छोटकरीमा : आज- २०७७ कार्तिक २८, शुक्रबार

आज प्रचण्डको राजनीतिक प्रतिवेदन– 'केपी ओली भ्रष्टाचारका संरक्षणकर्ता (पूर्णपाठ)', कांग्रेस महाधिवेशन सरेन, जो बाइडेनलाई चीनको बधाई, इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



शुक्रबार २,१११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,०६,३५३ पुगेको छ भने मृत्यु हुनेको संख्या १,२०२ पुगेको छ। हालसम्म नेपालमा १,६८,१२९ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ९,५३३ => Recovered Today: ३,५३७



प्रमुख प्रतिपक्षी दल कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशील सदस्यता वितरणको म्याद मात्रै परिवर्तन गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको हो । 



 सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्‍चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । कोभिड—१९ बाट संक्रमित सञ्‍चारकर्मीहरुको सरकारले नि:शुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिवद्धता पनि उनले जनाए ।



 नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि यसपालि दाहालले एक्लै प्रतिवेदन पेश गरेका छन् ।



 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पार्टीभित्रको सङ्कट निवारणका लागि तत्काल बैठक बोलाउनुपरेको बताएका छन् । पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको सङ्कट तथा कष्टको समाधान गर्नु आजको आवश्यकता भएकाले यी विषय बैठकमा छलफल गर्नुपर्ने सचिवालय सदस्यहरूले बताएका छन् ।



 प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दस पृष्ठ लामो प्रत्युत्तर पत्र लेखेका छन् । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई बैठक बोलाउन सहमति दिन भन्दै दुई पृष्ठ लामो पत्र बुझाएका थिए ।



डा. गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ । केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।



नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको हो ।



 बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक/एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।



स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवार बनाउन १८बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराउने भएको छ । कतिपयले मन्त्रालयको निर्देशनसमेत नमान्ने र आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो योजना बनाएको हो । 



१३औं दिक्षण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सात खेलाडी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट यस वर्ष सागका स्वर्णधारी सात खेलाडीलाई सम्मानित गरेको हो । 



म्यान्मारमा हालै सम्पन्न आमनिर्वाचनप्रति सेना समर्थित पार्टीले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।



चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो।



पूर्वराष्ट्रपति बाराक ओबामाले वरिष्ठ अमेरिकी रिपब्लिकनहरुले नै चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आधारहीन दाबीलाई समर्थन गर्नुले देशको प्रजातान्त्रिक प्रणालीलाई कमजोर तुल्याएको गुनासो गरेका छन् ।

सीबीएस न्युजसँगको अन्‍तर्वार्तामा उनले राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उमेदवार जो बाइडेनले स्पष्ट जित हासिल गरेको पनि बताएका हुन् 



काबुलकाे बम विस्फोटमा एकहप्ताअघि एक पत्रकारले ज्यान गुमाए । बिहीबार फेरि अफगानिस्तानकाे दक्षिणी हेल्मन्ड प्रान्तमा भएकाे बम विस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । 



इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । 

इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकाेप्टर दुर्घटना भएको हो ।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक