यस साता नेकपा किचलोले कस्तो मोड लियो ? साताभरको सेयर बजार कस्तो रह्यो ? देशभर चिसो बढ्यो, छठ पर्वको सेरोफेरो लगायतका विषयवस्तुहरूलाई समावेश गरिएको छ । यस साता देशभर घटित सम्पूर्ण घटनाहरूको यथार्थ जानकारी छोटकरीमा यहाँ पढ्नुहोस ।
यस साता नेकपा किचलोले कस्तो मोड लियो ? मुकेश चौरासिया हत्या प्रकरणका संलग्न को-को समातिए ? सार्वजनिक यातायात सेवाको नियमन, रत्नपार्कको नाम परिवर्तन लगायतका विषयवस्तुको राजनीतिक चित्रण के हो ? हप्ताभरका सम्पूर्ण राजनीतिक एवं न्यायिक गतिविधिहरू यहाँ पढ्नुहोस।
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सहायता अन्तर्गत करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ भने करिब २४ अर्ब रुपैयाँ वित्तीय क्षेत्रको सुदृढीकरणका लागि खर्च हुनेछ ।
कोरोना कहरका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याएको छ। यसअघि नेपालले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता आईसीसीले थप एक वर्ष गरेको हो।
औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ । ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्याउने विषाक्त रसायन (मिथानोल) को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि प्रयोगमा रोक लगाइएको हो ।
साझा पार्टीले मुगुको लागि आएको चामल भक्तपुर पठाउने व्यापारीलाई कारबाहीको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।
कोरोना संक्रमितको संख्या बढेपछि हुम्लाको शैक्षिक सत्र स्थगित भएको छ ।नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो ।
कान्तिपुरकर्मी गोकर्ण गौतमको बिहीबार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । ऐतिहासिक कारोबार भएको दिन बजार परिसूचक नेप्से पनि उच्च अंकले बढेको छ ।
पछिल्लो केही महिनायता लगातार बढिरहेको नेप्सेमा दसैँयता झनै उत्साह देखिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेको छ । क्यानको बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दिएको थियो । तर, एनपीएल आयोजनाका लागि क्यानले एक भारतीय कम्पनीलाई आयोजकको जिम्मा दिने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुँदै छ। गत वर्ष ११ सय ४७ परीक्षा केन्द्र रहे पनि यसपटक भने चार हजार एक सय पाँचवटा केन्द्र रहनेछ। उत्तरपुस्तिकाहरू परीक्षा केन्द्रमा पुगिसकेको र अनलाइनबाट पठाउने प्रश्नपत्र निर्माण भइरहेको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ।
छठ पर्वको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।