छोटकरीमा यस हप्ता : असोज २५ गतेदेखि कार्तिक ०१ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (असोज २५-कार्तिक ०१ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण गतिविधिहरू एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म ३,७५,७६,१६३ जनामा देखिएको कोरोना भाइरस बढेर आज (आइतबार) ३,९७,०७,०४९ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण १०,७८,८३२ जनाको मृत्यु भएकोमा आज (आइतबार) ११,१०,८१० पुगेको छ।

गत आइतबारसम्म २,८१,८१,२९५ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने त्यो संख्या बढेर आज (आइतबार) २,९७,१९,३०६ पुगेको छ।



 यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिइने भएको छ। उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै सो पुरस्कार दिइएको रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एकेडेमीले जनाएको छ।



चीनको चिङ्दाओ सहरमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको छ । आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो ।



अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 



 बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् । यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी रोगका लागि निर्माण गरिएको थियो तर यसले अन्य संक्रमणहरुबाट पनि जोगाउन सक्ने केही प्रमाणहरु भेटिएका छन् । र, यसको ट्रायलमा अहिले १ हजार भन्दा बढी मानिसहरु सहभागी हुने बताइएको छ । 



भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीहरूले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको बताएका छन् ।

केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो ।



 कोभिड-१९ संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।  सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका हुन् ।



 औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित गरेको छ । एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।



पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको र देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताउँदै उनले आँसु झारेका हुन् । उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ । 



'दोस्रो पटक' कोरोना भाइरसको संक्रमण भएकी नेदरल्यान्ड्सकी एक महिलाको मृत्यु भएको छ । नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको दोस्रो पटकको कोरोना संक्रमणबाट मृत्यु भएको डच विज्ञहरुको एउटा टोलीद्वारा प्रकाशित लेखमा उल्लेख गरिएको छ ।



चीन सरकारले किङदाओ सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई उच्च अधिकारीहरुलाई पदमुक्त गरेको छ । 

किङ्दाओ सहरमा एक अस्पतालबाट कोरोना भाइरसको संक्रमण सुरु भएपछि सहरको स्वास्थ्य आयोगमा प्रमुखलाई पदमुक्त गरिएका हुन् । 



कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतमा फेरि प्रतिबन्धहरु कडा पारिने भएका छन् । बीबीसीका अनुसार लन्डनमा दोस्रो चरणको कोरोना भाइरस प्रतिबन्धहरु जारी गरिने भएको हो ।

लन्डनका लाखौं नागरिकहरुले शुक्रबार मध्यराति देखि कडा प्रतिबन्धहरुको सामना गर्नुपर्ने एकजना सांसदले बताएका छन् । 



फ्रान्स प्रहरीले स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घरको खोजी गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामबारे अनुसन्धान गर्न प्रहरीले स्वास्थ्यमन्त्रीको घर खोजिरहेको बीबीसीले जनाएको छ । 

महामारी नियन्त्रणका सम्बन्धमा अनुसन्धान भइरहेका धेरै वर्तमान र पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन् । उक्त अनुसन्धानमा फ्रान्सका पूर्वप्रधानमन्त्री एडवार्ड फिलिप पनि रहेका छन् । 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइटहाउसको वेबसाइटमार्फत छोरा ब्यारोनलाई कोभिड– १९ संक्रमण देखिएको बताएकी हुन् । 



डब्लूएचओले कोभिड-१९ का संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रभावकारी नभएको अथवा निकै न्युन प्रभावकारी भएको जनाएको छ। रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो। यो एन्टिभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।



पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकार विरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्।आफू विरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले 'डाँकुहरूको एकता' बताएका छन्।

असोज ५ गते पाकिस्तानका पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। 



अमेरिकाका उच्च सरकारी वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूले फरक सन्दर्भमा बोलेको कुरालाई गलत सन्देश जाने गरी सम्पादन गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग भएको बताएका छन् ।

ट्रम्पको चुनावी अभियानले बनाएको ३९ सेकेण्डको विज्ञापनमा डा. फाउचीले ‘अरु कसैले यति राम्रो गरेको कल्पना गर्न सक्दिन’ भन्दै गरेको सुनिन्छ र सो कुरा कोरोना भाइरसविरुद्धको अभियानमा ट्रम्पका लागि लागु हुने गरी प्रयोग भएको छ ।



लिबियामा अपहरणमा परेका सातजना भारतीय नागरिक २७ दिनपछि अपहरणमुक्त भएका छन् । ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका उनीहरूलाई अपहरणकारीले आइतबार मुक्त गरिदिएका हुन् । 

उनीहरू लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत १४ सेप्टेम्बरमा अपहरणमा परेका थिए । उनीहरू भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक भएको उनले जानकारी दिए ।



अमेरीकी निर्वाचनमा बेलायतले अग्रपंक्तिमा रहेका ठानिएका बाइडेनलाई समर्थन गर्ने समाचार प्रकाशमा आएको छ । प्रधानमन्त्री बोरिस जोन्सन समूहले ट्रम्प पुनः निर्वाचित हुने सम्भावना न्यून भएपछि बाइडेनलाई पछ्याउन सुरु गरेको बेलायती अखबार डेली मेलले दाबी गरेको छ ।



बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन शुरु भएको थियो ।



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा ‘गैर जिम्मेवार रिपोर्टिङ’ गरेको दाबी गर्दै केही मिडिया प्रतिष्ठानविरुद्ध दिल्ली हाइ-कोर्टमा मुद्दा दायर भएको छ ।

फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार संगठन र ३४ निर्माताहरुले केही मिडिया प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरेका हुन् ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करिब दुई सातापछि चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थालेका छन् । कोराेना संक्रमण पुष्टि भएपछि उनी केही दिन अस्पताल र केही दिन राष्ट्रपतिनिवासमा रहेका थिए । सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।



जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती रिहा भएकी छिन्। करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो।



थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै बुधबार दसौं हजारले प्रदर्शन गरेका छन् । राजधानी बैंककमा भेला भएका प्रदर्शनकारीले राजाको अधिकार कटौतीको मागसमेत जोडदार रूपमा उठाएका छन् ।

 राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकाल घोषणा गरेको छ। 



अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता जारी भीषण लडाइँका कारण कम्तीमा ३५ हजार स्थानीय विस्थापित भएका छन् । गत महिना अफगान सरकार र तालिवानबीच सुरु भएको शान्ति वार्तापछि दुवै पक्षबीच पहिलो पटक भीषण लडाइँ भएको हो । दुवै पक्षबीच कतारको राजधानी दोहामा वार्ता जारी छ ।



 चीनको तिब्बत स्वशासित क्षेत्र अब अति गरिबीबाट मुक्त भएको छ । तिब्बतमा कूल ७४ वटा अति गरिबीग्रस्त जिल्लाहरू रहेकोमा अब ती स्तरोन्नति भएका बिहीबार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।



दक्षिण भारतमा परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदराबादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौजना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।  



पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । डेमोक्रेटका उमेदवार जो बाइडेनसँग चुनाव प्रचारको अन्तिम कार्यक्रममा सहभागी हुने तयारी गरिरहेका ओबामाले आफ्नै राष्ट्रपति कालको समीक्षा गर्नुका साथै पार्टीलाई अझ प्रगतिशील बनाउन केही सुझावहरु पनि दिएका हुन् । 



नरेन्द्र मोदीको शासनकालमा राष्ट्रका मुद्दाहरुमा बहस गर्ने थलोका रुपमा संसद रहेन ? अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार पछिल्ला ६ वर्षमा मोदीले संसदमा मात्र २२ पटक बोलेका छन् ।

क्रिस्टफ जाफरलु र विहांग जुमलेको संयुक्त बाइलाइनमा प्रकाशित लेखमा मोदी सरकार संसदलाई नजरअन्दाज गरिरहेको उल्लेख छ । लेखका अनुसार एचडी देवगौडा मात्र दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए, उनले पनि संसदमा मोदीभन्दा बढी पटक बोलेका थिए ।



 नेपालको सीमावर्ती भारतको राज्य बिहारमा यतिबेला चुनावी सरगर्मी निकै बढेको छ । भारतको केन्द्रीय चुनाव आयोगले सेप्टेम्बर २५ मा राज्यमा विधानसभा चुनावको घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । आयोगले बिहारको २४३ विधान सिटका लागि अक्टोबर २८, नोभेम्बर ३ र ७ का लागि मतदानको मिति तय गरिसकेको छ ।



अल्फाबेट इंक गुगलले संयुक्त राज्य अमेरिकामा मतदाताहरुलाई आफ्नो नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको हो।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक