सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय सार्वजनिक गरेको थियो । सो निर्णयले उनीहरुको सम्मानभन्दा पनि अपमान धेरै भएको भन्दै आलोचना सुरु भएको हो ।
टिकटमा दुवै व्यक्तित्वको नामअगाडि डा. लेखिएको कतिपयलाई चित्त बुझेको छैन । सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
'उहाँहरु आफैंमा पूर्ण हुनुहुन्छ। उहाँहरुका नाम अगाडि डा. नथपेको भए अझ बढी यथार्थ र इज्जतिलो हुन्थ्यो। जे भएपनि सरकारले गरेको यो काम प्रशंसा योग्य छ ।'- वरिष्ठ पत्रकार तिर्थ कोइरालाले फेसबुकमा लेखेका छन्।
यसैगरी,आम सञ्चारका प्राध्यापक भानुभक्त आचार्यले फेसबुकमा ‘मानार्थ पिएचडी र ‘पीएचडी’ फरक हुन् भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।
टिकटमा घिमिरे र जोशी दुवैको नामअगाडि ‘डा.’ लेखिएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । ‘डा.’ को अर्थ डाक्टर हो, जो दुईथरी मानिसहरुले प्रयोग गर्छन् । एउटा चिकित्साशास्त्र पढेका र अर्को कुनै विषयमा विद्यावारिधि गरेका । घिमिरे र जोशी दुवै याे श्रेणीमा पर्दैनन् । यद्यपि, उनीहरू दुवै मानार्थ विद्यावारिधि प्राप्त हुन् ।
सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्मा मन्त्रिपरिषद्ले हुलाक टिकटमा नाम राख्ने निर्णय आफैँमा सम्मानको लागि भएको भन्दै यसमा अपमान हुने कुरै नभएको बताउँछन्।
दुई व्यक्तित्वहरुकै इच्छामुताबिक नामअघि डा. राखिएको बताइएको छ। टिकट प्रकाशनको प्रयोजनार्थ दुवैतर्फबाट पठाइएको बायोडाटामा नामअघि डा. उल्लेख बताईएको छ।