यस वर्ष भारतकाे सर्वाेच्च अदालतले अयाेध्यमा ऐतिहासिक राम मन्दिर निर्माणका पक्षमा फैसला सुनाएकाे छ। अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि त्यहाँ मन्दिर बनाउन कार्य सुरु भएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले मन्दिरकाे शिलान्यास समेत गरेका छन्।
मुख्य घटनाक्रम: कहिले के भयो?
सन् १५२८: अयोध्यामा हिन्दूहरूले भगवान् रामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिदको निर्माण।
सन् १८५३: सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भएका विवरण।
सन् १८५९: औपनिवेशकालिन ब्रिटिश शासकहरूद्वारा तारबार निर्माण। भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिनेगरी व्यवस्थापन।
सन् १९४९: मस्जिदभित्र भगवान् रामका मूर्तिहरू देखा पर्छन्। हिन्दूहरूले ती मूर्ति राखिदिएको आशङ्काका माझ मुस्लिमद्वारा विरोध। दुवै पक्षद्वारा अदालतमा मुद्दा। सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिन्छ।
सन् १९८४: विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले भगवान् रामको जन्मस्थानलाई 'मुक्त' गर्न भन्दै समिति गठन। भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान।
सन् १९८६: जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान। मुस्लिमहरूद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्शन कमिटी गठन।
सन् १९८९: विश्व हिन्दू परिषद्को अभियान तीव्र। विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण।
सन् १९९०: परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति। विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल।
सन् १९९१: उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीको सरकार गठन।
सन् १९९२: विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूद्वारा मस्जिद ध्वस्त। लगत्तै देशभरि फैलिएको हिन्दू-मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु।
सन् १९९८: प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण।
सन् २००२ फेब्रुअरी: १५ मार्चको समयसीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्को चेतावनी। सयौँ स्वयंसेवक अयोध्यामा भेला। अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु।
सन् २००२ मार्च: रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दङ्गामा अधिकांश मुस्लिम सहित एकदेखि दुई हजार मानिसको मृत्यु।
सन् २००२ एप्रिल: सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न तीन उच्च अदालतका न्यायाधीशहरूद्वारा सुनुवाइ थालनी।
सन् २००३ ज्यानुअरी: अदालतको आदेशमा पुरातत्त्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षण थालनी।
सन् २००३ अगस्ट: पुरातात्त्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी। मुस्लिमहरूद्वारा त्यसको विरोध। हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा। तर पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट।
सन् २००३ सेप्टेम्बर: बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश। तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन।
सन् २००४ अक्टोबर: आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ।
सन् २०१०: इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश।
सन् २०११: सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन।
सन् २०१४: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण।
सन् २०१९: मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुन: विजयी।
सन् २०१९ नोभेम्बर: भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला।
सन् २०२० अगस्ट ५: विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय।
मस्जिद हटाएर मन्दिर बनाउने विषयमा लामो समयदेखिको विवाद गत नोभेम्बर ९ मा सर्वोच्च अदालतको फैसलासँगै समाधान भएकाे छ। रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो। दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको छ।
अदालतकाे फैसलासँगै यसैवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राम मन्दिरकाे शिलान्यास गरेका छन्। विशेष मुहुर्तका साथ प्रधानमन्त्री माेदीले मन्दिरकाे शिलान्यास गरेका हुन्। मन्दिर सर्वसाधारणकाे चन्दाबाट निर्माण हुने बताइएकाे छ।
यसै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको बताएपछि भारतसहित नेपाल भित्र पनि सर्वत्र विरोध भयो