छोटकरीमा : आज - २०७७ असोज ३०, शुक्रबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बिहीबार ४,३९२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,२६,१३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ७१५ पुगेको छ। हालसम्म नेपालमा ८८,०४० जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १६,५३१ => Recovered Today: ३,५२२

सम्बन्धित :

  • देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 
  • पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुई हजार चार सय दुईजना संक्रमित थपिएका छन्। काठमाडौंमा एक हजार सात सय ८४, ललितपुर तीन सय ७४ र भक्तपुरमा दुई सय ४४ संक्रमित थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।



कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । 

शुक्रबार ४०औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । 

उनले तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन भगवान् शिव वा ब्रह्मा आए पनि नसक्ने टिप्पणी गरे । 



सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।



 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । प्रदेश २ मा बलात्कारसहित अन्य आपराधिक घटना मौलाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरीले अपराधीको मानसिकता नै परिवर्तन गर्ने समय आएको बताए । 



गृह मन्त्रालयले दसैँको वेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरूमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरूका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रूपमा सुचारु गर्न सकिने उनले बताए । 



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवादले पार्टीलाई राम्रो नगरेको बताएका छन् । कर्णालीबाट आएका नेताहरुसँग शुक्रबार भएको भेटमा उनले यस्तो बताएका थिए ।

कर्णाली प्रदेशका नेता यामलाल कँडेलले पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीका बारेमा जानकारी गराएका थिए । उनले संघीयताको मर्मविपरीत केन्द्रको हस्तक्षेप मान्य नहुने पनि बताएका थिए ।



सरकारले गाउँमा नयाँ व्यक्ति आएका भए छिमेकीहरु मिलेर एक साता क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेको छ । पीसीआर गर्न स्वाब दिएका व्यक्तिहरुलाई परीक्षणको रिपोर्ट नआउँदासम्म घरमै बसिदिन पनि सरकारले आग्रह गरेको छ ।



सर्वोच्च अदालत कात्तिक १५ गतेसम्म बन्द हुने भएको छ । कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने सूचना जारी गरेर जानकारी गराइएका छ । दसैंका बेलामा सँधै यो अवधिमा अदालत बन्द हुने गर्दछ । 



गत चैतमा सरकारले लकडाउन गरेदेखि नै बाहिरी व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएका घान्द्रुकबासीले दसैंतिहारजस्ता चाडपर्व घरमै मात्र मनाउने निर्णय गरेका छन् । घान्द्रुक पर्यटन समितिको बिहीबारको बैठकले आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई नआउन भनेको हो ।



प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना मिलापत्र गराउने र छोपछाप पार्ने कुरा सह्य नहुने बताएका छन् । नेपाल प्रहरीको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले बलात्कारका घटनामा कुनै पनि प्रलोभनमा नपर्न पनि प्रहरीलाई आग्रह गरेका छन् । 



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको मृत्युमासमेत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पार्टीले गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’ ले कोरोना महामारीसम्बन्धी तयार पारेको प्रतिवेदन बुझ्दै उनले यस्तो आरोप लगाएका हुन् ।  



गृहमन्त्री रामबहादुर थापाले भूमिगत समूह र गठबन्धनलाई निस्तेज पार्न कहीं पनि सम्झौता नगरी अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् । ६५ औँ प्रहरी दिवसका अवसरमा गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली गर्ने र जनताको अधिकार प्रयोगबाट वञ्जित गराउने समूहलाई प्रहरीले कारबाही गर्ने विश्वास लिएका हुन् ।



पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनालले फेसबुक स्टाटस लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य बताएका हुन् । गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।



दसैं नजिकिएसँगै लगानीकर्ता बाहिरिँदा यो साता नेप्सेमा बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो साता बजार परसूचक नेप्से २७.१८ अंकले घटेर १५६२.४६ अंकमा बन्द भएको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि ३७.९७ प्रतिशते घटेको छ । 



नेपाल प्रहरीको ६५औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको बताए । ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’



जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिँदा दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बढ्दो कोरोना महामारीको सन्दर्भमा शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको हो ।



काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकले विद्यालय घेराउ गरेका छन् । 

अभिभावकले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । 



अल्फाबेट इंक गुगलले संयुक्त राज्य अमेरिकामा मतदाताहरुलाई आफ्नो नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको हो।



 नेपालको सीमावर्ती भारतको राज्य बिहारमा यतिबेला चुनावी सरगर्मी निकै बढेको छ । भारतको केन्द्रीय चुनाव आयोगले सेप्टेम्बर २५ मा राज्यमा विधानसभा चुनावको घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । आयोगले बिहारको २४३ विधान सिटका लागि अक्टोबर २८, नोभेम्बर ३ र ७ का लागि मतदानको मिति तय गरिसकेको छ ।



डब्लूएचओले कोभिड-१९ का संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रभावकारी नभएको अथवा निकै न्युन प्रभावकारी भएको जनाएको छ। रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो। यो एन्टिभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।



नरेन्द्र मोदीको शासनकालमा राष्ट्रका मुद्दाहरुमा बहस गर्ने थलोका रुपमा संसद रहेन ? अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार पछिल्ला ६ वर्षमा मोदीले संसदमा मात्र २२ पटक बोलेका छन् ।

क्रिस्टफ जाफरलु र विहांग जुमलेको संयुक्त बाइलाइनमा प्रकाशित लेखमा मोदी सरकार संसदलाई नजरअन्दाज गरिरहेको उल्लेख छ । लेखका अनुसार एचडी देवगौडा मात्र दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए, उनले पनि संसदमा मोदीभन्दा बढी पटक बोलेका थिए ।



पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । डेमोक्रेटका उमेदवार जो बाइडेनसँग चुनाव प्रचारको अन्तिम कार्यक्रममा सहभागी हुने तयारी गरिरहेका ओबामाले आफ्नै राष्ट्रपति कालको समीक्षा गर्नुका साथै पार्टीलाई अझ प्रगतिशील बनाउन केही सुझावहरु पनि दिएका हुन् । 



दक्षिण भारतमा परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदराबादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौजना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।  


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक