तिलिचोमा पर्यटन मन्त्री भट्टराई

लमजुङ-पर्यटन मन्त्री योगेश भट्राईले सर्वाधिक उचाइमा रहेको तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका छन् । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन गुरुङको विशेष अनुरोधमा पर्यटन मन्त्री भट्टराईले शनिबार तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका हुन् ।
मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९, अन्तर्गत समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालमा मन्त्री भट्टराई हेलिकप्टरबाट पुगेका हुन् । पर्यटन मन्त्री भट्टराई तिलिचो पुगेकै बेला तालको संरक्षण, प्रवद्र्धन र आवश्यक संरचना निर्माणका लागि मनाङको ङिस्याङ गाउँपालिकाले ज्ञापनपत्र समेत बुझाएको छ । गाउँपालिका अध्यक्ष कान्छा घलेले मन्त्री भट्टराईलाई तिलिचो ताल विकास निर्माण सम्वन्धी आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मन्त्रीसहितको टोलीले तिलिचोसँगै माथिल्लो मनाङमा रहेको गंगापूर्ण तालको समेत अवलोकन भ्रमण गरेको थियो । मन्त्री भट्टराईसँगै सांसद पोल्देन छोपाङ गुरुङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, उपाध्यक्ष मेंख्यु गुरुङ, प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलगायत सहभागी थिए ।
मन्त्री भट्टराईको अवलोकन भ्रमण पछि पछिल्लो समय अत्याधिक पर्यटकलाई आकर्षण गरेको तिलिचो तालमा पर्यटकीय संरचना निर्माण हुने जिल्ला बासीहरुले अपेक्षा गरेका छन् । संसारकै सवैभन्दा उचाइमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटरको दूरीमा पर्छ ।
खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घण्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झण्डै साढे तीन घण्टाको उकालो हिडेर तिलिचो ताल पुगिन्छ । दूरीको हिसावले नजिक भएपनि हाई अल्टिच्युट र जोखिमपूर्ण बाटोका कारण पर्यटकलाई कठिनाई हुने गरेको छ ।
वार्षिक हजारौंको संख्यामा भ्रमणका लागि आउने पर्यटकलाई तिलिचोसम्म पुग्ने बाटो, ताल वरपर आवश्यक पार्क, ठाउँठाउँमा आवश्यक विश्रामस्थल, शौचालयलगायतका संरचना निर्माण गर्नु आवश्यक रहेको सांसद गुरुङले बताए । सांसद गुरुङले दीर्घकालिन सोचका साथ आवश्यक संरचना निर्माण गर्न आवश्यक तयारी भइसकेको र पर्यटन मन्त्रीको भ्रमण पछि आवश्यक बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
पछिल्लो सयम तिलिचो तालसम्म बाह्य भन्दा आन्तरिक पर्यटकहरु बढी मात्रामा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौं पर्यटकहरु पछिल्लो समय तिलिचोसम्म पुग्ने गरेका छन् । कतिपय पर्यटकले गन्तव्य नै तिलिचो ताल बनाएर पनि आउने गरेका छन् ।
यात्रा कष्टकर भएपनि मनोरम हिमाली दृष्यसँगै निकै उचाइमा रहेको तालसम्म पुगेपछि साहसिक विजयीको रुपमा पनि पर्यटकहरुले लिने गरेका छन् । यद्यपी यो वर्ष भने कोभिड–१९ को प्रभावका कारण तिलिचो ताल सुनसान रहेको छ ।
संसारकै सबैभन्दा बढी उचाइमा रहेको सो तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको छ । कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेका पर्यटकहरु स्वर्गीय आनन्द मिलेको अनुभव सुनाउँछन् ।
तिलिचो ताल धार्मिक रुपले पनि महत्वपूर्ण मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीअनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो पुग्ने गरेका छन् ।
मुख्यतः असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ भने फागुनदेखि वैसाखसम्म दोश्रो सिजनको रुपमा लिने गरिन्छ । अहिले सिजन सकिनै लाग्दापनि दैनिक बाह्य तथा आन्तरीक पर्यटकहरु तिलिचो पुग्ने गरेका छन् ।

सम्बन्धित सामग्री

धार्मिकस्थलहरु कार्तिकदेखि खोल्ने तयारी

संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन आउँदो कार्तिक १ गतेबाट खोल्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद्मा जान लागेको बताएका छन्।

नागरिक दैनिक

आगलागी क्षेत्रको निरीक्षण गरी फर्किए मन्त्री भट्टराई

ताप्लेजुङ : गृहजिल्ला ताप्लेजुङमा गत शुक्रबार राति भएको आगलागी क्षेत्रको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले निरीक्षण गरेका छन्। आइतबार बिहान ताप्लेजुङ आएका मन्त्री भट्टराईले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले अनुगमनपछि स्थानी...

थाहा खबर

पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सपथ गराउनुभएको हो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएप...

याेगेश भट्टराई : विद्यालय कमिटीदेखि पर्यटन मन्त्रीसम्म

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुनु भएकाे छ । गएकाे प्रतिनिधसभा चुनावमा ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । गएकाे फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकाे निधन भएपछि याे मन्त्रालय प्रधानमन्त्री आ...