छोटकरीमा : आज - २०७७ मंसिर १९, शुक्रबार

आज राजासहितको हिन्दू राष्ट्र माग्दै हेटौँडामा प्रदर्शन, आजकोरोना महामारी शुरु भएपछि कति नेपाली स्वदेश फर्किए ?, ट्वान्टी–२० मा भारतको विजयी सुरुवात, बाइडेनको पहिलो काम : ‘सय दिन मास्क लगाऔँ अभियान’ सञ्चालनकाे तयारी, इरानले परमाणु गतिविधिलाई बढावा दिने कानुन ल्याउँदै लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



संसदीय समितिले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूमिमा नेपालको हकभोग कायम गर्ने विषयलाई नेपाल-भारतको परराष्ट्रमन्त्रीहरू रहेको ज्वाइन्ट कमिसनको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ । 



 प्रमुख प्रतिपक्ष कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।



 कहिलेकाहीँ दिनमा दुईपटकसम्म त कहिले हरेक दिनजसो भेटघाट गर्ने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘वान टु वान’ संवाद नभएको झन्डै एक महिना हुन लाग्यो । उनीहरुबीच पछिल्लोपटक कात्तिक २५ मा करिब १५ मिनेट मात्रै ‘वान टु वान’ संवाद भएको थियो । त्यसयता ओली र दाहालबीच बैठक वा सामूहिक भेट भए पनि ‘वान टु वान’ संवाद ठप्पै छ ।



 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालयका बहुमत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आउने दिएको समयसीमा भोलि सकिँदैछ । अर्थात्, नेकपा सचिवालयको बैठक भोलि (शनिबार) दिउँसो एकबजे सचिवालयको बैठक बस्दैछ । सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षका नेताहरूको दौडधुप बाक्लिएको छ । सँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छन् । पदीय मर्यादा भुलेर पार्टीको विवादमा प्रविष्ट भएको भन्दै टिप्पणी पनि भइरहेको छ ।



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने बताएका छन् । आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनको निष्कर्ष छ । 



लोकतन्त्र, विधि–पद्धति र संस्थागत निर्णयको सन्देश दिने मुख्य दायित्व देशका प्रमुख दुई राजनीतिक दल सत्तारुढ नेकपा र विपक्षी कांग्रेसको काँधमा छ । तर, आन्तरिक झगडामा फसेका दुवै दल विधि–पद्धति र संस्थागत निर्णयमा होइन, सीमित नेताको सोच र गतिविधिमै चलेका छन् । 



राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरेकी छिन् ।



नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् ।



भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ ।

सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका हुन् ।



कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६३ हजारभन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ।  उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो। 



 भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।



 चलचित्र क्षेत्रमा लामो समयदेखि विभिन्न चलचित्रकर्मीहरूलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको हरितारा चलचित्र पुरस्कार समितिले २०७५ सालको हरितार चलचित्र पुरस्कार चलचित्रकर्मी कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वुधबार बसेको बैठकले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 



राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै आज हेटौँडामा मोटरसाइकल र्‍याली गरेको छ। 

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारको परिक्रमा गरेको थियो ।



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् । 

शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता गरिने बताएकी हुन् । 



दुई वर्षअघि सार्वजनिक शिक्षा सुधारका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको २५ सदस्यीय आयोगले ०७५ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो । 

तर, सरकारले प्रतिवेदन सार्वजनिक नगर्दा शैक्षिक सुधारका लागि सार्वजनिक बहस हुन नसकेको र कार्यान्वयनका लागि समेत दबाब नपुगेको भन्दै आयोगका सदस्यहरूरु आफैँले प्रतिवेदन सार्वजनिक गरेका हुन् । 



काठमाडौं महानगरपालिकाले आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि कक्षा आठसम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तकको अध्यापन थालेको हो ।





फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना भाइरसबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउन र एकजुट पार्ने श्रेय ९४ वर्षीय वेलेरीलाई दिने गरिन्छ ।

सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका वेलेरीलाई केही दिनयता श्वासप्रश्वासमा समस्या देखिएको थियो । गत साता मात्र अस्पतालबाट स्वास्थ्यलाभ गरी उनी घर फर्किएका थिए । स्वास्थ्यमा खराबी आएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । बुधबार राति वेलेरीले अन्तिम सास लिएको अस्पतालले जनाएको छ ।



इरानले संयुक्त राष्ट्र संघका निरीक्षकहरुलाई आफ्ना परमाणु क्षेत्रको निगरानी गर्न रोक लगाउँदै परमाणु गतिविधिलाई बढावा दिने किसिमको कानुन संसदमा पारिद गरेको छ । यस नयाँ नियम अन्तर्गत सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्धन गर्न पाउने अनुमति दिएको हो।





भुटानी शरणार्थीसम्बन्धी समस्या पूर्ण रूपमा समाधान नभई राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (युएनएचसिआर)को दमकस्थित कार्यालय एक महिनापछि बन्द हुँदै छ । युएचएचसीआरले यसअघि घोषणा गरेअनुसार सन् २०२० को डिसेम्बर अन्तिमबाट दमक कार्यालय बन्द हुने भएको हो । 



 आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।



इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएकाे छ ।

महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना महामारी थप फैलिन सक्ने आकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको हो ।  



अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । 

उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् । 


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक