जलविद्युत् क्षेत्रमा नयाँनयाँ कम्पनी आउने क्रम जारी छ भने पुराना कम्पनीले हकप्रद शेयर जारी गरिरहेका छन् । अहिले शेयरको किताबी मूल्यभन्दा नेटवर्थ ज्यादै कम भएको अपर तामाकोशीले हकप्रद जारी गरेको छ जसका लागि आवेदन दिने कि नदिने भन्नेमा लगानीकर्ता अन्योलमा परेका छन् । यस्तो समस्यालाई सेबोनको नयाँ नियमले रोक्नेछ ।  तर, जलविद्युत् कम्पनीको शेयरको भविष्य के हुने हो भन्ने कुरा यसका लगानीकर्ताले राम्ररी बुझेका छैनन् । विद्यमान कानूनअनुसार जलविद्युत् परियोजनाहरू निश्चित अवधिपछि सरकारको स्वामित्वमा जान्छन् । त्यसपछि शेयरधनीको शेयर अर्थहीन हुन्छ । यो कुरा कति लगानीकर्ताले बुझेका छन् त ? अवधि पूरा भएपछि कम्पनीको अवस्था के हुने भन्ने पनि स्पष्ट छैन । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आइसक्नुपर्ने थियो । तर, अहिलेसम्म यसका लागि पहल नै भएको छैन । सरकारले कुनै विकल्प दिन्छ भन्ने सोच धेरैमा पाइन्छ । त्यसैले सरकारले स्वामित्व लिएपछि के हुने भन्ने कुरा लगानीकर्तालाई स्पष्ट पार्नु आवश्यक छ । जलविद्युत् क्षेत्रको शेयरमा लगानी गर्नेदेखि लिएर स्वामित्व हस्तान्तरणसम्मका बारेमा लगानीकर्तालाई धेरै कुरा बुझाउन आवश्यक देखिएकाले धितोपत्र बोर्ड मात्र नभई सरकारका अन्य निकायले समेत काम गर्नुपर्ने देखिएको छ । कतिपय कुरामा कानूनको आवश्यकता वा संशोधन पनि आवश्यक पर्ने भएकाले यसबारे छलफल गर्न जरुरी भइसकेको छ ।

मूल्य समायोजनपछि नेशनल हाइड्रोपावरको शेयर मूल्य कति ?

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि शेयर मूल्य समायोजन गरेपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८२ दशमलव ०७ कायम गरेको छ ।  बिहीवारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२३ दशमलव १० थियो । अब यही समायोजित मूल्य अनुसार नै कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (असार १ गते) बुक क्लोज गरेको हो । यसको आधारमा गत जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड छ । यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।