व्यापार अपार्टमेण्टको, धन्दा डाक्टरी डिग्रीको

व्यापार अपार्टमेण्टको, धन्दा डाक्टरी डिग्रीको

सम्बन्धित सामग्री

धर्मसंगतका साथ समयअनुसारको पेशा

मानिसहरू जीवनयापन गर्न कुनै न कुनै व्यापारव्यवसाय वा वृत्ति अपनाउँछन् । बच्चाहरूलाई सानैदेखि पछि के बन्ने भनी प्रेरित गरिँदा पनि ठूलाबडाहरूबाट निर्देश हुन्छ : डाक्टर, इन्जिनीयर, शिक्षक वा यस्तै यस्तै भनी । यसरी खास पेशा रोजाइ वा प्राथमिकतामा पर्नुका विभिन्न आधार होलान् । आफूले चाहेजस्तो पेशा वा वृत्ति अपनाउन मानिसहरू शिक्षा, तालीम लिन मेहनत गर्छन् । आफ्ना सेवाग्राहीप्रति इमानदार रहेर आफ्नो पेशाधर्म निभाउँछन् । प्राय: पाका अभिभावक, वयस्क र विद्वान्हरू धर्मसंगत वा धर्मले उपयुक्त पेशा बच्चाले अपनाउन् भन्ने अभीष्ट राख्छन् । मूलत: पेशाव्यवसायबाट परिवारजन वा अरू कसैको अहित नहोस्, सबैको भलाई होस् भन्ने नै उनीहरूको अभीष्ट हुन्छ ।  कस्तो काम, पेशा वा व्यवसाय धर्मसंगत हुन्छ भन्ने कुरा हुर्किरहेका र असल जीवन बनाउन खोजिरहेका किशोरकिशोरीहरूका लागि विशेष महत्त्वको हुन्छ । कुनै हिसाबले अरू कसैको अहित नहुने व्यापारव्यवसाय नै सच्चा मान्नुपर्छ । सच्चा व्यवसायमा शुरूमा धेरै मेहनत गर्नुपर्ने भए पनि पछि फाइदा नै हुन्छ । यस्तो व्यवसायमा धोका र झुट हुँदैन, कसैलाई ठगिँदैन, कसैको अहित नहोस् भन्ने हेक्का राखिन्छ । नशालु पदार्थ जाँडरक्सी, सुर्ती, चुरोट, गाँजा, अफिम, चरेसजस्ता लागूपदार्थ आफू सेवन नगर्ने तर बेच्ने गर्नाले अरूलाई हानि हुन्छ । यस्ता वस्तुको सेवनले मानिस दिग्भ्रमित भई गलत बाटोमा लाग्न पुग्छ । मद्य, मांस, विषविषादि, अस्त्रशस्त्र, पशुपक्षी आदिको व्यापारव्यवसाय नीतिशास्त्रका दृष्टिले मैलो व्यवसाय हो । हरेक चिजबिजको उपयोग वा उपभोगका पछाडि राम्रो र नराम्रो लुकेको हुन्छ । उपर्युक्त चिजहरूले आमरूपमा मानिसको अहित हुने भएकाले यी पेशा धार्मिक रूपमा वर्जित गरिएका हुन् ।  त्यसो त हरेक पेशामा इमानदार र बेइमान मान्छे र राम्रा, नराम्रा पक्ष हुन्छन् । पेशा जेजस्तो भए पनि पेशालाई उचित अनुचित, दोषयुक्त वा निर्दोष भनी परख गर्ने आधार भनेको त्यस पेशाका व्यक्तिको अभिप्राय, मनोकांक्षा वा मनस्थिति हो भन्ने नै हो । डाँकू लुटेराले धनमाल लुट्न चक्कु प्रहार गरी मानिसको ज्यान लिन्छ । यदाकदा चिकित्साकर्ममा चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा मानिसको मृत्यु पनि हुन सक्छ । ज्यान दुवैबाट गएको हो, तर त्यसमा अन्तर्निहित अभिप्रायमा आकाश जमीनको अन्तर हुन्छ । एउटामा प्राण हर्ने, अर्कोमा ज्यान बचाउने । भवितव्यले अन्यथा हुन गए पनि चिकित्सकले शल्यक्रिया गर्र्नु उसको धर्म हो, पाप होइन । त्यसो त डाक्टरी वा यस्तै अरू मर्यादित पेशामा पनि खराब नियत भएका पेशाकर्मी नहुने होइनन् । चिकित्साकर्मीको चेतनाले के भन्छ ? अरू मानिस स्वस्थ रहून् भन्ने छ कि बिरामी परेर आपूmलाई धेरै कमाइ होस् भन्ने छ ? चिकित्साजस्तो इज्जत गरिने पेशामा असंगत प्रवृत्ति हाबी हुँदै जाँदा यसको मर्यादा र इथिक्समै धक्का लाग्न सक्छ । मानिस कर्मले धार्मिक वा पापी हुने हो । पेशाकर्मीको कर्मबाट कुनै पनि पेशाको मर्यादा निक्र्योल भइरहेको देखिन्छ । यद्यपि, पेशाभन्दा पनि व्यक्तिको कर्मले नै उसको नियति निक्र्योल हुनेगर्छ । अरूलाई हानिनोक्सानी नहोस् भनेर ख्याल राख्ने, सकेसम्म अरूको कल्याण र फाइदाका हिसाबले काम गर्ने पेशाकर्मी नै मर्यादित र नीतिसंगत पेशाकर्मी हुन् ।  जीविका ठीक ढंगले चलाउन शिल्प, कला र पेशागत ज्ञान आवश्यक हुन्छ । आफ्नो रुचि, क्षमता र आवश्यकता आदिलाई ध्यानमा राखेर कुनै पेशाको शिल्पमा पारंगत हुने कोसिस गर्नुपर्छ । वर्तमानअनुसार कम्प्युटर, सफ्टवेयरलगायत तथ्यांक कला, अर्थशास्त्र, गणित, व्यवस्थापन र विज्ञानका कुरा आवश्यक हुन गएको छ ।   व्यापारव्यवसाय र बजार अर्थतन्त्रमा व्याप्त विसंगतिको स्थूल विश्लेषण गर्दै विपश्यनाचार्य सत्यनारायण गोयन्काज्यू गलत पहुँच र प्रवृत्ति स्पष्ट रूपमा औंल्याउनुहुन्छ । कुनै विपद्, अनिकाल, युद्ध वा महामारी भएर व्यापार व्यवसाय समस्यामा परी सामानको भाउ बढ्दा बजार सुध्रिएको र सामानको उत्पादन बढ्न गई मूल्य घट्न पुग्दा व्यापार चौपट भयो भन्नु अधार्मिक चेतना हो । यस्तो चेतनाले व्यापार व्यवसायलाई अकुशल बनाउँछ । मनोवृत्ति वा चित्तको चेतना दूषित भएमा राम्रोभन्दा राम्रो व्यवसाय पनि दूषित हुन जान्छ । धन कमाउनुमा दोष छैन, बरु यो जरुरी नै छ । गृहस्थले सकेसम्म पेशाले दिने सबभन्दा अधिक ऐश्वर्य, सम्पत्ति र धन कमाउने हो, संग्रह गर्ने नै हो । गृहत्यागी धनवान् र गृहपति धनविहीन वा कंगाल हुनु कल्याणकारी हुँदैन । यसले धर्मधारणमा कठिनाइ उत्पन्न हुन्छ । गृहस्थले जस्तै परिस्थितिमा पनि इमानदारी, मेहनत र पुरूषार्थले कमाउने प्रयास जारी राख्नुपर्छ । हरेक पेशामा कमाउनु आफ्ना लागि मात्र नभई समाजको हितका लागि पनि हो भन्ने भावना हुनुपर्छ ।   लेखक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागीय प्रमुख हुन् ।