रक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न 'सर्कुलर'

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी कुटेका छन् । तिहारको टिकाको दिन बेलायतबाट फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीमाथि हात हालेका हुन् ।मदिराले मातेर आएका उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए । ब्यागेजमा मदिरा देखेपछि विमानस्थल भन्सारका नायब सुब्बा सुमन थापाले ६ बोतल रक्सी एक्लैले ल्याएको कि साथमा अरु साथीहरु पनि छन् भन्दै प्रश्न गरे । लगत्तै सीईओ डा. रेग्मीले थापालाई थप्पड हाने ।‘म को हुँ तैले चिनेको छस् ?’ डा. रेग्मीले भनेको शब्द सुनाउँदै स्रोतले भन्यो, ‘म यो देश चलाउने मान्छे हुँ, बुझिस् ।’जाँचपासमा खटिएका कर्मचारीमाथि हातपात भएपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिए । लगत्तै एयरपोर्ट भन्सारका प्रमुख महेश भट्टराईले यो विषयको जानकारी भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई पनि गराए । सापकोटाले जोसुकै भएपनि नियम अनुसार कारबाही गर्न भने ।भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।मदिरा जफतसहित उनलाई ५ हजार जरिवाना पनि तिराईएको छ । घटना गुपचुप राख्न सर्कुलरउनले मदिरा सेवन गरेको पुष्टि स्वास्थ्य जाँचमार्फत पनि भयो । तर, भीआईपी भएकै कारण घटना लुकाउन विमानस्थल कार्यालय आफैँ पनि लाग्यो ।उनलाई छोड्ने र घटनालाई बाहिर कहीँकतै सार्वजनिक नगर्न कर्मचारीलाई सर्कुलर नै जारी गरियो । विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई पनि ती व्यक्ति को हुन् भन्नेमा आफूलाई जानकारी नभएको बताउँछन् । टीकाको दिन मदिरा सेवन गरेका एक यात्रुले कर्मचारीमाथि दुर्व्यहार गरेको अभिलेख रहेको तर, ती व्यक्ति को हुन् भन्ने जानकारी नरहेको भट्टराईको दाबी छ ।के भन्छ पर्यटन बोर्ड ?पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल घटनाबारे आफूले पनि भर्खरै जानकारी पाएको बताउँछन् । उनले यसबारे बोर्डमा अनौपचारिक छलफल हुने पनि बताए ।‘अब सचिव (पर्यटन सचिव) ले प्रस्ताव ल्याएको खण्डमा औपचारिक छलफल नै होला, नत्र अनौपचारिक छलफल मात्रै हुन्छ, के भएको हो भन्ने कुरा बुझ्ने काम हुन्छ । बाँकी छलफल पछि नै थाहा होला ।’बोर्डको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्था छ ।बोर्डका सीईओ डा. कार्तिक १५ गते (नोभेम्बर १) देखि लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए । मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आलेले गरेका थिए । साथमा सचिव यादवप्रसाद कोइराला पनि थिए । तर, रेग्मीले कर्मचारीमाथि हातपात गर्दा उनीहरु थिएनन् । 

सम्बन्धित सामग्री

एयरपोर्टका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले बोलाए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी कुट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई मन्त्रालयले बोलाएको छ । पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने सीईओ रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् । ुमैले उहाँलाई मन्त्रालयमा बोलाएको छु, घटना के भएको हो भनेर उहाँसँग जानकारी लिन बोलाएको हुँ’ मन्त्री आलेले भने, ‘यो घटनालाई गम्भीरताका साथ लिएको छु ।’ उनले सोधपुछ गरिसकेपछि थप प्रक्रिया अगाडी बढ्ने पनि बताए । ‘सोधपुछ नै नगरी छानबिनको प्रक्रिया अगाडी बढाउने कुरा भएन, सुरुमा घटनाको विषयमा जानकारी लिएपछि छानबिन पनि हुन्छ’ मन्त्री आलेले भने ।बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’